• ५ वैशाख २०८२, शुक्रबार

टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत २९ गते । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पस र कृषि विज्ञान सङ्काय स्कुल अफ एग्रिकल्चरको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ ।

चैत २७ गते भएको निर्वाचनको २८ गते साँझ सार्वजनिक मत परिणाम अनुसार नेवि सङ्घका अध्यक्षका उम्मेदवार किरण साउँद ६५२ मत पाइ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार देवा शिषजंग थापाले ४२ मत पाउनु भएको छ । निर्वाचनमा कूल एक हजार २५४ मत खसेको थियो ।

यसै गरी सचिवमा नेवि सङ्घकै उम्मेदवार छविलाल चौधरी ६१९ मत, कोषाध्यक्षमा डिम्पल चौधरी ६६६ मत पाइ विजयी हुनु भएको निर्वाचन अधिकृत आत्माराम अधिकारीले जानकारी दिनुभएको छ । सदस्यमा नेवि संघकै समीक्षा शाही, कुशल जैसी, शिशिर तिरुवा, आस्मा चौधरी, इशान लम्साल, मनोज धामी, अनुषा कुमारी चौधरी, शिशिर रावल विजयी हुनु भएको छ ।

समानुपातिक तर्फ नेवि सङ्घले ६८२ मत, अनेरास्ववियुले ३१३ मत, नागरिक विद्यार्थी समाजले १२७ मत र अखिल क्रान्तिकारीले ११४ मत पाएको छ । निर्वाचनमा नेवि सङ्घ एक्लै र अनेरास्ववियु, अखिल क्रान्तिकारी, नागरिक विद्यार्थी समाज, अखिल समाजवादी संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । यस अघिको निर्वाचनमा पनि नेवि सङ्घ नै विजयी भएको थियो ।