• १ वैशाख २०८२, सोमबार

फस्टाउँदै महीको बजार

blog

काठमाडौँ, चैत २७ गते । पछिल्लो समय महीको लोकप्रियता बढेर बजारको प्रिय वस्तु बन्न थालेको छ । महीको खपत बढ्नुका साथै बजारसमेत फस्टाउँदै गएको छ । 

विभिन्न डेरी उद्योगले महीको लेबलिङ र प्याकेजिङ गरेर बजारमा बेच्न थालेपछि बजार फस्टाउँदै गएको हो । मही गर्मी मौसम स्वास्थ्यका लागि लाभदायक रहेकाले मही उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । 

नेपाल नेपाल डेरी एसोसिएसनले दुई वर्षअगाडिबाट विद्यालय, अस्पताल, आश्रम विभिन्न सामाजिक सङ्घ संस्थामा निःशुल्क मही सेवन गराउँदै आएका छन् । यही क्रममा काठमाडौँको दरबारमार्गमा रहेको रैथाने कृषि उपज बिक्री गर्ने स्थान ओरियन्ट क्याफेमा प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म निःशुल्क मही वितरण गर्ने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले देशभर मही प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्था गर्दै आएको जनाएको छ । पछिल्लो समय उपभोक्ताको रोजाइमा मही पर्न थालेपछि डेरी उद्योगीले महीलाई ब्रान्डिङ गरी बजारमा ल्याउन थालेका छन् । 

नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मही अभियानलाई व्यापक बनाउन विवाह, महोत्सव तथा व्यापारिक मेलामा मही वितरण गरिरहेको जानकारी दिनुभयो । 

अहिले मुलुकभर १८ देखि २० वटा डेरी उद्योगले प्याकेजिङ गरेर दैनिक २० देखि २५ हजार लिटर खपत हुने गरेको जानकारी दिनुभयो । हालसम्म ८५ हप्तामा २० लाख रुपियाँ बराबरको मही निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

एसोसिएसनका अनुसार उपत्यकामा महीको बजार विस्तार हुँदै गएको प्रभावस्वरूप उपत्यका बाहिरका जिल्लामा पनि एक दर्जन डेरी उद्योगले लेबलिङ, प्याकेजिङ गरी बजारमा मही बिक्री गर्न थालेका छन् । विभिन्न मेला, विवाह, भोज तथा अन्य ठुला कार्यक्रममा अघि कोल्ड ड्रिङ्क्स राख्ने गरेकामा पछिल्लो समय मही निःशुल्क वितरण गर्ने अभियानसमेत चलेको छ । 

स्वदेशी उत्पादनको उपभोग बढाउने उद्देश्यले एसोसिएसनले गर्ने आफ्ना कार्यक्रममा बालबालिका वा ज्येष्ठ नागरिकलाई दुध सेवन गराई उद्घाटन गर्ने, मायाको चिनोस्वरूप दुग्ध पदार्थ वितरण गर्ने, आफ्ना कार्यक्रममा दुग्ध पदार्थ नै खुवाउने गरेको जनाइएको छ । अन्य पेय पदार्थको ठाउँमा मही, लस्सी, दही आदि राख्ने, सधैँ दुध वा दुध चिया/कफी खुवाउने जस्ता काम गरिरहेको एसोसिएसनले जनाएको छ । 

व्यवसायी रिता थापाले मही गर्मी मौसमका लागि स्वास्थ्यवर्धक हुनुका साथै विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारी दिनुभयो । पछिल्लो समय उपभोक्ताले कोल्ड ड्रिङ्क्स, जुस र अन्य कृत्रिम पेयको विकल्पमा मही खोज्ने गरेको उहाँको भनाइ छ । बजारमा मही प्रतिलिटर ७० देखि ८० रुपियाँमा पाइने गर्छ । अन्य सिजनको तुलनामा गर्मी मौसममा महीको खपतसमेत बढी हुने गर्छ । गर्मी मौसममा मही पिउनु भनेको शरीरलाई स्वाभाविक रूपमा चिसो बनाउनुका साथै गर्मीले शरीरको पानी कम हुँदा जलवियोजन (डिहाइड्रेसन) को समस्या समाधान हुने बताएको छ । महीमा पाइने प्रोबायोटिक तत्वले पेटलाई स्वस्थ राख्नुका साथै गर्मी मौसममा देखिने अपच, एसिडिटी वा ग्यास्ट्रिक समस्या मही पिउँदा कम हुने बताइएको छ ।