• ६ वैशाख २०८२, शनिबार

कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु

blog

 विष्णुप्रसाद पोखरेल

दमक, वैशाख ३ गते। झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ।

बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माविमा हुने प्रर्दशनीमा कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय सहभागी गराउने लक्ष्य रहेको छ।

विभागका प्रमुख गणेश पोखरेलका अनुसार विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुने प्रदर्शनीमा पहिलो हुने विद्यालयलाई चार लाख पुरस्कार राशि प्रदान गरिनेछ। दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने निर्णय भएको छ।

कार्यक्रम सम्पन्न गर्नका लागि कम्तिमा ३५ लाख खर्च लाग्ने अनुमान गरिएको र केही व्यवसायीक स्टल समेत राखिने भएकाले त्यसबाट आधा खर्च उठ्ने अपेक्षा लिइएको पोखरेलले जनाउनुभयो। सहभागी विद्यालयले भने कुनै पनि शुल्क तिर्नु नपर्ने जनाइएको छ।

पत्रकार सम्मेलनमा नेकपा (एमाले)का कोशी प्रदेश इन्चार्ज शेरधन राईले राजनीतिक पार्टीले यस प्रकारको कार्यक्रम गरेको यो पहिलो हुनसक्ने बताउनुभयो। यस प्रकारका कार्यक्रमले नयाँनयाँ प्रविधिको विषयमा आम जनमानसलाई जानकारी दिने उहाँले बताउनुभयो।