• ४ वैशाख २०८२, बिहिबार

बाँकेमा तीन हजारभन्दा बढी सवारी साधनलाई कारबाही

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, कोहलपुर । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख ३ गते ।
बाँकेमा दुर्घटना न्युनीकरण र ट्राफिक सचेतनाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले दैनिक रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आए पनि ट्राफिक नियम उल्लङ्घन  गर्ने क्रम भने बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मङ्गलबार सार्वजनिक गरेको चैत महिनाको प्रगति विवरण अनुसार जिल्लामा चैत महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ७२० वटा सवारी साधनलाई कारबाही गरेर २९ लाख ५८ हजार रुपियाँ जरिवाना सङ्कलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले मासिक प्रगती विवरण सार्वजनिक गर्दै निरन्तर रूपमा दैनिकजसो जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिए पनि ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम वृद्धि हुँदै गएको बताउनुभयो ।

उहाँले फागुन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ६९४ र माघ महिनामा तीन हजार २९७ वटा सवारी साधनलाई कारबाही गरिएकोमा चैत महिनामा सो सङ्ख्या झन वृद्धि भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चैत महिनामा बाँके जिल्लामा ७१ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर सात जना नागरिकको मृत्यु हुनुका साथै १२० जना घाइते भएको प्रहरीले जनाएको छ ।

चैत महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा २६३ वटा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरेर चालक, सर्वसाधारण र विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी गराए पनि ट्राफिक नियम उल्लङ्घन नरोकिएको प्रहरीको भनाइ छ । 

सोही प्रकारले जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको चैत महिनाको प्रगति विवरणमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १३ लाख ६९ हजार ३५० रुपियाँको अवैध सामान बरामद गरेर भन्सारमा बुझाइएको, तीन लाख चार हजार ६३५ रुपियाँ बरावरको अवैध ब्रोइलर कुखुरा बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको र १५८ वटा मुद्दा दर्ता भएकोमा १९३ जनालाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिएको उल्लेख गरिएको छ ।