नेपालको कुल गार्हस्थ उत्पादनमा झन्डै एक तिहाइ योगदान पुर्याउँदै आएको कृषि क्षेत्र हाल ओरालो लागेर एक चौथाइमा सीमित भएको छ । केही वर्षयता यहाँका कृषि उत्पादन घट्दो क्रममा रहेकाले विभिन्न किसिमका कृषि उपज आवश्यकता अनुसार अन्य देशबाट निरन्तर रूपले आयात गर्न थालिएको छ । जसमध्ये फलफूल पनि एक हो । सरकारका कमजोरी एवं अन्य कारणले गर्दा नेपालमा फलफूल खेती फस्टाउन सकेको छैन । त्यसैले यहाँ प्रत्येक वर्ष भारत र चीनलगायत अन्य देशबाट पनि विभिन्न किसिमका फलफूल प्रचुर मात्रामा आयात गरिन्छ । कम उत्पादन भएकै कारण यहाँ फलफूल आयातका लागि मात्र प्रत्येक वर्ष अन्दाजी २० अर्ब रुपियाँ खर्च गर्नु परेको छ ।
वस्तुतः आजसम्म पनि नेपाल कुनै पनि किसिमको फलफूलका लागि आत्मनिर्भर बन्न सकेको छैन । तसर्थ यहाँ विभिन्न किसिमका फलफूलको आयात दिनप्रतिदिन बढिरहेको छ । यहाँ प्रत्येक वर्ष आयात गरिने फलफूलमध्ये केरा, स्याउ, मौसम र सुन्तला प्रमुख छन्, जसको आयात निरन्तर रूपले बढिरहेको छ । यहाँ केरा खेती धेरै जसो जिल्लामा गरिए पनि स्वदेशी केराले यहाँको कुल मागको ३० प्रतिशत मात्र परिपूर्ति हुन्छ । बाँकी ७० प्रतिशत केराको माग परिपूर्तिका लागि खास गरी छिमेकी राष्ट्र भारतको निर्भर हुनु परेको छ । यहाँका हिमाली जिल्लामा स्याउको उत्पादन प्रशस्त हुन्छ तर ढुवानीको कठिनाइले गर्दा यहाँको स्वदेशी स्याउबाट सम्पूर्ण मागको केवल १० प्रतिशत मात्र परिपूर्ति हुन्छ । बाँकी ७० प्रतिशत चीनबाट र २० प्रतिशत भारतबाट परिपूर्ति हुन्छ ।
यहाँका मौसमको मागका सन्दर्भमा १५ प्रतिशत स्वदेशबाट परिपूर्ति हुन्छ भने ७० प्रतिशत भारतबाट र बाँकी १५ प्रतिशत अन्य देशबाट परिपूर्ति हुन्छ । यसै गरी स्वदेशी सुन्तलाबाट यहाँको ५० प्रतिशत माग पूर्ति हुन्छ भने बाँकी ५० प्रतिशत भारतबाट आयात गरिन्छ । केही वर्षयता सुन्तला खेती प्रवर्धन गर्न निकै प्रयास भए पनि आयात घट्न सकेको छैन । दसैँ र तिहारमा नेपालमा फलफूलको खपत झन्डै तीन गुणा बढ्ने कुरा एक आधिकारिक तथ्याङ्कले पुष्टि गरेको छ । उक्त चाडपर्वमा यहाँ फलफूलको खपत अरू बेलाको भन्दा तीन गुणाले वृद्धि हुन्छ भने आयात पनि तीन गुणाले बढ्छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसाय महासङ्घका अनुसार यहाँ अन्य दिनमा दैनिक अन्दाजी चारदेखि पाँच करोड मूल्य बराबरको फलफूल आयात गरिन्छ भने दसैँ र तिहारमा चीन र भारतबाट मात्र दैनिक नौ करोड मूल्य बराबरको विभिन्न फलफूल आयात गरिन्छ । उक्त समयमा उपभोक्ताको माग परिपूर्ति गर्न कठिन हुने कुरा उक्त महासङ्घले जनाएको छ । नेपाललाई १० मुख्य फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७३/७४ मा सञ्चालन गरिएको फलफूल आत्मनिर्भर दशक कार्यक्रम आफ्नो लक्ष्य प्राप्तिमा सफल देखिँदैन । किनभने उक्त कार्यक्रम सञ्चालन गरिएको सात वर्ष बितिसक्दा पनि नेपाल केही फलफूलमा आत्मनिर्भर हुनु त परै जाओस् झन् परनिर्भर भएको कुरा सर्वविदित छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आव २०७६/७७ यता विभिन्न किसिमका फलफूलको आयात तीव्र रूपले बढेको देखिन्छ । जसलाई यहाँ प्राप्त तथ्याङ्कले पुष्टि गर्छ । आव २०७३/७४ मा यहाँ एक लाख ९७ हजार ४५१ मेट्रिक टन फलफूल आयात गरिएको थियो । आव २०७४/७५ मा यहाँ चार लाख १८ हजार मेट्रिक टन, आव २०७५/७६ मा तीन लाख ८३ हजार ३५० मेट्रिक टन र आव २०७६/७७ मा दुई लाख ८० हजार ४७१ मेट्रिक टन फलफूल भित्रिएको थियो । यसै गरी २०७७/७८ मा दुई लाख ९९ हजार ४६९ मेट्रिक टन फलफूल भित्रिँदा आव २०७८/७९ मा तीन लाख ३१ हजार ६१० मेट्रिक टन फलफूल यहाँ आयात गरिएको थियो । वास्तवमा यहाँ फलफूल उत्पादन वृद्धि गर्ने नीति अपनाइए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेकाले आशा गरे अनुरूप सफलता प्राप्त गर्न सकिएन । फलस्वरूप यहाँ फलफूलको आयात तीव्र रूपले बढिरहेको छ ।
नेपाल सरकारले स्वदेशमै फलफूल उत्पादन गरी आत्मनिर्भर हुन यहाँका विभिन्न ठाउँमा हावापानीका आधारमा जोन, सुपरजोन र पकेट क्षेत्र बनाएको छ तर हालसम्म पनि यहाँ माग अनुरूप फलफूलको उत्पादन बढाउन सकिएको छैन । बरु यहाँ प्रत्येक वर्ष झन्डै १० प्रतिशत फलफूलको आयात बढ्नाले व्यापार घाटा बढाउन सघाउ पुगेको छ । जसले गर्दा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । केही वर्षयता नेपालको निर्यात व्यापार सन्तोषजनक किसिमबाट बढ्न सकेको छैन भने आयात तीव्र रूपले बढिरहेको छ । परिणामतः यहाँको व्यापार घाटा बढेर अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । यथार्थतः नेपाल विश्व व्यापार सङ्गठनको सदस्य, सार्कको साफ्टा र बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनमा संलग्न भए पनि यसले निर्यात व्यापारको उपयुक्त पहुँच पहिल्याउन आजसम्म पनि सकेको छैन । विश्वमा यसले केही देशसँग द्विपक्षीय व्यापार सम्झौता गरे पनि यहाँको निर्यातमा हालसम्म पनि आशा गरे अनुरूप सफलता हासिल गर्न भने सकिएको छैन । यहाँको निर्यात अभिवृद्धि गर्न तत्कालीन सरकारले २८ निर्यातयोग्य वस्तु पहिचान गरेको थियो तर यसलाई व्यवहारमा लागु गर्न नसक्दा यहाँको निर्यातमा हालसम्म पनि सुधार गर्न सकिएको छैन । वस्तुतः यहाँका उपयुक्त ठाउँमा फलफूल खेती विस्तार गर्न सके भविष्यमा फलफूलका लागि मात्र आत्मनिर्भर नभई निर्यात प्रवर्धनमा पनि सघाउ पुग्ने छ तर यसका लागि सरकार, गैरसरकारी र सरोकारवालाको सक्रिय सहयोगको आवश्यकता छ ।
नेपाल व्यापार एकीकरण रणनीतिमा यहाँका निर्यातयोग्य वस्तुको सूचीमा धेरै जसो कृषिजन्य नै छन् तर सरकारले यी वस्तुको उत्पादनका लागि यथोचित ध्यान नदिनाले यहाँ माग अनुरूप फलफूलको उत्पादन बढ्न सकेको छैन । केही वर्षयता यहाँ फलफूललगायत सबै जसो कृषिजन्य वस्तुको आयात बढ्न थालेपछि सरकारले यहाँ विद्यमान कृषि प्रणालीलाई आधुनिकीकरण एवं व्यवसायीकरण गरी आगामी पाँच वर्षभित्र अधिकतम कृषि उत्पादन बढाउने योजना बनाएको छ तर यसलाई व्यवहारमा उतार्न सरकार, गैरसरकार र सरोकारवाला कटिबद्ध हुनु परेको छ । फलफूल खेतीलाई लाभदायक बनाउन विभिन्न किसिमका उन्नत जातका बोटबिरुवा उपयुक्त दुरीमा रोप्नु पर्छ । यिनीहरूलाई हुर्काउन सुरुदेखि नै नियमित सिँचाइ गर्नुपर्ने भएकाले एकातर्फ जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक छ भने अर्कोतर्फ हुर्केपछि काँटछाँट गर्ने काम उपयुक्त समयमा गर्न उत्तिकै जरुरी छ । फलफूल खेतीबाट अधिकतम फाइदा लिन माटो मलिलो एवं उर्वर हुनु पर्छ । योबाहेक एकीकृत पोषणको व्यवस्था गर्नु पर्छ । यसका लागि माटोको परीक्षण गरेर फलफूलका बोटबिरुवालाई आवश्यक तत्व मलका रूपमा प्रयोग गर्नु पर्छ । वस्तुतः व्यावसायिक फलफूल खेती गर्न सके प्रशस्त आयआर्जन गर्न सकिन्छ । तसर्थ इच्छुक किसानलाई व्यावसायिक फलफूल खेती गर्ने तरिका, आवश्यक मात्रामा मल तथा कीटनाशक औषधी प्रयोग गर्ने तौरतरिका, भण्डारण गर्ने तरिका आदिका बारेमा आवश्यकता अनुसार तालिम प्रदान गर्नु पर्छ ।
धेरै जसो फलफूल टिपेको थोरै दिनमै कुहिन थाल्छन् । यस्तो नोक्सान हुन नदिन उपयुक्त ठाउँमा चिस्यान केन्द्र स्थापना गर्न उचित हुन्छ । यसो गर्न सकेमा किसानले आफ्नो अनुकूल समयमा विभिन्न किसिमका फलफूल बेचेर मनग्गे आम्दानी गर्न सक्छन् । फलफूल उत्पादन गरेर मात्र आयआर्जन गर्न सकिँदैन । यसका लागि किसान तथा सरोकारवालाले उपयुक्त किसिमबाट बजार व्यवस्थापन गर्न सक्नु पर्छ ।