• ४ वैशाख २०८२, बिहिबार

छत्तिस लाखको आँखा परीक्षण

blog

नेपाल आँखा अस्पतालको वार्षिक प्रतिवेदन तथा भित्तेपात्रो सार्वजनिक गर्नुहुँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीका साथमा अस्पताल पदाधिकारी । तस्बिर : सागर बस्नेत

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २७ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रोगको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने सचेतना कार्यक्रममा जोड दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ । उहाँले राज्यबाट स्वास्थ्य संस्थालाई उपलब्ध गराउँदै आएको सहयोगलाई विस्तार गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।

नेपाल आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार अस्पताल प्राङ्गण त्रिपुरेश्वरमा आयोजित समारोहमा मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । आँखा चिकित्साको क्षेत्रमा नेपालको स्थान दक्षिण एसियामा नै उत्कृष्ट रहेको चर्चा गर्दै उहाँले सेवाग्राहीलाई थप सहुलियत र सुलभ तरिकाले सेवा उपलब्ध गराउन आँखा अस्पताललाई सुझाउनुभयो । उहाँले आफ्नो दुइटै आँखाको शल्यक्रिया नेपाल आँखा अस्पतालमै गराएको स्मरणसमेत गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने संविधानको मर्म र राज्यको नीति अनुसार मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले विसं २०३० चैत २६ गते स्थापित अस्पतालले अहिलेसम्म ३६ लाख दुई हजार ५४ जनाको आँखा परीक्षण र एक लाख ४८ हजार ३४४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । 

अस्पतालले उपचार र शिक्षण कार्यलाई सँगसँगै अगाडि बढाएको बताउँदै उहाँले अहिले यस अस्पतालमा स्नातकोत्तरमा १२ जना, अप्टोमेट्रीमा २४ जना र नेत्र सहायकमा ३७ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।

नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो हो । अस्पतालमा कर्निया, मोतीविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लास्टी एवं बाल आँखा सेवा उपलब्ध छन् । आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार र उपकरणबाट अस्पतालले बिरामीलाई सेवा उपलब्ध गराइरहेको छ ।