चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँस फुल्ने मौसम भएसँगै पाथीभरा क्षेत्रमा ढकमक्क गुराँस फुलेको हो ।
हिजोआज विभिन्न प्रजातिका लालीगुराँस फुलेर पाथीभरा क्षेत्रको वन राताम्ये भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाको सङ्गम स्थलमा पर्ने तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा चैत पहिलो सातादेखि लालीगुराँस फुल्न थालेको हो ।
पाथीभरा पदमार्गअन्तर्गत पर्ने बलुडाँडा, गुराँसे र फेदी क्षेत्रमा हिजोआज ढकमक्क गुराँस फुलेर यहाँको दृश्य मनमोहक बनेको छ । अहिले पाथीभरा दर्शन गर्ने सिजन (मौसम) भएकाले उल्लेख्य रूपमा पाथीभरा दर्शनका लागि आउने भक्तजनहरू ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा रमाउने गरेका छन् ।
ढकमक्क गुराँसको मनमोहक दृश्यमा रमाउन पाइने हुँदा हिजोआज पाथीभरा दर्शनका लागि भक्तजन तथा धार्मिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको स्थानीयले बताएका छन् । वन जङ्गलमा गुराँस फुलेसँगै यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने स्थानीय अपेक्षा गरेका छन् । फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतले पाथीभराको दर्शनसँगै गुराँस फूलको आकर्षणले धार्मिक पर्यटकको उपस्थिति बाक्लिँदा व्यवसाय पनि राम्रै फस्टाउने बताउनुभयो ।
महतका अनुसार पाथीभरा दर्शनमा आएका भक्तजन तथा पर्यटकहरू मनमोहक गुराँसमा झुम्मिने गरेका छन् । पर्यटकहरूले ढकमक्क गुराँसमा तस्बिर खिच्ने, भिडियो खिच्न र विभिन्न सामाजिक सञ्जालमा पोस्ट गर्ने (लगाउने) गरेका उहाँको भनाइ । हिजोआज ढकमक्क फुलेको गुराँस वैशाख दोस्रो सातासम्म रहने स्थानीय बताउछन् ।
यता नेपालमा पाइने ३२ प्रजातिमध्ये पाथीभरा क्षेत्रमा २६ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ । यस क्षेत्रमा लालीगुराँससँगै सेतो, पहेँलोजस्त विभिन्न रङको गुराँस रहेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार रातो चिमाल, चियाफुले, निलो चिमाल, जुँगे चिमाल, लहरे चिमाललगायत प्रजातिका गुराँस पाइने गरिएको छ । उक्त धेरै प्रजातिमध्ये अधिकांश गुराँस विषालु हुने भएकाले नटिप्न र नछुन पनि हाङ्बाङले सबैलाई आग्रह गर्नुभएको छ ।