• ६ वैशाख २०८२, शनिबार

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै थारु महिला

blog

घोराही उपमहानगर बजारमा छिट्वामा तरकारी बोकेर बेच्न जाँदै थारु महिलाहरु । तस्विर : सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख ३ गते । दाङको घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँकी खिमा चौधरी अचेल दैनिकी फेरिएको छ । कुनै बेला उहाँको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्थ्यो तर अचेल उहाँ छिट्वामा तरकारी बोकेर साँझबिहान घोराही बजार पुग्नुहुन्छ ।

झिसमिसेमै घोराहीको फूटपाथमा भेटिएकी खिमा भन्नुहुन्छ, “तरकारी बेचेर दैनिक तीन–चार हजार कमाइ हुन्छ। राम्रो भएको दिन त पाँच–सात हजारै पुग्छ । तरकारी बेचेर दैनिक घरखर्च त चलेकै छ, छोराछोरी पढाउन पनि सहज भएको छ ।" कुनै वेला अरुको जग्गा अधियाँ खेति गर्नुहुन्थ्यो, त्यसबेला घरखर्च धान्न मुश्किल भएपछि तरकारी खेतीमा लाग्नुभयो । उहाँको अनुसार एक कट्ठाबाट तरकारी खेती गर्न सुरु गरेर अहिले  एक बिघामा तरकारी फैलाउनुभएको छ । 

“सुरु सुरुमा गाह्रो भए पनि अहिले बानी परिसक्यो,” उहाँले भन्नुभयो, “मेरो काम नै बाह्रै महीना तरकारी फलाउने र फूटपाथमा लिएर बेच्ने हो ।”

प्रायः बेमौसमी तरकारी उत्पादन खिमाले बताउनुभयो । काउली, बन्दा, भिन्डी, करेला, भान्टा, लौका, टमाटर, गोलभेंडा लगायत तरकारी उहाको बारीमा उब्जिन्छन् । त्यस्तै आलु, प्याज र लसुनको पनि राम्रो उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँकै रिता चौधरी पनि छिट्वामा तरकारी बेच्न बिहानै घोराहीका फूटपाथ पुग्नुहुन्छ । परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी भएको उहाँले सुनाउनुभयो । “दिनको दुई–तीन हजारको बिक्री हुन्छ,” रिताले भन्नुभयो, “घरखर्चसँगै छोराछोरीलाई पढाउन पुग्छ।”

त्यस्तै सुवासी चौधरीले त तरकारी बेचेरै मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले तरकारी खेतीबाट गाउँमा घर समेत बनाउनुभएको छ । “तरकारी खेतीबाट छोराछोरीलाई पढाएँ,” उहाँले भन्नुभयो, “सानो घर पनि बनाएकी छु ।” उहाँहरू जस्तै थारू समुदायका महिला घोराहीको फूटपाथमा तरकारी बिक्री गरिरहेका भेटिन्छन् । “ हामीहरु दिनभर खेतमा काम गर्छाैं, सुवासीले भन्नुभयो, "बिहान र साँझ छिट्वामा तरकारी बोकेर सहर छिर्छौं ।”

“आफैंले उत्पादन गरेको तरकारी आफैंले बेच्दा फाइदा हुन्छ,” शुक्रबार गाउँकै विनीता चौधरी भन्नुभयो, “व्यापारीलाई दिँदा सस्तोमा दिनुपर्थ्यो, आफूले बेच्दा बजार भाउ पनि राम्रो मिल्छ।” पहिले उहाँ धान, गहुँको खेती गर्नुहुन्थ्यो । तर, जुन आफूलाई खान मात्रै पुग्थ्यो। त्यसपछि तरकारी खेती गर्न थाल्नुभयो तरकारी खरीद गर्न व्यापारीहरू गाउँमै पुग्थे तर उहाँहरूले भनेको भाउमा बेच्नुपर्थ्यो। आफैंले बजार ल्याएर बेच्दा भने फाइदा भएको उहाँले सुनाउनुभयो । “अहिले त व्यापारीलाई दिँदैनौ, साँझबिहान आफैं बजार आएर बेच्छौं।”

तरकारी खेती गर्न थालेपछि उहाँहररु आफैं बेच्ने उद्देश्यले बजार ल्याउन ुहुन्छ । “छिट्वामा तरकारी बोकेर घर घर डुलाउछौ, उहाँले भन्नुभयो– पहिला सडकपेटिमा बसेर तरकारी बेच्छौ, त्यहाँ बेच्न बाँकी भयो भने, घर घरमा पुगेर बेच्छौ ।”

घोराही उपमहानगरले पनि छिट्वामा तरकारी बेच्ने किसाहरुको लागि सहज बनाइदिएको छ। फूटपाथमा तरकारी बिक्री गर्नलाई उपमहानगरपालिकाले  छूट दिएको छ। यसका लागि भने निश्चित समय पनि तोकेको छ। उपमहानगरपालिकाले वास्तविक किसानहरुको लागि बिहान ९ बजेसम्म र साँझ ५ बजेपछि फूटपाथमा तरकारी बिक्री गर्न समय छुट्याएको हो ।