• ३ वैशाख २०८२, बुधबार

नयाँ वर्षमा देवघाटमा स्नान गर्नेको भिड

blog

देवघाटधामको सङ्गम स्थलमा नयाँ वर्षको दिन स्नान गर्न आउनेको भिड । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १ गते । नयाँ वर्षको दिन देवघाटधाममा स्नान गर्न आउने भक्तजनको ठुलो भिड लागेको छ । नयाँ वर्षको पहिलो दिन स्नान गरेमा वर्षभरी सुख शान्ति समृद्धि प्राप्त हुने विश्वासका साथ यहाँ भजन आउने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद वरालले बताउनुभयो । 

सोमबार बिहानदेखि नै भक्तजनको भिड लागेपछि जाने र आउने बाटो अलग व्यवस्थापन गरिएको थियो । आदिप्रयाग भनेर परिचित देवघाटधाममा स्नान गर्न धाम जोडिएको जिल्ला बाहेक बाँके बर्दिया, रुपन्देही, वारा, पर्सा, रौतहट, विहार र उत्तर प्रदेशबाट समेत भक्तजन आएको कार्यकारी निर्देशक वरालले बताउनुभयो । 

स्नान गर्न आउने भक्तजनलाई सुरक्षाको व्यवस्था मिलाइएको थियो । त्रिशूली र कालीगण्डकी नदीको संगम त्रिवेणीमा बालबालिकादेखि वृद्धसम्म स्नान गर्न आएका थिए । अछामदेखि स्नान गर्न आउनुभएका मेनका उपाध्यायले धेरै वर्षदेखि नयाँ वर्षका दिन यहाँ नुहाउन आउने धोको थियो यो वर्ष पूरा भएको बताउनुभयो । 

यहाँ स्नान गर्दा मनमा शान्ति र मनोकामना पुरा हुने भएकाले आएको उहाँको भनाइ छ । देवघाट क्षेत्र विकास समितिका अनुसार नयाँ वर्षको पहिलो दिन ५० हजारभन्दा धेरै सहभागी भएको जानकारी दिएको छ ।