राधाकृष्ण डुम्रे
स्याङ्जा, चैत ३० गते । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बिउ पाठी र बोका वितरण गरिएको छ । स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका वितरण गरिएको हो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफरको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तरगत बिउका रूपमा पाठा पाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाध्यक्ष पदमराज गुरुङले महिलाहरूलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै देशमा आर्थिक समृद्धि आउने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको उहाँले बताउनु भयो
बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन पाठी सँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषक आफै पनि सचेत हुनु पर्नेमा उहाँको जोड छ ।
साहारा बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका २१ जना सदस्यहरूलाई पाठा पाठी वितरण गरिएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । समूहका अधिकांश सदस्यहरू दलित महिला रहेको समूहकी अध्यक्ष सुधा विकले बताउनु भयो ।
वालिङ नगरपालिकाले साझेदार संस्थासँग मिलेर वडा नं.१ देखि ७ सम्मका महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिलो चरणमा सात वडामा गरिएको क्रियाकलाप प्रभावकारी भएको छ, अव थप १४ वटै वडामा सञ्चालन गर्ने योजना छ ।”
कार्यक्रम मार्फत एक हजार ६ सय महिलालाई आबद्ध गराउने योजना रहेको पालिकाले जनाएको छ ।