• १२ वैशाख २०८२, शुक्रबार

सप्तरीमा मनाइयो जुडशीतल र सिरूवामय

blog

आफुभन्दा सानालाई टाउँकोमा पानी हालेर आशिर्वाद दिँदै । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), वैशाख २ गते । सप्तरीसहित तराई मधेश मङ्गलबार जुडशीतल र सिरूवामय बनेको छ । यहाँका थारू, मैथिली तथा यहाँ बसोवास गर्ने अन्य समुदायले समेत ठुला बडासँग टाउकोमा पानी लिएर आशिर्वाद लिई जुडशीतल र मिथिला खानाको विभिन्न परिकार पकाएर अग्नी देवता चढाएर आफन्त, छिमेकी मिलेर एक साथ खाएर सिरूवा पर्व धुमधामले मनाउँदै छन् ।

हाम्रो देशको नयाँ वर्षको भोलिपल्ट मनाइने यो पर्व परापूर्व कालदेखि हर्षोल्लास र सदभावका साथ मनाइँदै आएको पाइन्छ । यस दिन परिवारका हजुरबुवा, हजुरआमा, आमाबाबु बिहानै झमक अध्यारोमै उठेर परिवारका आफुभन्दा सानासदस्यको टाउँकोमा हातले पानी हालेर आशिर्वाद दिएका छन् । परिवार सदस्यसँगै छिमेकी र आफन्तको घरमा गएर समेत टाउँकोमा पानी हालेर आर्शिवाद दिई गर्मी महिनाको शुरूवात सँगै शीतलताको महसुस गराएका छन् ।

सप्तरी राजविराज नगपालिका २ की ८० वर्षीया सर्मिलादेवी देवले भन्नुभयो,’ आजको दिन बिहानै कपालमा पानी छ्यापेर र शीतलता महशुस गराउँनु र मीठो परिकार खानुको उद्देश्य वर्षभरि कुनै समस्या उत्तार चढाव नआउन, पानी जस्तै शान्त तथा शीतल जीवनका लागि अघि सर्न सकुन मुख्य उद्देश्य हो । 

उहाँले भन्नुभयो, ‘मिथिलाको खाना विशेषगरी ज्वाई, पाहुना आउँँदा पकाइने विशेष परिकार खासगरी आजको दिन आफ्नै परिवारका लागि पकाएरसँगै खाने चलनले नयाँ वर्षको सुरूवातसँगै सधै मीठो खान पुगोस र परिवारिक स्नेह ममता थप प्रगाढका लागि सहयोग पुग्ने छ ।’ जसरी पानीले मानिसको जीवनमा शीतलता दिनुका साथै अमृतको काम गर्दै आएको छ । त्यसरी नै विक्रम सम्वत नयाँ सालको शुरूवात सँगै शान्ति,शीतलता प्रदानभई वर्षभरि मानिसको जीवनमा शीतलता जस्तै सुख र शान्ति प्राप्तिका लागि जुडशीत मनाउने गरेको मैथिली साहित्य परिषद सप्तरीका पूर्व अध्यक्ष एवं अवकाश प्राप्त शिक्षक देवेन्द्र मिश्रले बताउनुभयो ।

गर्मी मौसममा सजीवका लागि पानीको अत्यधिक महत्त्व भएकोले जुडशीतल सिरूवाको दिन मानिसको टाउकोमा मात्र नभएर बोटविरूवा, वनस्पति, बाटो लगायतमा पानी  शीतलता प्रदानका लागि यसदिन हाल्दै गरेको उहाँले बताउँँनुभयो । उहाँले भन्नुभयो, शुक्ल पक्षको सुरूवातसँगै हामीले मान्दै आएको १२ महिनाको पहिलो महिना विशाखा सूर्यमा सङ्क्रमण भएकोले शीर्ष महिना अर्थात शिरको पर्वको रूपमा मनाउँदै आएको बताउनुभयो ।

तराई मधेशमा मनाइने हरेक पर्वमा त्यस मौसममा पाइने  सागसब्जी लगायत खाद्यान्नलाई विशेष महत्त्वका साथ प्रयोग गरेर मनाइए झैँ यो पर्व वर्षको सुरूवातको पर्व भएकोले यस मौसममा पाइने सजिवन, आँपको टिकुला, लौका, फर्सी, तरूल लगायत विभिन्न प्रकारका तरकारीका विभिन्न परिकार बनाई परिवारका सदस्य, आफन्त तथा छिमेकी सँगै बसेर मिलेर खाने एक अर्कामा शुभकामना आदानप्रदान गर्ने विशेष दिनका रूपमा यसलाई लिएको उहाँको भनाइ छ । पहिले पहिले यस दिन शीतल प्रदान गर्ने पानीका लागि इनार खनेर इनारबाट पानी निकाल्न सुरू गर्ने चलन समेत रहेको थियोे।

यस पर्वमा प्रयोग हुने वनस्पतिको संरक्षण गर्न समेत यस पर्वले नयाँ पुस्तालाई सिकाउँदै आएको छ । तराई मधेशमा मनाइने सबै पर्वमा छुट्टाछुट्टै परिकार खाने चलन छ । सबैको आआफ्नै महत्त्व र विशेषता भएपनि स्वास्थ्य र वैज्ञानिक कारणसँगै जोडिएको मिश्र बताउनुहुन्छ ।