• ५ वैशाख २०८२, शुक्रबार

राष्ट्रिय एकताको सूत्र

blog

कुनै पनि राष्ट्रमा विभिन्न जातजाति, पेसा, धर्म, आर्थिक, सामाजिक स्तरका मानिसहरू रहेका हुन्छन् । त्यही विविधताबिच एकता कायम गर्नु नै राष्ट्रिय एकता हो । जब देशका नागरिक राष्ट्रिय एकताको भावनाले ओतप्रोत हुन्छन् । तब उनीहरूले राष्ट्रिय अस्मितामाथि खलल पुग्ने कुनै कार्य गर्दैनन् र गरेको पनि मन पराउँदैनन् । राष्ट्रप्रति बफादार र कर्तव्यनिष्ठ भएर अनेकतामा एकताको आवाज गुञ्जाउँछन् । यसको विपरीत राष्ट्रिय एकताको भावनामा कमी हुन गएमा राष्ट्रवासीबिच नै क्षेत्रीयता, प्रान्तीयता, जातीयता आदिको आधारमा विभेद झै झगडा, द्वन्द्व, मनमुटाव आदि सिर्जना हुन गई राष्ट्रिय भाइचाराको सम्बन्धमा दख्खल पुग्न सक्छ । 

राष्ट्रिय एकता राष्ट्रिय भावनामा बाँधिने आन्तरिक इच्छाशक्ति हो । राष्ट्रियता भनेको राज्य र नागरिकलाई जोड्ने महत्वपूर्ण कडी हो । राष्ट्रिय एकता कुनै पनि देशका लागि अति नै आवश्यक हुन्छ । देशप्रतिको प्रेम, त्याग, सहानुभूति कायम हुनु नै राष्ट्रिय एकता हो । राष्ट्रिय एकताले देशभित्रका सबै नागरिकलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ । यसले देश हामी सबैको साझा फूलबारी हो भन्ने भावनाको विकास गराउँछ । सबै नागरिकले एक आपसमा सहयोग, सद्भाव, मेलमिलाप, प्रेम कायम राखी राष्ट्रियताको भावना प्रदर्शन गर्ने मनोवैज्ञानिक भावना हो । तसर्थ देशभक्ति परिष्कृत विचार, समझदारी, सामूहिकता, भातृत्व, सहिष्णुता र राष्ट्रप्रतिको अगाध प्रेमभाव नै राष्ट्रिय एकता हो । 

राष्ट्रियता बिना देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायत कुनै पनि क्षेत्रमा विकासको सम्भावना हुँदैन । राष्ट्रियताको अभावमा देशमा आपसमा वैमनस्यता बढ्दै जाने, जातजातीबिच अन्तरद्वन्द्व बढ्दै जाने, गृहयुद्ध हुने जस्ता ठुलो खतरा हुन्छ । राष्ट्रिय एकताको अभावमा राष्ट्रियता, देशप्रेम जस्ता कुराहरूमा कमी आउन सक्छ । जातीयता, सामुदायिकता, क्षेत्रीयता, साम्प्रदायिकता, धार्मिक सङ्कीर्णता राजनीतिक मत विभेद, आर्थिक विभेद, बहुभाषिक स्वरूप, बहुजनजातीय स्वरूप तथा अशिक्षा तथा चेतनाको कमीका कारणले राष्ट्रिय एकतामा बाधा पुर्‍याइरहेको हुन्छ । अहिलेको जल्दोबल्दो सन्दर्भमा नेपालको वर्तमान राजनीतिक मत विभेदले गर्दा भइरहेको अन्तरद्वन्द्वले राष्ट्रिय एकतालाई कुनै न कुनै रूपले हानि पुर्‍याइरहेको छ । 

पछिल्लो समय देशमा चर्केका आन्दोलन तथा प्रदर्शनले गर्दा आमनेपालीले सोचे जस्तो आत्मीयता, सदियौँदेखि कायम रहेको जातीय सद्भाव, सहअस्तित्व एवं राष्ट्रिय एकता एवं सहिष्णुता र समन्वयात्मक संस्कार संस्कृतिमा खलल पुग्ने हो कि भन्ने त्रास सिर्जना भएको अनुभूति नेपाली जनताले गरिरहेका छन् । पहिलेदेखि नै अस्तित्वमा रहेका जातीय समाजहरू अहिले मुलुकको भन्दा पनि आफ्नै जातीय स्वार्थमा लिन हुँदै एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्तितर्फ उन्मुख भएको आभास देखा पर्दै छ । राजनीतिक वितृष्णालगायतका क्षेत्रीयताका नाराहरू पनि व्यापक रूपमा गुञ्जायमान छन् । धर्मको नाममा सङ्कीकर्ण विचार र प्रचार प्रस्तुत भइरहेका छन् । विभिन्न जातजातिको संस्कार र धर्मको विरोध र समर्थन गर्दै धर्म, धर्मबिचमा भेदभावको सिर्जना गर्ने गतिविधि भइरहेका छन्, जसले गर्दा राष्ट्रिय एकतामा कहीँ न कहीँ बाधा व्यवधान पुर्‍याउने कार्य भइरहेको देखिन्छ । यो वा त्यो आन्दोलन गर्ने बहानामा दिनप्रतिदिन अराजकता एवं उच्छृङ्खल गतिविधि मौलाइरहेका छन् । राष्ट्रघाती तथा विखण्डनकारी सोच हाबी भइरहेका छन् । वीर पुर्खाले रगत सिञ्चन गरी आर्जेको अखण्ड नेपालमा विभिन्न स्वार्थ समूह हाबी हुने दुष्प्रयास गर्दै छन् । यस्ता गलत सोच, विचार राख्ने प्रवृत्तिबाट टाढा रही नेपालको राष्ट्रिय एकतालाई उँचो बनाउनु प्रत्येक सच्चा नेपालीको कर्तव्य हो । यो आफ्नो मूलभूत कर्तव्यलाई अङ्गीकार गरी हामी सबै एकजुट भएर अघि बढ्नु नै राष्ट्रिय हित अनुकूल हुन्छ । यही नै राष्ट्रिय एकताको सन्देशसमेत हो ।

राष्ट्रिय एकतालाई सुदृढीकरण गर्नु पर्छ । अन्यथा हामी राष्ट्रका नागरिक भएर बाँच्न पाउने अधिकारबाट वञ्चित हुन सक्छौँ । राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न शिक्षा एउटा सशक्त माध्यम हो । शिक्षाले नै राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक, लैङ्गिक, आर्थिक, पेसागत आदि रूपमा मानिसबिचमा हुने भिन्नतालाई अन्त्य गरी राष्ट्रियता, देश प्रेम, भाइचाराको सम्बन्ध जस्ता कुराको बीजारोपण गर्छ । यसले नै राष्ट्र राष्ट्रिय एकताको दियो बाल्छ । तसर्थ राष्ट्रिय भाइचाराको सम्बन्ध स्थापित गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन शिक्षाको अहम् भूमिका हुन्छ । त्यही भएर राज्यले शिक्षा क्षेत्रमा लगानी अभिवृद्धि गरी बढीभन्दा बढी जनतालाई राष्ट्रिय एकताको विषयमा शिक्षित बनाउन सकेमा र जनचेता फैलाउने सकेमा समेत राष्ट्रिय एकता मजबुत बन्दै जान्छ । 

राष्ट्रिय एकतालाई सुदृढीकरण गर्न राजनीतिक एकीकरण हुन पनि त्यत्ति नै जरुरी छ । विभिन्न पार्टीगत द्वन्द्वहरू सिर्जना हुनबाट रोक्न जरुरी छ । समाजका व्यक्ति धर्म, जाति, भाषा, लिङ्ग आदिको आधारमा विभक्त नभई एकताबद्ध हुनु पर्छ र सामाजिक एकता कायम गर्नु पर्छ । देशका प्रत्येक नागरिकले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा संस्कारको सम्मान गर्न जान्नु पर्छ । सबै खालका श्रमको कदर तथा सम्मान गर्नु पर्छ । राष्ट्रलाई अथक योगदान दिने वीर सहिदहरू तथा राष्ट्रिय विभूतिहरूको पनि सम्मान र कदर गर्नु पर्छ । हामी सबै नेपाली देश बनाउने एउटै उद्देश्य बोकेर अगाडि बढ्नु पर्छ । अनि त्यस्तो साझा उद्देश्य सामाजिक हित अनुकूल हुन्छ र यसले राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजान्छ ।