गोरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतविचको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल र भारत नजिकको साथी भएको कारण कुनै पनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने उल्लेख गर्नुभयो । विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षीण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्न आह्वान गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोगी बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथी हौं । नजिकको साथी भएको हुनाले कहिलेकाहिँ केही इस्युहरुमा समस्या देखा पनि पर्न सक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनै पनि विषय छजस्तो मलाई लाग्दैन ।’
विश्वपरिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेको उहाँले चर्चा गर्नुभयो । त्यो डाइनामिक्सले नेपाल—भारत सम्बन्धलाई र दक्षीण एशियालाई अझ बढी घनिष्ट र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्न आह्वान गरिरहेको छ । भारतले जसरि तरक्कि गरिरहेको छ त्यो तरक्किसँग नेपाल पनि कुनै न कुनै हिसावले जोडिन चाहेको उहाँले धारणा राख्नुभयो ।
छरछिमेकमा आइरहेका विकासहरु सँगसँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरुको चाहना रहेको उहाँले बताउनुभयो । नेपालको विकासको चाहनामा, विकासमा छिटो रुपान्तरण चाहने नेपालको चाहनामा भारत अझै बढी उदार भएर सहयोगी बनोस् उहाँले सुझाव दिनुभयो । फरक प्रसंगमा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताउनुभयो ।