अमरराज नहर्की
तनहुँ, चैत २५ गते । वायु प्रदूषणले गर्दा आँखाका बिरामी बढेका छन् । हाल जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको हो ।
प्रदूषण दिनप्रतिदिन बढेसँगै आँखा रातो हुने, चिलाउने, पोल्ने र बिजाउने समस्या भएका बिरामी बढेको दमौली अस्पतालस्थित गोवर्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्रले जनाएको छ । हाल दैनिक ५० देखि ६० जना आँखासम्बन्धी विभिन्न समस्याका बिरामी चेकजाँचका लागि आउने गरेको केन्द्रको नेत्रसहायक लक्ष्मी चौधरीले बताउनुभयो ।
लामो समयसम्म पानी नपर्दा वायु प्रदूषण धेरै भएकोले बिरामीको सङ्ख्या दैनिक वृद्धि भइरहेको चौधरीले जानकारी दिनुभयो । चौधरीले भन्नुभयो, ‘‘वायु प्रदूषण नरोकिएकोले पछिल्लो केही दिनयता आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढ्दा जनशक्ति अभावले सेवा दिन कठिन भएको छ ।’’ आफू एक जनाले मात्रै परीक्षण गर्न कठिन भएकाले एक जना नेत्र सहायक थप्नका लागि माग गरिएको चौधरीले जानकारी दिनुभयो । पहिला दैनिक २५ देखि ३० जना आउने गरेकोमा हाल दोब्बर पुगेकोले कठिन भएको उहाँको भनाइ छ ।
तनहुँमा प्रदूषणले गर्दा दिउँसै बादल लागेजस्तो बनेर अँध्यारो भएको छ । यहाँ आकाश बाक्लो तुवाँलोले ढाकेको छ । वातावरणीय अवस्थामा सुधार नहुञ्जेल सकभर घरभित्रै बस्ने, धुलो धुवाँमा र घाम नलागेको बेला नहिँड्ने, हिँड्न परेको चस्माको प्रयोग गर्ने र पानी प्रशस्त पिउनु पर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग विस्तारको काम भइरहेको गाडीले सडक अप्ठ्यारो हुँदा धुवाँ धेरै फाल्ने, धुलो धेरै उडाउने, वनमा लागेको डढेलोले धुवाँ र खरानीले वायु प्रदूषण गरेको डा. बरालले जानकारी दिनुभयो । बरालले भन्नुभयो, ‘‘पानी पर्न नसकेकोले गर्दा धुवाँ र धुलोहरू जमिनमा स्थानान्तरण नहुने गरेकोले हाल आँखाका बिरामी बढेका छन् ।’’ मौसम परिवर्तनसँगै आँखा सुक्खा हुने र हावाहुरीले आँखामा धुलो परी एलर्जी हुने भएकाले आँखामा विभिन्न समस्या देखापर्ने गरेको डा. बराल बताउनुहुन्छ ।
धुलोधुँवा उड्ने खालका पेसा, व्यवसाय निर्माण कार्य गर्दा धुवाँधुलो नउड्ने व्यवस्था मिलाउनु पर्ने अस्पतालले जनाएको छ । आँखा चिलाएपछि आँखा मिच्ने र जथाभावी आँखामा हाल्ने औषधी प्रयोग गरियो भने आँखा बिग्रन सक्ने चिकित्सक बताउँछन् ।
आँखा नियमित रूपमा सफा पानीले धुने र घर बाहिर निस्किँदा सुरक्षित किसिमको चस्मा प्रयोग गरियो भने यो समस्या धेरै गम्भीर खालको नभएको नेत्र सहायक चौधरी बताउनुहुन्छ । वायु प्रदूषणले आँखा हेर्न नमिल्ने, पोल्ने र चिलाउने समस्या निम्त्याएको उहाँले जानकारी दिनुभयो ।