गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । सार्वजनिक पदधारण गरी अनुचित व्यक्तिगत लाभका लागि पद तथा अधिकारको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने व्यक्तिको सम्पत्ति जफत गर्ने कार्य सुरु गरिएको छ ।
यसै क्रममा बिहीबार सरकारले सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुर कटुन्जेमा रहेका विभिन्न १७ वटा कित्ताबाट ६५ आना ३ दाम जग्गा जफत गरेको छ ।
सडक विभागको महानिर्देशक रहँदा खनालले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले विसं २०६९ भदौ १२ गते खनाललाई दोषी ठहर गरी एक वर्ष तीन महिना कैद तथा एक करोड २१ लाख ५२ हजार ४४ रुपियाँ जरिबाना र स्रोत नखुलेको खनालको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।
गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार खनाल र परिवारका नाममा रहेको सो जग्गा जफत गरिएको हो ।
विभिन्न सडक परियोजना प्रमुखसमेत रहेका खनाल विसं २०५६ कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म सडक विभागको महानिर्देशकको जिम्मेवारीमा रहनुभएको थियो ।
उक्त समयमा अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनालको घरमा छापा मारी कागजपत्र जफत गरेको थियो । तीन करोड ९७ लाख ४० हजार सात रुपियाँ बराबरको सम्पत्ति जफतको माग गरी अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा विसं २०६२ जेठ २० गते खनाललाई दोषी ठहर गरी एक वर्ष कैद र एक करोड २० लाख २३ हजार जरिबाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको गर्ने फैसला गरेको थियो । सर्वोच्चले विशेषको पनि फैसलालाई सदर गर्दै खनाललाई दोषी ठहर गरेको थियो ।
यसै गरी सरकारले खनालको विभिन्न बैङ्कको सेयर र विभिन्न बैङ्क तथा फाइनान्सका खातामा रहेको रकम तथा श्रीमती पद्मा खनाल तथा छोराहरू अभिषेक खनाल र आभास खनालको सेयर र रकम पनि जफत गरेको छ ।
त्यसै गरी सरकारले पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको ललितपुर स्थित भैँसेपाटीमा रहेको जग्गा जफत गर्र्ने गरी प्रक्रिया अघि बढाएको छ । तत्कालीन गृहमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । उक्त फैसलामा खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गर्ने फैसला भए अनुसार गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला अनुरूप जग्गा जफत गर्ने तयारी गरेको हो ।
खड्काकी श्रीमती शीला शर्मा खड्काको नाममा रहेको ललितपुर–२ को कित्ता नम्बर १०७ को एक रोपनी छ आना र कित्ता नम्बर १८३ को एक आना एक पैसा जग्गा जफत गर्न लागिएको विभाग स्रोतले जनाएको छ । सर्वोच्चको फैसलामा ती दुई क्रित्ता जग्गाबाट २० लाख ५६ हजार ९८७ रुपियाँ दुई पैसा बराबरको जफत गर्ने आदेश भएको थियो । खड्काका परिवारले फैसलाबमोजिम उक्त रकम दाखिला गरेको थियो ।
विभागका अनुसार कित्ता नम्बर २४९ को एक रोपनी छ आना एक पैसा एक दाम जग्गा जफतको प्रक्रिया अघि बढाइएको हो । गृह मन्त्रालयले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा १७ संशोधन गरी पछि भ्रष्टाचारजन्य तथा आतङ्कवादी गतिविधिमार्फत आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाइएको हो ।