• २८ वैशाख २०८२, आइतबार

प्रतिगमन असफल

blog

राजतन्त्र पुनर्स्थापना गर्न चाहने दल तथा समूहद्वारा आह्वान गरिएको चैत १५ को आन्दोलन अन्ततः असफल हुन पुगेको छ । राजावादीबिच नै मनोमालिन्यको स्थितिमा राजतन्त्र पुनस्र्थापनाका लागि जनआन्दोलन समितिले सुरु गरेको आन्दोलन विफल हुनमा विभिन्न कारण रहेका छन्, जुन यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने छ । विभिन्न खेमामा विभाजित राजावादी समूहबिच कसले नेतृत्व गर्ने भन्ने विवादबिच नै आन्दोलन सुरु भएको थियो । जसका कारण सबै समूह आफ्नो सम्पूर्ण शक्तिका साथ आउन सकेनन् ।

पहिले पूर्वराष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदीलाई कमान्डर तोकिएकोमा नै राप्रपा असन्तुष्ट थियो भने अन्य केही नेता पनि उहाँको समितिमा बस्न आनाकानी गरिरहेका थिए । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि उहाँको नेतृत्वमा बस्न इन्कार गरी पार्टीले आफ्नैतर्फबाट आन्दोलन गर्ने बताइरहेको थियो । यसैबिच समितिले आह्वान गरेको चैत १५ को कार्यक्रमको पूर्वसन्ध्यामा दुर्गा प्रसार्इंलाई जनकमान्डर तोकियो । हुन सक्छ सुवेदीको उमेरका कारण पनि यो निर्णय गरियो । सो आन्दोलनमा अरू राजावादी दल तथा समूहले अप्रत्यक्ष सहयोग गर्ने मात्र स्थिति बन्यो । 

गणतन्त्र स्थापनापछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा लिएर निर्वाचनमा भाग लिँदै आएको र राजनीतिक अभियान चलाइरहेको राप्रपालाई बेवास्ता गरी पूर्वपञ्चलाई कमान्डर तोकिएको र पछि पनि दुर्गा प्रसाईं जस्ता राजनीतिक आस्थाको ठेगान नभएका विवादास्पद व्यक्तिलाई जनकमान्डर तोकिएकोमा राप्रपा र यसका नेता असन्तुष्ट हुनुहुन्थ्यो । त्यसैले उहाँहरू खुलेर यो कार्यक्रममा सहभागी हुन सक्नुभएन । त्यसमाथि उहाँहरूमा व्यक्तित्वको टक्कर वा दुर्गा प्रसाईंले आन्दोलनको जस लिने वा राजानजिक हुने डर पनि थियो तर पनि राप्रपाका नेता धवलशमशेर राणा र रवीन्द्र मिश्र भने जसले गरे पनि राजतन्त्र पुनस्र्थापनाको आन्दोलन भएकाले साथ दिनुपर्ने पक्षमा हुनुहुन्थ्यो । फलतः राप्रपा प्रत्यक्ष रूपमा संलग्न नभए पनि सो आन्दोलनमा राप्रपाका नेता कार्यकर्ता नै संलग्न थिए ।

दुर्गा प्रसाईंले लघुवित्त पीडित जनता तथा अन्य असन्तुष्ट पक्षको केही साथ पाए पनि उहाँको राजनीतिक आस्थाको भर नभएकाले राजावादीले नै उहाँलाई पूर्ण रूपमा सहयोग गर्न सक्ने स्थिति नभएको हो । पहिले माओवादी कार्यकर्ता रहेका उहाँ मेडिकल व्यवसायी भएका र पछि नेकपा (एमाले) प्रवेश गरी एमालेको केन्द्रीय सदस्यसम्म बनी प्रधानमन्त्री केपी ओलीको निकै नजिक भए पनि विसं २०७९ मा भएको पछिल्लो आमचुनावमा झापामा राजेन्द्र लिङ्देनको क्षेत्रमा टिकट नपाएपछि नेकपा (एमाले) तथा अध्यक्ष ओलीकै प्रखर विरोधी हुन पुग्नुभयो । तत्पश्चात् पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा लगेर स्वागत अभिनन्दन गर्दै राजालाई पुनस्र्थापना गर्ने एजेन्डा बोक्न पुग्नु भयो । पछि लघुवित्तपीडितको आन्दोलनलाई साथ दिनुभएका उहाँले काठमाडौँमा सुरु गरेको आन्दोलन पनि सोचे जस्तो सफल नभएपछि गणतन्त्रको विरोध गर्दै अन्य राजावादी समूहलाई पनि समेटी राजतन्त्र पुनस्र्थापनाको अभियानमा लाग्नुभयो । 

मेडिकल व्यवसायीका रूपमा प्रसाईं सफल व्यवसायी भए पनि मेडिकल कलेजले सम्बन्धन पाउन नसक्दा उहाँ व्यवस्थाकै विरोधमा उत्रन पुग्नुभएको थियो । यसैले उहाँमा वैचारिक स्थिरता त थिएन नै गणतन्त्रका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ आदिको प्रखर विरोधी बन्नुका साथै तथानाम गाली तथा अनर्गल प्रलापमा उत्रिनुभएकाले धेरैको विश्वास गुमाउनुभयो । उहाँका बोली, वचन र व्यवहारले बेलाबखत पक्राउ पर्ने, फेरि माफी माग्दै छुट्दै गर्नुभएकाले विश्वसनीयता गुमाउनुभयो । कार्यक्रमको दिन चैत १५ मा पनि उहाँले परिपक्वता देखाउन सक्नु भएन भने उत्ताउलोपन र आलोकाँचोपन नै बढी देखियो । शान्तिपूर्ण भनिएको कार्यक्रममा निषेधित क्षेत्र तोड्ने, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने तथा आगो लगाउने काम भए । यसरी आन्दोलन हिंसात्मक बन्न पुग्दा एक जना निर्दोष पत्रकारले जलेर ज्यान गुमाउनु प¥यो भने एक व्यक्तिको गोली लागेर मृत्यु भयो । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रमा आगो लगाउँदा करोडौँ मूल्य पर्ने जडीबुटी र औषधी जल्नुका साथै केन्द्र ध्वस्त हुन पुग्यो भने कैयौं गाडी जलाइए । यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा भएको ढुङ्गा प्रहार तथा लुटपाटका घटनाले पनि उहाँको कार्यक्रम बदनाम हुन पुग्यो । यस्ता विभिन्न ध्वंसात्मक गतिविधि तथा धनजनको क्षतिका कारण उहाँ आफैँ भाग्न बाध्य हुनुभयो भने कोटेश्वर, तीनकुने क्षेत्रमा कफ्र्यु नै लगाउनुपर्ने अवस्थाको सिर्जना भयो । 

   यस कार्यक्रमबाट दुर्गा प्रसाईंलगायतका हिमायतीले बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि आन्दोलन हल्लाको भरमा, बिनातयारी तथा बिनाजनसमर्थन हुन सक्दैन । सामाजिक सञ्जालमा व्याप्त विरोधबाट फाइदा लिन्छु भनेर मात्र व्यवस्था परिवर्तन जस्तो कुरा सम्भव छैन । यसका लागि निकै ठुलो मेहनत, धैर्य र सुझबुझको आवश्यकता हुन्छ । विदेशको देखासिकी गरेर बङ्गलादेश बनाउँछु, श्रीलङ्का बनाउँछु भनेर मात्र आन्दोलन सफल हुने होइन । यसका लागि जे जस्तो माग पूरा गराउन खोजिएको हो सोप्रति कटिबद्ध हुनै पर्छ र बढीभन्दा बढी जनसमर्थन बटुल्न कोसिस गर्नै पर्छ । जनतालाई कुनै पनि एजेन्डाबारे बुझाउन प्रयास नगरी परिवर्तन सम्भव छैन तर यस पटकको आन्दोलन एकै दिनको प्रदर्शनको भरमा परिवर्तन आइहाल्छ भन्ने धारणाले प्रेरित थियो । त्यसमाथि परिवर्तन त आइहाल्छ, जस पो कसले लिने भन्ने किसिमले राजावादी समूहबिच नै तँछाडमछाड हुने अवस्था थियो । एकले अर्काको नेतृत्व स्वीकार नगर्ने किसिमको थियो । 

त्यसै दिन भृकुटीमण्डपमा भएको समाजवादी मोर्चाको प्रदर्शन भने शान्तिपूर्ण रह्यो किनकि उहाँहरू यही व्यवस्थालाई जोगाउन प्रतिबद्ध र निष्ठावान् हुनुहुन्थ्यो । सरकारका कमीकमजोरीको विरोध गर्नु त स्वाभाविक नै थियो र त्यहाँ सरकारको पनि भरमार विरोध नै भयो तर उहाँहरूले सीमालाई नाघ्नु भएन र प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुभयो । फलतः न त्यहाँ अश्रुग्यास फालियो न गोली चलाइयो । तीनकुनेभन्दा धेरै सङ्ख्याको प्रदर्शन पनि शान्तिपूर्ण नै रह्यो तर तीनकुनेको प्रदर्शन आयोजकले तामझामका साथ प्रचारप्रसार गरेको व्यवस्थाविरोधी आन्दोलन भए पनि आयोजकले सोचे जति जनसमूहको उपस्थिति भने हुन सकेन । यसबाट पनि देखियो वर्तमान लोकतान्त्रिक व्यवस्थाको पक्षमा जनसमर्थन घटेको छैन । यस्तो अवस्थामा थोरै उपस्थितिमै आन्दोलनलाई हिंसात्मक बनाउँदा सफलता प्राप्त हुने अवस्था थिएन । सरकारका कमीकमजोरीको विरोध गर्न पाइन्छ तर हिंसात्मक बनाउँदा भने प्रत्युत्पादक नै हुने गर्छ । यसबाट आन्दोलनकारी पक्षले पनि यो बुझ्नु जरुरी छ कि सामाजिक सञ्जालमा सरकारको व्यापक विरोध भएकाले जनता सडकमा आइहाल्छन् भन्ने सोच्नु आलोकाँचोपना नै हो । 

अर्कोतर्फ प्रहरीले सो दिन निकै ठुलो संयम देखाएको बुझ्न सकिन्छ । प्रहरीले अश्रुग्यास प्रयोग गरी भिडलाई तितरबितर बनाए पनि मानवीय क्षति भने आन्दोलनकारीतर्फ केबल एक जनाको भएको छ । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक भने आगलागीमा निस्सासिएर मृत्यु भएको पुष्टि भयो । हुन त यी हताहती पनि हुन नदिन सकिन्थ्यो तर आन्दोलनकारीले आगो निभाउन आएको दमकललाई पनि आगो निभाउन नदिँदा ती दुःखद घटना हुन पुगे । साथै प्रहरीले पनि जडीबुटीमा भएको आगजनीलाई रोक्न सकेन । 

तीनकुनेमा भएको आन्दोलनबाट प्रहरी र आन्दोलनकारी दुवैले पाठ सिकेको हुनु पर्छ । पर्याप्त जनसमर्थनबिना परिवर्तन सम्भव छैन भन्ने कुरा आन्दोलनकारीका लागि ठुलो पाठ हो । त्यस्तै प्रहरीले पनि यस पटक भएको क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्थ्यो भन्ने बुझेकै होला । केही सुझबुझ अपनाएको भए सायद ती आगजनीलाई रोक्न सकिन्थ्यो र धनजनको क्षतिलाई पक्कै कम गर्न सकिन्थ्यो ।