विष्णुप्रसाद देवकोटा
डोल्पा, चैत २६ गते । नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउन पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।
नागरिक वडापत्रमा सेवाप्रवाह गरिने शाखा लाग्ने समय आवश्यक पर्ने कागजपत्र काम गर्ने कर्मचारी समेतको पूरा विवरण उल्लेखित नागरिक वडापत्र सञ्चालनमा ल्याएकोमा अब त्रिपुरासुन्दरी नगरका नागरिकले सेवा लिन जाँदा अलमलिनु पर्ने बाध्यता हटेको जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले बताउनुभयो ।
नागरिक वडापत्रको उद्घाटन गर्दै समन्वय प्रमुख रोकायाले जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकास निर्माणका साथै प्रविधि उपयोगमा अगाडि रहेको त्रिपुरासुन्दरीले नागरिक सेवामैत्री वडापत्र संचालनमा ल्याएकोमा खुशि व्यक्त गर्नुभयो ।
नागरिकलाई नगरबाट दिइने सेवा सहजरुपमा लिन सकुन भनेर सेवाप्रवाह गरिने सबै कुरा उल्लेखित नागरिक बडापत्र सञ्चालनमा ल्याइएको नगरप्रमुख जनचन्द्र रोकायाले बताउनुभयो ।
नगरका निमित्त प्रमुख पशासकीय अधिकृत भिमबहादुर थापाले जनउत्तरदायी र जवाफदेही स्थानीय सरकारको अनुभूति नागरिकलाई दिलाउन सहयोग पुर्याउने बताउनुभयो ।
नगरपालिकामा सेवा लिन आउँदा कुन कोठा कुन कर्मचारीमा जाने काममा नाग्ने समय आवश्यक पर्ने कागजपत्र समेत उल्लेख गरिएकाले सर्वसाधारणलाई सजिलो हुनुका साथै काममा सरल र सहजता हुने छ निमित्त प्रशासकीय अधिकृत थापाले भन्नुभयो । यसअघि नगरपालिकाले इन्टरकम टेलिफोन सेवा ई हाजिरी सेवा सञ्चालन गरिरहेको नगरले पछिल्लो समय डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको हो ।