बैतडी समाचारदाता
बैतडी, वैशाख २ गते । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुरको विज्ञ टोलीले चितुवाका लागि बैतडी हरित मरुभूमि भएको बताएका छन् । चितुवाको आहाराका लागि विविधतायुक्त मिश्रित वन क्षेत्र नभएकाले चितुवाको आहारा कमी हुँदा नरभक्षी बन्न थालेको विज्ञको भनाइ छ ।
आहारा खोज्न हिँडेको चितुवाले यही चैत २६ गते शिवनाथ गाउँपालिका–१, सोगना मटेला गाउँकी ३० वर्षीय बिन्दरा साउदलाई आव्रmमण गरेर घाइते बनाएको छ । चितुवाको आक्रमणमा परी बैतडीमा गएको १२ वर्षमा २८ जनाले ज्यान गुमाएका छन् भने ३४ जना मानिस घाइते भएका छन् । बैतडीका वन क्षेत्रमा स्वचालित क्यामरा जडान गरेर चितुवाको गतिविधि र आहाराको अवस्थाका बारेमा अनुसन्धान गर्दा आहारा नै नभएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुर कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडीमा विविधतायुक्त वन देखिएन । चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सल्लाको वन क्षेत्र मात्रै देखियो । वन क्षेत्रमा चितुवाको आहारा छैन । त्यसैले नरभक्षी बन्ने गरेको छ ।” डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार बैतडीमा कुल ८५ हजार ६८१ हेक्टर वनको क्षेत्रफलमध्ये सबैभन्दा बढी खोटे सल्लाको वन ३३ हजार ११८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । विविधता भएको मिश्रित वन जम्मा सात हजार ९७८ हेक्टर मात्रै रहेको छ । जिल्लाको ग्वाल्लेक र सिगास संरक्षित वन मात्रै विविधतायुक्त मिश्रित वन देखिएका छन् । यी क्षेत्रमा चितुवाका लागि आहारा भएकाले अहिलेसम्म मानवीय क्षति भएको छैन । शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले खोटे सल्लाका कारण वन क्षेत्र मरुभूमि जस्तो उजाड बन्न थालेको बताउनुभयो । उहाँले सल्लाको वन बढ्दै जाँदा पानीका मुहान सुक्न थालेपछि मानव जीवन नै सङ्कटमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडी चितुवाका लागि मात्रै नभई मानिसकै लागि मरुभूमि बनिसकेको छ । खोटे सल्लाले पानीका मुहान सुकाएपछि गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर महाकाली नदीबाट पानी लिफ्ट गर्ने योजना बनाएका छौँ । सल्लोले वनमाराबाहेक अरू बिरुवा उम्रिनै नदिने भयो । सल्लाका बोट लेकतिर फैलिएर बाँज, लालीगुँरास, काफल, उत्तिस जस्ता मिश्रित वनसमेत मिच्न थालेको छ । सल्लो नहटाएसम्म केही हुँदैन । नयाँ वन ऐनले सल्लो हटाउने व्यवस्था गर्नु पर्छ ।”
सल्लाको वन बढेपछि सिगास गाउँपालिका–१, पाटन नगरपालिका– १, ४, ५ ६ र १० नम्बर वडाका गाउँमा पानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुकेपछि पाटन नगरपालिका–६ को पाटन बजारमा सुर्नया नदीबाट पानी लिफ्ट गरिएको उपभोक्ता केशव खत्रीले बताउनुभयो । सल्लाको वन बढ्दै जाँदा पानीका मुहान सुकेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको सिगास गाउँपालिका–१ का पदम ऐरीले बताउनुभयो ।
मानिससँगै चितुवा
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुरले बैतडीका वन क्षेत्रमा जडान गरेका ५० वटा स्वचालित क्यामरामा चितुवा र मानिससँगै हिँडेको पाइएको छ । एकै बाटोमा चार÷पाँच मिनेटको फरकमा चितुवा र मानिससँगै हिँडेको देखिएको कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पारिस्थितिक प्रणालीमा सबै प्राणीको अस्तित्व आवश्यक हुन्छ । बैतडीमा चितुवाको बाक्लो उपस्थिति छ । मानिस र चितुवाबिच सहअस्तित्व जोगाउन विविधतायुक्त मिश्रित वन क्षेत्रको विकास जरुरी देखिएको छ ।”
सुक्लाफाँटा कार्यालयले बैतडीमा मानव र वन्यजन्तुबिच सहअस्तित्व कायम गर्ने कार्यक्रम सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा बाघ/चितुवा र अन्य वन्यजन्तु संरक्षणका लागि रणनीति तर्जुमा गरेर सिमापार संरक्षण अन्तर्वि्रmया, संरक्षित क्षेत्रको व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल सुरु भएको हो । सहअस्तित्व कार्यक्रमले चितुवा प्रभावित बैतडीको तल्लोस्वँराड क्षेत्रका दुई वटा सामुदायिक वनका समूहलाई आयआर्जन गर्न १८ लाख रुपियाँ उपलब्ध गराएको छ । सो रकम छ प्रतिशत ब्याजदरमा समुदायले वैकल्पिक जीविकोपार्जनका लागि ऋण परिचालन गरेको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो ।