• २५ चैत २०८१, सोमबार

केपी ओली कप क्रिकेट : सिइसी काठमाडौँ सेमिफाइनलमा

blog

साेमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), चैत २५ गते । पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ । समूह ‘ए’ को विजेता बन्दै काठमाडौँ अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै ३ खेलमा अपराजित रहँदै ६ अङ्कका साथ समूह विजेता बनेको हो ।

५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौँले ४ दशमवल २ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो । टस जितेर ब्याटिङ थालेको पोखरा १७ दशमलव २ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो । 

सोही समूहको दोस्रो खेलमा हेटौँडा स्पोर्ट्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । १सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौँडाले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रन बनायो । टस जितेर ब्याटिङ थालेको स्याङजा १९ दशमवल ५ ओभरमा १ सय ७६ रन बनाएर अलआउट भएको थियो । 

प्रतियोगिताको चौथो दिन मङ्गलबार समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुनेछ भने सोही समूह अन्तर्गत गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबिच दोस्रो खेल हुने छ । १६ टिमको सहभागिता रहेको प्रतियोगिता वैशाख ५ गतेसम्म चल्ने छ । चार समूहमा १६ टिमलाई विभाजन गरिएको छ भने विजेता टोली सेमिफाइनलमा पुग्ने छ ।