• २६ चैत २०८१, मङ्गलबार

सडकमै खानाका परिकार

blog

तानसेन समाचारदाता

तानसेन, चैत २६ गते । सडकमा हिँड्ने बटुवा तथा आगन्तुकलाई विभिन्न जातजाति तथा समुदायमा प्रचलित रैथाने खाना खुवाउन ‘सडक खाना महोत्सव’ गर्ने क्रम बढेको छ । 

परम्परादेखि घरमा खाने परिकारलाई सडकमा राखेर सडकमा हिँड्ने आगन्तुकलाई खुवाउन महिला समूह, विभिन्न जातजाति सम्बद्ध समूह, टोल विकास संस्था सक्रिय बनेका छन् । मगर, नेवार, ब्राह्मण, क्षेत्री, कुमाल समुदायमा प्रचलित खानाका परिकार महोत्सवमा राखिएका छन् । 

सडक खाना महोत्सवले विभिन्न खानाका परिकार चाख्न पाइएको तानसेनका स्थानीय बासिन्दा हिराबहादुर उदासले बताउनुभयो । खाना महोत्सवकै कारण कुनै समुदायले घरमा खानका लागि प्रयोग गर्ने परिकार सडकसम्म ल्याएर सबैले स्वाद लिने अवसर मिलेको उहाँले बताउनुभयो । 

सडक महोत्सवले महिला तथा अन्य समूहको आम्दानीसमेत बढाएको छ । यसबाट स्थानीयवासीले प्रयोग गर्ने खानाका परिकारको प्रचारप्रसार हुनुका साथै महिलाको आम्दानीमा टेवा पुगेको तानसेन–५, कैलाशनगरकी स्थानीय बासिन्दा राधा थापाले बताउनुभयो । सडक खाना महोत्सवमा बटुक, यःमरी, चुकाउनी, सेलरोटी, झिनियाँ रोटी, हाँस, कुखुरा, बङ्गुर र पाडाको मासुको छोयलालगायतका खानाका परिकार राखिन्छ । तानसेनमा टोलविकास संस्था, विभिन्न समूहले सडक खाना महोत्सवको आयोजना गर्दै आएका छन् ।

त्यसका लागि तानसेन नगरपालिकाले समेत सहयोग गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सडक खाना महोत्सवले पर्यटन तथा व्यवसाय क्षेत्रमा आएको मन्दी कम गर्न सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । “सडक खाना महोत्सवले स्थानीय समुदायमा प्रचलित खानाको प्रचार गर्छ भने बजारमा आर्थिक चलायमान गराउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।

यस्तै सडक खाना महोत्सवमा स्थानीय कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम हुने गरेको छ । सडकमै सांस्कृतिक कार्यक्रम गर्दा आन्तरिक पर्यटकले खानाका परिकार खाएर रमाउने वातावरण मिलेको नगरपालिकाको भनाइ छ । कतिपय स्थानमा वडा कार्यालयको आयोजनामा सडक खाना महोत्सव भएका छन् ।