• ६ वैशाख २०८२, शनिबार

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या घट्दै

blog

मकवानपुर समाचारदाता

मकवानपुर, चैत ३१ गते । मकवानपुरको विकट बस्तीमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे पनि मकवानपुरको कैलाश गाउँपालिकामा स्वास्थ्य संस्थामा भन्दा घरमै सुत्केरी गराउनेको सङ्ख्या बढेको पाइएको हो । 

पछिल्लो समय घरमै सुत्केरी गराउनेको सङ्ख्या बढ्दो छ । जिल्लाभरमा घरमा नै सुत्केरी गराउनेको सङ्ख्या १०४ जना रहेकोमा कैलाश गाउँपालिकामा मात्रै घरमै सुत्केरी हुनेको सङ्ख्या ४४ जना रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । उहाँले १२ हप्तामा हुने गर्भजाँचमा पालिकामा चालु आर्थिक वर्षको गत फागुनसम्ममा ६०.८६ प्रतिशत र गत आर्थिक वर्षमा ९९.२२ प्रतिशत रहेको छ । 

“कैलाश गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउने सङ्ख्या घट्दै गएको छ,” कार्यालय प्रमुख मिजारले भन्नुभयो, 

“कैलाशमा गत चालु आवको फागुनसम्ममा ४२.७४ प्रतिशत र गत आवमा ४९.९ प्रतिशत रहेको थियो ।” 

पालिकामा आयोजित सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यव्रmममा उहाँले स्वास्थ्य संस्थामा आउने सङ्ख्या घटेको बताउनुभयो । गर्भजाँच गत आवमा भन्दा घटेर चालु आवको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत रहेको छ । गाउँपालिकामा सुत्केरीपश्चात्को जाँच ४७.८७ प्रतिशत रहेको छ, यसलाई  बढाउन स्वास्थ्यकर्मीलाई उहाँले आग्रहसमेत गर्नुभयो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सुत्केरी र पोषणलगायत कार्यक्रमलाई पालिकाले निरन्तरता दिइरहेको बताउनुभयो । भौगोलिक विकटता र शिक्षाको कमीले पनि घरमै सुत्केरी हुनेको सङ्ख्या बढेको सुनाउनुभयो । 

“घरमा सुत्केरी गराउने प्रवृत्तिमा कमी ल्याउन गाउँपालिकाले आवश्यक समन्वय गरी काम गर्ने छ,” अध्यक्ष मुक्तानले भन्नुभयो, “हामीले दिगो विकास लक्ष्य २०३० अनुरूप काम गर्नु पर्छ, त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य र शिक्षाका सूचक पूरा गर्दै आइरहेको छ ।”