लहान समाचारदाता
लहान, वैशाख, १ गते । लहान नगरपालिका वडा नम्बर १२ र २२ मा रहेको सलहेस फूलबारीमा लाग्ने मेलाले हजारौँ पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको छ । यस दिन सलहेस मन्दिरअगाडि रहेको हारमको रुखमा फुल्ने सुनाखरीको फूल प्रेमको प्रतीकका रूपमा रहेकाले मेला भर्न नेपाल र भारतका भक्तजनको घुइँचो लाग्ने गर्छ ।
राजा पुरादित्यद्वारा १४ औँ शताब्दीमा लगाइएको विश्वास गरिएको फूलबारी नौ बिघा क्षेत्रफलमा फैलिएको छ । लहानको मुख्य चोकदेखि चार किलोमिटर पश्चिममा पर्ने यस फूलबारीमा हिमाली क्षेत्रमा पाइने वनस्पतिसमेत छन् । फूलबारीमा ४७ प्रकारका वनस्पति छन् भने बाह्रै महिना स्वस्फूर्त रूपमा पानी निस्केर दक्षिणतर्फ बग्ने गर्छ । लहान–२४ मा रहेको मानिक दह र लहान–१८ स्थित राजा कुलेश्वरको दरबार रहेको पकडिया गढ पनि सलहेस पर्यटकीय क्षेत्रमा पर्छ ।
सलहेसमा प्रेम प्रसङ्ग
फूलबारीमा दौना मालिनले सलहेससँग भेट्दा दुवैको प्रेम प्रसङ्ग चलेको थियो तर प्रेम प्रणय हुन सकेन । त्यही प्रेम वैशाख १ गते हारमको रुखमा सुनाखरीको फूल फुलेर सलहेससँग देखाएको अगाध प्रेमको निसाना भएको जनविश्वास रहेकाले सो दिन सलहेस फूलबारीमा वैवाहिक जीवनमा बाँधिएका र प्रेम प्रसङ्ग चलिरहेका जोडीहरू मेला हेर्न उल्लेखनीय सङ्ख्यामा आउने गरेका सलहेस फूलबारीका पुजारी इन्द्रसिंह दनुवारले जानकारी दिनुभयो ।
सयौँ वर्षदेखि लाग्दै आइरहेको फूलबारी मेलामा तराईका विभिन्न जिल्ला र भारत विहारको मधुवनी, दरभङ्गालगायत गङ्गा नदीछेउ हाजीपुर, पटनासम्मका भक्तजन दुई दिनअघिदेखि नै आएर फूलबारीमा बास बसी सलहेसको पूजा आराधना गर्ने चलन रहँदै आएको उहाँले बताउनुभयो ।
लहान नगरपालिका–२४, झिटकीमा रहेको मानिक दह सलहेस स्नान गर्ने दहका रूपमा रहेको धार्मिक विश्वास छ । वैशाख १ गते मानिक दहमा समेत मेला लाग्छ । यो प्राचीन दह १७ बिघा क्षेत्रफलमा फैलिएको छ । यसको सौन्दर्यीकरण गर्न दक्षिणी भागमा डिहबारको मन्दिर निर्माण, घाट निर्माण र डिल मर्मतका लागि ७० लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । पश्चिम भागमा सलहेस मन्दिर छ । दहमा स्नान गरेपछि रोगव्याधि नलाग्ने र मागेको भाकल पूरा हुने जनविश्वास छ ।
लहान नगरपालिका–१८ मा रहेको सलहेस पर्यटकीय क्षेत्र पकडियागढमा वैशाख २ गते मेला लाग्ने गर्छ । बुढापाकाको भनाइ अनुसार पकडियागढ राजा कुलेश्वरको दरबार थियो । राजाकी छोरी चन्द्रावती यो फूलबारीमा डुल्ने गरेको बताइन्छ ।