• ३ वैशाख २०८२, बुधबार

बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

blog

नयाँ वर्ष २०८२ सालको पहिलो दिन बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न पुगेका भक्तजनहरुको भीड । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

बागलुङ, वैशाख १ गते । नयाँ वर्ष २०८२ सालको पहिलो दिन बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । सोमबार बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गर्ने र कालिका भगवती मन्दिरको दर्शन गर्ने भक्तजनहरुको भीड लागेको हो । 

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको कालिका भगवती मन्दिरको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ नयाँ वर्षको दिन देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । 

मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि भएपछि व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन् । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

पछिल्लो समय मन्दिरमा भारतीय भक्तजनहरुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको अध्यक्ष खड्काले बताउनुभयो । मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास छ ।

कालिका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरि नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मङ्गलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड लाग्ने अध्यक्ष खड्काले बताउनुभयो । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाई छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।