• २५ चैत २०८१, सोमबार

सम्पदा संरक्षण गरौँ : राष्ट्रपति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत २५ गते  । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको मेहनत र परिश्रमबाट चिनोका रूपमा रहेका राष्ट्रिय सम्पदा संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभएको छ । ललितपुरको पाटन दरबार क्षेत्र परिसरमा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको आइतबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

उहाँले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्धनमा तिनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पुर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवर्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोका रूपमा रहेका कैयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो ।”

उहाँले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानका रूपमा कैयौँ रमणीय स्थल रहेको उल्लेख गर्दै अनगिन्ती मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको भन्दै स्वदेशी तथा विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताउनुभयो । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पूर्ववत् स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदाहुँदै यो मन्दिर पुनर्निर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाले निर्माण गरेका सम्पदाको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।  देगुतलेजु मन्दिरको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उहाँले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले सम्पदाको महत्वलाई बढाउनुपर्ने बताउनुभएको हो । 

मन्त्री पाण्डेले भन्नुभयो, “संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौँ । हाम्रा पुर्खाले निर्माण गरेका सम्पदाको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ, त्यो गर्नुपर्ने आवश्यक छ ।” उहाँले नेपालको भौगोलिक अवस्था अनुसार प्रकृति विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताउनुभयो । 

मन्त्री पाण्डेले अभौतिक र भौतिक सम्पदा दुई वटालाई जोडेर र जोगाएर सिङ्गो नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो बनाएर जानुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले संसारभरका मानिस नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुनुको साथै नेपालका विविध भाषा, वेशभूषा, संस्कृति चाडपर्वको प्रत्यक्ष अनुभव गर्न पाउने पनि बताउनुभयो । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हाल आफ्नो दोस्रो कार्यकाल भए पनि विश्राम नलिई लगातार विकास निर्माण गर्दै आएको बताउनुभयो । मन्दिरको पुनर्निर्माणका लागि ८० प्रतिशत आर्थिक सहयोग जापान सरकारले गरेको उहाँले जानकारी दिनुभयो ।