कर्णाली प्रदेश ब्युरो
सुर्खेत, असार १२ गते । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये मङ्लबार र बुधबार गरी दुई दिनमा अधिकांश पालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसहित आआफ्ना बजेट सार्वजनिक गरेका छन् । आफ्नो आन्तरिक आयको अवस्था हेरेर पूर्वाधार, पर्यटन, शिक्षा, कृषि र सामाजिक न्यायमा पालिकाले बजेटलाई केन्द्रित गरेका छन् ।
सबैभन्दा बढी बजेट वीरेन्द्रनगरको
सुर्खेत समाचारदाताका अनुसार कर्णाली प्रदेशको सबैभन्दा ठुलो नगरपालिका सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आव २०८२/८३ का लागि चार अर्ब ३८ करोड २७ लाखको बजेट ल्याएको छ । यसमा चालुतर्फ एक अर्ब ५९ करोड ४२ लाख ३० हजार अर्थात् ३६.३७ प्रतिशत र पुँजीगततर्फ दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार अर्थात् ६३.६३ प्रतिशत रहेको छ । मङ्गलबार आयोजित १७ औँ नगर सभामा उपप्रमुख नीलकण्ठ खनालले सो बजेट ल्याउनुभएको हो । यस्तै विकास साझेदार तथा गैरसरकारी सङ्घ संस्थातर्फबाट ४० करोडको बजेट आयोजना तथा कार्यक्रमसमेत स्वीकृत गरिएको छ ।
बजेटमा सङ्घीय वित्तीय समानीकरण अनुदानतर्फ २४ करोड २४ लाख, सङ्घीय ससर्त अनुदानतर्फ दुई अर्ब २० करोड आठ लाख, सङ्घीय राजस्व बाँडफाँटतर्फ २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ तीन करोड ३४ लाख ५३ हजार, प्रदेश ससर्त अनुदानतर्फ ३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, रजिस्टे«सन तथा मनोरञ्जनतर्फ १५ करोड, दहत्तर बहत्तर शुल्कतर्फ दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आयतर्फ ५१ करोड ६३ लाख ५० हजार, आव २०८१/८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैङ्क मौज्दाततर्फ ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड खर्च बेहोर्ने लक्ष्य लिइएको छ ।
कुल बजेटमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि ३२ करोड ६५ लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ फन्ड (भेरी पम्पिङ आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि ११ करोड ६० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १९ करोड २८ लाख र नगर प्रमुखबाट पेस भएका नीतिको कार्यान्वयनका लागि नगरस्तरीय क्षेत्रगत कार्यक्रम सञ्चालन गर्न एक अर्ब २५ करोड ९२ लाख ७९ हजार विनियोजन गरिएको छ । गत आवमा नगरपालिकाले कुल ५७ प्रतिशत खर्च गरेको थियो ।
त्यसअघि नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । नीति तथा कार्यक्रममा राजस्व वृद्धि गर्ने, सामान्य प्रशासन र सार्वजनिक सेवा, न्यायिक सेवा, पूर्वाधार विकास क्षेत्र, शिक्षा, युवा तथा खेलकुद विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, उद्योग तथा वाणिज्य प्रशासन, सहकारीलगायत विभिन्न सेवा क्षेत्रमा विभाजन गरिएको छ ।
यसै गरी छिन्चु समाचारदाताका अनुसार त्यसै गरी सुर्खेतको गुर्भाकोट नगरपालिकाले एक अर्ब एक करोड ६७ लाख ९५ हजार रुपियाँको बजेट ल्याएको छ । त्यसमध्ये ३९ करोड एक लाख पुँजीगत र ६१ करोड ८६ लाख ७२ हजार चालु खर्च रहेको छ ।
यसै गरी पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार र भेरीगङ्गा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार रुपियाँ बराबरको बजेट ल्याएका छन् । लेकबेँसी नगरपालिकाले ६१ करोड ५१ लाख दुई हजारको बजेट ल्याएको छ । वराहताल गाउँपालिकाले ६३ करोड सात लाख चार हजार, सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख १९ हजार, चौकुने गाउँपालिकाले ५७ करोड र चिङ्गाड गाउँपालिकाले ४० करोड ८६ लाख ४६ हजारको बजेट पारित गरेको छ ।
तीन अर्ब बयसट्ठी करोडको बजेट
रुकुमपश्चिमको मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिमका छ वटा स्थानीय तहले आगामी आव २०८२/८३ का लागि तीन अर्ब ६२ करोड ८८ लाख ९६ हजार ५५० रुपियाँको बजेट ल्याएका छन् । सबै स्थानीय तहले सामाजिक विकास, पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् । चौरजहारी नगरपालिकाको २१ औँ नगर सभामा उपप्रमुख ईश्वरी शर्मा बिएमले पेस गर्नुभएको कार्यक्रम र बजेट पारितसमेत भएको छ । चौरजहारीले कुल ८१ करोड ९४ लाख ८३ हजारको बजेट पारित गरेको हो । सङ्घ संस्थाको बाहेक सञ्चित कोषको बजेट भने ५७ करोड ४१ लाख ९५ हजार २५ रुपियाँ रहेको छ । जसमध्ये चालुतर्फ ४२ करोड ८३ लाख १९ हजार ७८८ र पुँजीगततर्फ १४ करोड ५८ लाख रहेको छ ।
मुसीकोट नगरपालिकाको १५ औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले ६९ करोड ९९ लाख ९४ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । जसमा चालुतर्फ ५२ करोड ७० लाख ९४ हजार दुई सय र पुँजीगततर्फ १७ करोड २९ लाख रुपियाँ रहेको छ । आठबिसकोट नगरपालिकाको १८ औँ नगर सभा ७६ करोड ३८ लाख ६९ हजार रुपियाँको बजेट पेस भएको छ । नगर उपप्रमुख धनकुमारी शाहीले नीति तथा कार्यक्र म कार्यान्वयनका लागि चालुतर्फ ४९ करोड ३४ लाख ३२ हजार र पुँजीगततर्फ २७ करोड चार लाख ३७ हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो । त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजुकुमारी रेउलेले ५४ करोड ८६ लाख ३२ हजारको बजेट गाउँ सभामा पेस गर्नुभएको छ भने सानीभेरी गाउँपालिका ५३ करोड ९७ लाख छ हजार ९९९ रुपियाँ, बाँफीकोट गाउँपालिकाले ५० करोड २५ लाख ७४ हजार ५६३ रुपियाँ बजेट प्रस्तुत गरिएको छ ।
दैलेखका सबै पालिकाले ल्याए बजेट
दैलेखको पञ्चकोशी समाचारदाताका अनुसार दैलेखका चार नगरपालिका र सात गाउँपालिका गरी ११ वटाले पालिकाले मङ्गलबार नै बजेट ल्याएका छन् । नारायण नगरपालिकाले ५६ करोड ४४ लाख ६९ हजारको बजेट ल्याएको छ । यसमा चालुतर्फ ४५ करोड ७० लाख ९२ हजार र पुँजीगततर्फ १० करोड ७३ लाख ७७ हजार रहेको छ । नगरपालिकाले बजेटलाई सुशासन तथा सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, पर्यटन, सिपमूलक तालिम, खानेपानीका धारा मर्मत, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको नगरप्रमुख लोमन शर्माले बताउनुभयो ।
यस्तै महाबु गाउँपालिकाले ४९ करोड ४० लाख ४२ हजार, नौमुले गाउँपालिकाले ५६ करोड आठ लाख ६६ हजार, ठाँटीकाध गाउँपालिका ४१ करोड ५० लाख ३१ हजार, दुल्लु नगरपालिकाले एक अर्ब आठ करोड ९२ लाख ५९ हजार बजेट ल्याएका छन् । यसै गरी गुराँस गाउँपालिकाले ७३ करोड ६१ लाख ४४ हजार, डुङ्गेश्वर गाउँपालिकाले ४१ करोड ८१ लाख ७२ हजार, चामुण्डाविन्द्रासैनी नगरपालिकाले ४८ करोड ४३ लाख तीन हजार, आठबिस नगरपालिकाले ५५ करोड ८८ लाख ६१ हजार, भगवतीमाई गाउँपालिकाले ५६ करोड ४५ लाख ७५ हजार र भैरवी गाउँपालिकाले ४९ करोड ९९ लाख ९० हजारको बजेट सार्वजनिक गरेका छन् ।
तीन अर्ब बत्तिस करोड
सिँजा समाचारदाताका अनुसार जुम्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहले आगामी आव २०८२/८३ का लागि तीन अर्ब ३२ करोड ९३ लाखको बजेट ल्याएका छन् । ती पालिकाले कृषि, शिक्षा, उद्यमशीलता, पूर्वाधार विकास, रोजगारी वृद्धिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै एकैसाथ नीति र बजेट ल्याएका हुन् । सबैभन्दा बढी जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले ६१ करोड ३२ लाख ९२ हजारको बजेट ल्याएको छ । उपप्रमुख रामदेवी खड्काले हिंसापीडित महिलाको राहत, उद्धार तथा पुनस्र्थापनका लागि सेफहाउस निर्माण गर्नेदेखि उत्पादन बढाउने जस्ता नीतिलाई जोड दिएर ६१ करोडको बजेट प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै तातोपानी गाउँपालिकाले ५१ करोड ५९ लाख ८२ हजार, तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजार, हिमा गाउँपालिकाले आफ्नै सार्वजनिक बस सञ्चालन गर्ने, खानेपानी तथा वातावरण संरक्षणमा जोड दिँदै ४० करोड दुई लाख ७५ हजार, सिँजा गाउँपालिकाले ४७ करोड, २२ लाख ३५ हजार, कनकासुन्दरी गाउँपालिकाले कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ५० करोड, पातारासी गाउँपालिकाले ४३ करोड ५८ लाख ४१ हजार, गुठीचौर गाउँपालिकाले सबैभन्दा कम ३४ करोड ७९ लाख रुपियाँ विनियोजन गरेको छ । जुम्लाका आठ पालिकामध्ये तातोपानी गाउँपालिकाबाहेक सातै पालिकाले डल्लो बजेट मात्रै ल्याएका छन् । तातोपानीले आठ वटै वडामा बजेट बाँडफाँट गरी विषयगत शाखाका कार्यक्रममा समेत बजेट छुट्याइसकेको छ । कर्णालीका ७९ वटा पालिकामध्ये तातोपानीको बजेट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रोटोकलमा समेत प्रविष्ट भइसकेको छ ।
छ पालिकाले ल्याए बजेट
खलङ्गा समाचारदाताका अनुसार जाजरकोटका छ स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् । आव २०८२/८३ का लागि प्रस्तावित अनुमानित बजेटसहित गाउँ तथा नगर सभाबाट पारित गरेका छन् । नलगाड नगरपालिकाको असार ९ गते उद्घाटन सत्रमा कांग्रेस, एमालेनिकट जनप्रतिनिधि तथा कार्यपालिका सदस्यले बहिष्कार गरेपछि स्थगित भएको छ । नेपाल सरकारको नीति अनुसार असार १० गते स्थानीय तहले नीति तथा कार्यक्र म सार्वजनिक गरेका हुन् ।
छेडागाड नगरपालिकाले ७३ करोड ६७ लाख ३१ हजार, भेरी नगरपालिकाले ९१ करोड ६५ लाख ८७ हजार, बारेकोट गाउँपालिकाले ५७ करोड ६२ लाख ५५ हजार, जुनीचाँदे गाउँपालिकाले ५९ करोड ५९ लाख ७६ हजार ५५८ विनियोजन गरेको छ । यस्तै शिवालय गाउँपालिकाले ४९ करोड ८९ लाख ६६ हजार, कुशे गाउँपालिकाले ६० करोड ७४ लाख २४ हजार अनुमानित बजेट सभाले पारित गरेको छ ।
बजेट सवा पाँच अर्बभन्दा बढी
शारदा समाचारदाताका अनुसार सल्यानका १० स्थानीय तहमध्ये नौ स्थानीय तहले पाँच अर्ब १९ करोड ४७ लाख २५ हजार बराबरको बजेट ल्याएका छन् । शारदा नगरपालिकाको बजेट एक अर्ब १९ करोड २९ लाख १२ हजार रुपियाँ रहेको छ भने वनगाड कुपिन्डे नगरपालिकाको बजेट ७९ करोड रुपियाँ रहेको छ तर जिल्लाको अर्को नगरपालिका बागचौर नगरपालिकाले भने नगर सभाको १४ औँ अधिवेशनमा आगामी आवका लागि नीति तथा कार्यक्र म पेस गरेर पारित गरेको छ भने बजेट कार्यक्र मबारे छलफल चलिरहेकाले अधिवेशनको अर्को बैठकमा पेस हुने छ ।
गाउँपालिकातर्फ छत्रेश्वरी गाउँपालिकाले ५२ करोड ५३ लाख ३८ हजार, कालीमाटी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४९ करोड ९५ लाख, कुमाख गाउँपालिकाले ४९ करोड ८७ लाख तथा त्रिवेणी गाउँपालिकाले ४५ करोड ८४ लाख ४१ हजार ५८४ रुपियाँको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको दार्मा गाउँपालिकाले ४४ करोड ९२ लाख ४६ हजार तथा कपुरकोट गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर ४२ करोड ६८ लाख ८८ हजार र सिद्धकुमाख गाउँपालिकाले ३५ करोड ३७ लाख रुपियाँको बजेट पारित गरेका छन् ।
आयआर्जनलाई प्राथमिकता
हुम्ला/रलिङ समाचारदाताका अनुसार हिमाली जिल्ला हुम्लाका सात वटै गाउँपालिकाले नीति, बजेट तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार पर्यटन र आयआर्जनलाई प्राथमिकता दिएका छन् । मङ्गलबारबाट सुरु भएको गाउँ सभामा सबै गाउँपालिकाले उक्त क्षेत्रलाई प्राथमिकता दिएका हुन् । सिमकोट गाउँपालिकाले ६४ करोड ३६ लाख ७० हजार, खार्पुनाथ गाउँपालिकाले ४७ करोड ६४ हजार ४९९ रुपियाँको बजेट गाउँ सभाबाट पारित गरेको छ ।
यस्तै नाम्खा गाउँपालिकाले ३७ करोड र सर्केगाड गाउँपालिकाले ६५ करोडभन्दा बढीको बजेट ल्याएको छ । मुख्य गरी बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार पर्यटन कृषि र आयआर्जनलाई बजेटले प्राथमिकता दिएको बताइएको छ । यस्तै कृषि उत्पादन वृद्धि, युवाको स्वरोजगार, शिक्षा स्तरोन्नति, विपत् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको छ । अदानचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, आयआर्जन, पर्यटन विकासमा केन्द्रित भएको छ । ताँजाकोट गाउँपालिकाका प्रशासकीय अधिकृत समीक्षा अधिकारीले शिक्षा, स्वास्थ्य पूर्वाधार, सडकको स्तरोन्नतिलई प्राथमिकता दिइएको बताउनुभयो भने चङ्खेली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सिँचाइ र प्रशासनिक भवन निर्माण गरिने जनाइएको छ ।
नौ स्थानीय तहको बजेट
कालीकोट समाचारदाताका अनुसार कालीकोटका छ वटा गाउँपालिका र तीन नगरपालिका गरी जम्मा नौ वटा स्थानीय तहले आव २०८२/८३ का लागि कुल चार अर्ब ३८ करोड ८४ लाख ५१ हजार बजेट सार्वजनिक गरेका छन् । चालु र पुँजीगत खर्च समेटिएको बजेटमार्फत सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सेवा प्रवाहमा प्राथमिकता दिइएको छ ।
खाँडाचक्र नगरपालिकाले आगामी आव २०८२/८३ का लागि ५३ करोड ५५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेको उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । यस्तै सान्नीत्रिवेणी गाउँपालिकाले ४१ करोड ९२ लाख ६२ हजार, नरहरिनाथ गाउँपालिकाले ५१ करोड ८३ लाख ८० हजारको बजेट प्रस्तुत भएको छ । तिलागुफा नगरपालिकाले ७० करोड १४ लाख नौ हजार, रास्कोट नगरपालिकाले ४७ करोड २२ लाख ८२ हजार बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, सामाजिक सुरक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा विशेष जोड दिइएको छ । पचालझरना गाउँपालिकाले ४३ करोड ८६ लाख २९ हजार, शुभकालिका गाउँपालिकाले ४६ करोड २० लाख ५० हजार, पलाँता गाउँपालिकाले र महाबै गाउँपालिकाको ३५ करोड ८७ लाख ४७ हजारको बजेट विनियोजन गरेको छ । सबै स्थानीय तहले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
एक अर्ब बयालिस लाख
मुगु समाचारदाताका अनुसार मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाको बजेट सार्वजनिक भएको छ । छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाको गरी कुल एक अर्ब ४२ लाख १३ हजार बजेट ल्याइएको छ । आव २०८२/८३ का लागि छायानाथ रारा नगरपालिकाको १७ औँ अधिवेशन (बजेट सभा) बाट ६६ करोड ११ लाख १३ हजार २८२ को बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाले पर्यटन, पूर्वाधार विकास, शिक्षालाई प्राथमिकता दिएको छ ।
नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आन्तरिक आय नभएका यहाँ स्थानीय तह, सङ्घीय र प्रदेश अनुदानमा निर्भर हुनु परेको बताउनुभयो । यस्तै खत्याडले ६४ करोड ८८ लाख बजेट ल्याएको छ ।