बैतडी समाचारदाता
बैतडी, चैत २७ गते । बैतडीका ग्रामीण क्षेत्रका ५० प्रतिशत महिलाकोे प्रजनन स्वास्थ्यमा सङ्क्रमण देखिएको छ । पाटन नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा आएका पाँच सय महिलामध्ये ५० प्रतिशतमा महिलाको प्रजनन प्रणालीमा सङ्क्रमण देखिएको हो ।
ग्रामीण महिलामा कामको बोझ, पोसिलो खाना अभावले रक्तअल्पता, असामान्य रूपमा रक्तस्राव, पाठेघर खस्ने, पिसाब नलीमा सङ्क्रमण, आइरनको कमी जस्ता समस्या देखिएको छ । ग्रामीण भेगमा अहिले पनि महिनावारी र सुत्केरी भएका महिलाले दुध, दही खाए देउता रिसाउने डर कायमै छ । स्वास्थ्य संस्थामा आइरन चक्की खेर गइरहेको भए पनि उपभोग नगर्दा म्याद समाप्त हुने अवस्थामा आएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा १० हजार आइरन चक्की खेर जाने अवस्था आएको छ । आइरन चक्कीको एक महिनापछि म्याद समाप्त हुँदै छ । छाउपडी प्रथाका कारण गोरस खाने चलन छैन । आइरन चक्कीको स्वाद राम्रो छैन भनेर उपभोग गर्दैनन् ।” शिविरमा आएका पाँच सय महिलालाई आइरन चक्कीको महत्वका बारेमा जानकारी गराएर वितरण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि पाँच सयमध्ये ५० प्रतिशतमा प्रजनन अङ्गको सङ्क्रमण देखिनु भनेको ठुलो समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । २० वर्षदेखि ५० वर्ष उमेरका महिलामा बढी सङ्क्रण देखिएको छ ।
नगरपालिकाले यही चैत २२ देखि २४ गतेसम्म पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र वसन्तपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेको थियो । नेपाल मेड जर्मन संस्थाको सहयोगमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निता तिमिल्सिना, डा. रेजिना खड्का, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर विष्टलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए । गर्भावस्थामा गह्रौँ भारी बोक्नु, सुत्केरी भएको समयमा पोसिलो खानेकुरा नखानु, जन्मान्तर कम हुनुलगायतका कारणले महिलामा पाठेघर खस्ने समस्या आउने स्वास्थ्यकर्मीले बताएका छन् ।
यस्तै शिविरमा आएका १५ प्रतिशत महिलामा पिसाब नलीको सङ्क्रमण देखिएको छ । सरसफाइको कमी, पानी कम पिउनुलगायतका कारणले उनीहरूमा यो समस्या देखिएको बताइएको छ ।
शिविरमा आएकामध्ये १० प्रतिशत महिलामा ग्यास्ट्रिकको समस्यासमेत देखिएको छ । समयमा खाना नखानु, खाली पेट बस्नु, भोकै काम गर्नुलगायतका कारणले ग्यास्ट्रिकको समस्या बल्झिने गरेको डाक्टर तिमिल्सिनाले बताउनुभयो ।
शिविरमा उपचारका लागि आएका महिलाको अल्ट्रासाउन्ड गर्दा केहीमा पत्थरीकोसमेत समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर विष्टले बताउनुभयो ।