• २६ चैत २०८१, मङ्गलबार

म्याग्दी प्रतिष्ठानलाई उपाधि

blog

काठेखोला समाचारदाता

काठेखोला (बागलुङ), चैत २६ गते । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । 

प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय हुनुभयो । यस्तै तृतीय स्थान नगरकोट दोहोरी साँझका सविन आचार्य र जमुना सुनार तथा कास्की प्रतिष्ठानका अनिल चापागाईं र अर्चना चापागार्इंले प्राप्त गर्नुभयो । १६ टिमले नाम दर्ता गराएका मध्ये १४ टिमले सहभागिता जनाएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । 

प्रतियोगिताको विजेता म्याग्दी प्रतिष्ठानले दुई लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने द्वितीय र तृतीयले क्रमशः एक लाख र ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नायक दोहोरी साँझका सरोज सिम्खडा सर्वोत्कृष्ट दोहोरी गायक र नगरकोट दोहोरी साँझकी जमुना सुनार सर्वोत्कृष्ट दोहोरी गायिका बन्नुभयो । उहाँहरूले समान नगद पाँच–पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।