रामकृष्ण बोहरा
बागलुङ, वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनको अत्याधिक चाप बढेपछि मन्दिर व्यवस्थापन समिति दुई लाइनबाट मन्दिरमा पूजा गर्ने व्यवस्था मिलाएको छ ।
देशकै पवित्र धार्मिकस्थलका रुपमा परिचित बागलुङ कालिका मन्दिरमा बडा दसैँ, चैतेदसैँ र नयाँ वर्षमा बेला विशेष मेला नै लाग्ने गरेको छ । भक्तजनलाई व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । आन्तरिकसँगै छिमेकी देश भारतदेखि पनि भाकल पूरा गर्नका लागि भक्तजन मन्दिर आउने क्रम बढेको अध्यक्ष खड्काले बताउनुभयो ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठो खाने र साथीसङ्गीसँग भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । मनोकांक्षा पुरा हुने विश्वासमा पूजाआजाका लागि देशभरबाट भक्तजन कालिका भगवती मन्दिरमा आउने गर्छन् । चैत्राष्टमी मेला सकिएपनि बागलुङ एकता क्लबको आयोजनामा सांगीतिक कार्यक्रम चलेका कालिका मन्दिर परिसर मेलामय बनेको छ ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ । अहिलेसम्म बागलुङ कालिकाबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् ।
मन्दिरको भित्तामा १४ शक्तिका मूर्ति कुँदिएका छन् । प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ ।