चितवन समाचारदाता
चितवन, चैत २९ गते । घडियाल गोहीका बच्चा उत्पादन गर्न चितवन राष्ट्रिय निकुञ्जले खोलामा गोहीका अन्डा सङ्कलनको पूर्वतयारी गरेको छ । निकुञ्जको राप्ती नदी किनारमा घडियाल गोहीले अन्डा पार्नका लागि गुँड तयार गर्दछ । निकुञ्जको टोलीले गोहीको गुँड खोजी कार्य गरेर अन्डा पारेपछि प्रजनन केन्द्रमा ल्याउने गरेको हो ।
अन्डा सङ्कलनको पूर्वतयारीका लागि गुँड खोजी कार्य सुरु गरेको हो । निकुञ्जको टोलीले चैत १ गतेदेखि गुँड पहिचान गर्दै गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । अहिलेसम्म दुई दर्जनभन्दा बढी गुँड पहिचान गरिसकेको छ । खोजी कार्य वैशाख १० गतेसम्म रहने छ ।
स्थानीय बोटे समुदायका व्यक्तिले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन् । गुँड पहिचानपछि त्यसको रेखदेख र सुरक्षा पनि सोही टोलीले गर्ने छ । वैशाख १५ गतेपछि गुँडमा पारेको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याउने सूचना अधिकारी थापामगरले जानकारी दिनुभयो । यसरी ल्याइएका अन्डा प्रजनन केन्द्रका गोहीलाई कोरल्न दिने गरिन्छ ।
गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अन्डा निकालिएको थियो । २४७ वटा अन्डा सङ्कलन गरी कोरलिएको उहाँले बताउनुभयो । अहिलेसम्म ५४ वटा गुँड फेला परेको थापामगरले जानकारी दिनुभयो ।
प्रजनन केन्द्रमा कोरलेर हुर्काएका गोहीका बच्चा नदीमा छाडिँदै आएका छन् । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिन्छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । कोरल्ने बेला गोहीको पन्जाले अन्डा फुटाउने गर्दछ । यसरी अन्डा फुटाउँदा ९० प्रतिशत अन्डाभित्रका बच्चा मर्ने सम्भावना रहन्छ । प्राकृतिक रूपमा नदीमा गोहीले अन्डाबाट बच्चा कोरल्ने व्रmममा धेरै मर्ने गर्छन् भने थोरै मात्र बाँच्ने गरेको निकुञ्जका सूचना अधिकारी थापामगरले बताउनुभयो ।
नदीबाट अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइएका अन्डाबाट भने ९० प्रतिशत बच्चा बाँच्ने गरेको उहाँले जानकारी दिनुभयो । “प्रजनन केन्द्रमा ल्याएका अन्डा कृत्रिम तरिकाले कोरल्ने गरिन्छ । त्यसैले यहाँ धेरै बाच्ने गर्छन्,” उहाँले भन्नुभयो । प्रजनन केन्द्रमा पारेका र सङ्कलन गरेर ल्याएका सबै अन्डाबाट बच्चा निकाल्ने गरिएको छ ।