काठमाडौँ, चैत २७ गते। नेपाल यु–१९ र अफगानिस्तानको यु–१९ क्रिकेट टिमको खेल वर्षाले अवरुद्ध भएको छ। तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम खेल वर्षाले अवरुद्ध भएको हो। बुधबार मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको अफगानिस्तानले २०.१ ओभरमा ब्याटिङ गर्दै गर्दा पानी परेको हो।
पानी पर्नुअघि अफगानिस्तानले २०.१ ओभरमा ४६ रन बनाउँदा ६ विकेट गुमाएको छ। अहिलेसम्म नेपाल बलिया स्थितिमा छ। अघिल्ला दुई खेल गुमाएको नेपालले बुधबार कसिलो बलिङ गरेको हो। अफगानिस्तानको ब्याटिङ लाइनलाई रोक्न नेपालका बलरले कसिलो बलिङ गरेका हुन्। नेपालका लागि अपराजित पौडेलले दुई विकेट लिनुभयो भने दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले एकएक विकेट हात पार्नुभएको छ। अफगानिस्तानका फैसल सिनोजादा र अजिजुल्लाह मिया खिलबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरको अंकमा रन जोड्न सकेका छैनन्। फैसलले १६ रन जोड्नुभयो भने अजिजुल्लाह नटआउट १५ रनमा हुनुहुन्छ।
मुलपानी क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालका लागि साहिल पटेलले ४६, निरजकुमार यादव ४२, रोशन विश्वकर्मा २८, कप्तान नरेन भट्ट २२ र दर्स सुनुवारले १० रन बनाउनुभएको थियो।
अफगानिस्तानका हाफिज जद्रानले चार विकेट हात पार्नुभयो भने अब्दुल अजिज र जइतुल्लाह साहिलले समान दुई दुई विकेट हात पार्दा रुहुल्लाह अरब र मेहेबुब खानले एकएक विकेट हात पर्नुभयो। ४४.५ ओभरमा अलआउट हुँदै नेपालले १९१ रन बनाएको हो।
यसअघिको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रन हराएको थियो। लगातार दुई खेल हारेको नेपाल आज सान्त्वना जितेको खोजीमा छ।