• ३ वैशाख २०८२, बुधबार

पर्यटकका आँखामा ल्होमन्थाङको कुण्ड

blog

मुस्ताङको ल्होमन्थाङस्थित तातोपानी कुण्ड ।

हरिकृष्ण शर्मा

मुस्ताङ, वैशाख २ गते । मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५ स्थित प्राकृतिक रूपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचीन मानव सभ्यताको झल्को दिने जोङ्गलो निफु गुम्बा, कोरोला नाका, ल्होमन्थाङ दरबारसहित प्राचीन बस्ती हेर्न आउने पर्यटकलाई ल्होमन्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्डले समेत ध्यान तान्ने गरेको छ ।

प्रायः बाह्रै महिना जाडो हुने उपल्लो मुस्ताङमा तातोपानीको मुहान भेटिएपछि पर्यटकहरू अवलोकनका लागि पुग्ने गरेको ल्होमन्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल केसीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत केसी भन्नुहुन्छ, “संरक्षणका लागि गाउँपालिकाको प्राथमिकतामा रहेको छ, स्थानीय नुहाउन, पर्यटक अवलोकनका लागि मात्रै जाने गर्दछन् ।”

 ल्होमन्थाङ गाउँको फेदीमा रहेको तातोपानीको मुहानलाई नियमित प्रयोगमा ल्याउनका लागि चालु आर्थिक वर्षमा रु. १० लाख ११ हजार बजेट विनियोजन गरिएको छ भने स्थानीयले समेत नुहाउने क्रममा मर्मत गर्ने गरेका छन् । समुद्री सतहदेखि तीन हजार ७२० मिटरको उचाइमा रहेको कुण्ड ल्होमन्थाङ बस्तीबाट ४० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । ल्होमन्थाङबासीले यो कुरालार्ई प्रकृतिको वरदान पाएको भन्दै संरक्षणमा समेत चासो देखाएका छन् । जमिनभित्रबाट निस्किएको तातोपानी ५० देखि ५५ डिग्री सेल्सियसको भएको अनुमान गरिएको छ । अत्यधिक तातोपानी भएकाले सिधै पोखरीमा स्नान गर्न नसकिने स्थानीय व्यवसायी कुङ्गा गुरुङको भनाइ छ । 

गाउँपालिकाले तातोपानी कुण्डको नजिकै आश्रय स्थल र स्नान गर्ने ठाउँसमेत बनाएकाले सहज भएको मुस्ताङ घुम्न जानुभएका माछापुच्छे« बैङ्क बेनी शाखाका प्रमुख मन शर्माले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रकृतिले हरेक किसिमको सुन्दरता दिएको बस्ती रहेछ, त्यहाँ पुग्दा प्राचीनकालमा प्रवेश गरेको महसुस हुन्छ ।” 

तातोपानी कुण्ड आसपासका क्षेत्रलाई थप फराकिलो बनाएर थप कुण्डसहितको संरचना बनाउन सकेमा स्नान गरेबापत आम्दानीसमेत गर्न सकिने पर्यटकको भनाइ छ । प्राकृतिक तातोपानीमा स्नान गर्दा ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।