बुटवल समाचारदाता
बुटवल, चैत २६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सञ्चालनको वातावरण बनाउन माग गर्नुभएको छ । उहाँले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएकामा यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित भएको बताउँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भइरहेको र उत्साह थपिएको बताउँदै उहाँले अहिले विमानस्थलमा उडान अवतरण रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ३१ औँ परिषद् सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय उडान रोकिँदा आर्थिक गतिविधिमा गिरावट आउने बताउनुभयो ।
एक साताअघि अप्रिल १ देखि भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान रोकेका हुन् ।
प्रदेश अध्यक्ष शर्माले उद्योगी व्यवसायीका समस्या सुन्न र पैरवी गर्नका लागि आफूहरू तयार रहेको बताउँदै तल्लो तहबाट समस्याको पहिचान गरी आफूहरूलाई सुझाव दिन आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष उज्जवलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासङ्घले पहल गरिरहेको बताउँदै महासङ्घको पहलकै कारण बैङ्कको ब्याजदर घटेको दाबी गर्नुभयो ।
उहाँले मुलुकलाई ग्रे लिस्टबाट हटाउन पहल भइरहेको बताउँदै ग्रे लिस्टबाट हटाउन सकिएन भने यसले अर्थतन्त्रमा झनै ठुलो असर गर्ने चेतावनी दिनुभयो । उहाँले कतिपय स्थानीय तहले मापदण्डविपरीत विज्ञापन कर असुल गर्न थालेको उल्लेख गर्दै त्यसबारे जोडतोडले आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सङ्घले यस वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीबारेमा जानकारी गराउनुभएको थियो ।