• २५ चैत २०८१, सोमबार

‘नेपाल-भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण’

blog

। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

काठमाडौँ, चैत २५ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारतबिच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभएको छ । 

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याउनुभएको योगदान विषयक अन्तरक्रियामा उहाँले चन्द्रशेखरको भूमिकाको प्रशंसा गर्नुभएको हो । “चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो, “०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।” 

उहाँले चन्द्रशेखरको प्रेरणाले नेपाल-भारतको सम्बन्ध झन् बलियो बनाएको बताउनुभयो । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गर्नुभयो । “भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नुभयो उहाँले । विपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो”, उहाँले भन्नुभयो, “२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।” रासस