• १२ असार २०८२, बिहिबार

स्थायी शान्ति अपरिहार्य

blog

इतिहासको लामो शृङ्खलामा विश्वले अनेक युद्धको सामना गर्नु परेको छ । शिष्ट मानव सभ्यताले कहिल्यै युद्ध चाहेन तर युद्धबाट पनि मुक्त हुन सकेन । शान्तिको जतिसुकै चाहना राखे पनि विश्व अनेक युद्धबाट मुक्त हुन नसकेको नमिठो विगतमा मानवीय चीत्कार पाइन्छ । यसले अनेक निष्कर्ष पनि निकालेको छ । त्यस्तो निष्कर्ष भन्नु कुनै पनि युद्ध जो कसैका निम्ति पनि लाभदायक हुँदैन । युद्धले नरसंहार त गर्छ नै साथसाथै भौतिक धनसम्पत्तिको ठुलो नोक्सानी गर्छ । त्यस्तो नोक्सानीले मानव समाजको आर्थिक तथा सामाजिक जीवनलाई सकसपूर्ण बनाइदिन्छ । रुस र युक्रेनबिच तीन वर्षयताको युद्धले विश्व आपूर्ति व्यवस्थामा गम्भीर प्रतिकूल असर पारेको देख्न सकिन्छ । त्यसले कच्चा तेलको मूल्य बढायो । आपूर्ति व्यवस्थामा अवरोध भई संसारले महँगीको सामना गर्नु पर्‍यो । त्यसै गरी इजरायल र हमासबिचको युद्धले समेत मध्यपूर्वलाई अशान्ति मात्र बनाएन, लाखौँ मानिसको आर्थिक जीवन झनै कठिन बनायो । पछिल्लो इजरायल र इरानबिचको युद्धले संसारलाई ठुलो त्रासमा पारेको थियो । भलै १२ दिनको भीषण लडाइँपछि मङ्गलबार युद्धविराम भयो । यो युद्धमा अमेरिकासमेत संलग्न हुन पुग्यो । इरानका आणविक भट्टीमा बमबारी गर्न पुग्यो । तथापि अमेरिकाकै सक्रियतामा युद्धविराम पनि भयो । यसमा परस्पर नमिल्ने धेरै विषयवस्तु भए पनि युद्धविराम हुन सक्नु भने वर्तमान विश्वका निम्ति सन्तोषको विषय हो । कम्तीमा युद्धको घनघोर कालो बादलबाट मध्यपूर्व तत्काललाई मुक्त भएको छ ।

इजरायल र इरानबिच सुरुको राम्रो सम्बन्ध अनि पछि इबी र तुसमा इतिहास बोल्छ । इरानमा राजतन्त्र हुँदाका दिनमा इजरायलसँग राम्रो सम्बन्ध थियो । सन् १९४८ मा इजरायल स्थापना हुँदा आरम्भमै इरानले नयाँ मुलुकको मान्यता दिएको थियो । इरानमा सन् १९७९ मा इस्लामिक क्रान्तिपछि राजनीतिक परिवर्तन हुन पुग्यो । राजतन्त्र अन्त्य भई गणतान्त्रिक युगमा प्रवेश गरेसँगै कट्टरपन्थी इस्लामिक नेतृत्वले सत्ता हत्यायो । आयतुल्लाह खामेनीको नेतृत्वले धार्मिक निरङ्कुश शासनसँगै इरानले इजरायललाई दुस्मन मुलुकमा राख्यो । आणविक हतियार विकास गरेको इरानले इजरायललाई विश्वकै नक्साबाट हटाउने लक्ष्यमा अगाडि बढेपछि मामिला जटिल बन्न थाल्यो । हमास, हिज्बुल्लाह जस्ता इस्लामिक समूहलाई इरानले पक्षपोषण गर्न थाल्यो । त्यसकै सिलसिलामा गत वर्ष हमासले इजरायमाथि आक्रमण गरेपछि इजरायल क्रुद्ध हुन पुग्यो । त्यो युद्धले गाजा तहसनहस नै बन्यो । अहिले पनि गाजाका लाखौँ मानिस न्यूनतम मानवीय आवश्यकताका निम्ति भौँतारिइरहेका छन् । इजरायलको निरन्तर आक्रमणले युद्धनिरपेक्ष गाजावासी नाजुक जीवन व्यतीत गरिरहेका छन् । हमासलाई सबै खालको सहयोग गर्ने इरान नै भएको ठम्याइ इजरायलको रहेकै कारण इजरायल र इरान युद्ध भुमरीमा पुगे । त्यसैबिच अमेरिकाले बम वर्षा गरी इरानका तीन वटा आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फाहन तहसनहस बनायो । प्रतिकारमा इरानले कतारस्थित अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गरेसँगै नयाँ घटनाक्रम विकास भयो । अमेरिकी नेतृत्वमै इजरायल र इरानबिच युद्धविराम हुन पुग्यो ।

इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गर्नु सानै भए पनि तत्कालको उपलब्धि हो । यो युद्धविरामले मध्यपूर्वमा उधुम मच्चाएको १२ दिने युद्धको अन्त्य भएको छ तथापि युद्धविराम प्रभावकारी नभएको पनि परस्पर आरोपप्रत्यारोप चलिरहेको छ । विश्व मानव समाजलाई युद्ध कुनै पनि हालतमा मान्य छैन । युद्धले कुनै पनि समस्याको दीर्घकालीन समाधान दिन सक्दैन । युद्धले सैनिक खर्चमा व्यापक वृद्धि गर्ने छ । त्यसले शिक्षा, स्वास्थ्य, खाद्य उत्पादन र आपूर्तिलगायतका क्षेत्रको लगानी घटाउने छ । सैनिक खर्चमा व्यापक बढोत्तरी ल्याउने छ । हातहतियारको होडबाजीमा विश्वलाई डोर्‍याउने छ । विश्वलाई शान्तिको दिशामा लैजान अघिल्लो पुस्ताले प्रशस्त गृहकार्य गरी बाटो देखाए । त्यसमा पनि पञ्चशीलका सिद्धान्त नै मूलभूत रूपमा विश्वशान्तिका निम्ति मूल सूत्र हो । पञ्चशीलका सिद्धान्तले सबै मुलुकका निम्ति शान्तिपूर्ण सहअस्तित्व प्रदान गर्छ । मुलुकहरूबिच पारस्परिक सद्भाव, अनाक्रमण, अहस्तक्षेप जस्ता मानव सभ्यताका अमूल्य आयामलाई पञ्चशीलले समेट्छ । नेपालको परराष्ट्र« नीति नै पञ्चशीलको सिद्धान्तमा आधारित छ । विश्वका धेरै देशको चाहना र क्रियाशीलतासमेत यही दिशामा अग्रसर छ । इजरायल र इरानबिच भएको यो युद्धविराम अब स्थायी शान्तिमा रूपान्तरण हुनु पर्छ । स्थायी शान्तिमै इजरायल र इरानको भविष्य छ, विश्वका सबै मानव जातिको भविष्य छ ।