• २५ चैत २०८१, सोमबार

सेनाको स्वास्थ्य शिविरबाट २१९ जना लाभाम्वित

blog

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच गर्दै चिकित्सक । तस्बिरः प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत २४ गते । सशस्त्र द्वन्द्वको क्रममा तीनपल्ट भिडन्तको चपेटामा परेको सल्यानको गुराँसे गाउँमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरले बिरामीलाई राहत दिएको छ । 

सेनाको उपस्थितिलाई त्रासको रूपमा लिने स्थानीय अहिले सेनाबाट पाएका सेवाबाट खुसी भएका छन् । श्री सिद्धीबक्स गण, सिमखर्क र १९ नम्बर बाहिनी, तुलसीपुर दाङको संयुक्त आयोजनामा छत्रेश्वरी गाउँपालिका –२, बुरासेटाकुरीमा सम्पन्न शिविरमा २१२ जना स्थानीयले सेवा लिए, जसमध्ये १४५ महिला र ६७ पुरुष रहेका थिए ।

नेपाली सेना सिद्धीबक्स गण सिमखर्कका प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले स्वास्थ्य शिविरमा हाडजोर्नी, स्त्रीरोग, बालरोग तथा नाक–कान–घाँटीसम्बन्धी उपचार सेवा दिइएको बताउनुभयो । उहाँका अनुसार हाडजोर्नीसम्बन्धी समस्या लिएर आएका ५२ जना, स्त्रीरोगसम्बन्धी परामर्श र उपचारका लागि ४१ जना महिलाले सेवा लिएका थिए  । 

यस्तै, ३५ जना बालबालिकाले बालरोग, नाक–कान–घाँटी समस्या बोकेर आएका ३८ जनाले विशेषज्ञबाट उपचार गराएका हुन । शिविरमा १२ जनाको मुटुको इसिजी परीक्षण गरिएको छ । २८ जनाको रगत लगायतका ल्याब परीक्षण गरिएको थियो । जाँचपछि आवश्यक औषधी सबै सेवाग्राहीलाई निःशुल्क वितरण गरिएको छ ।

नेपाली सेनाका ७ जना चिकित्सक, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका ३ जना र छत्रेश्वरी स्वास्थ्य चौकीका ३ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाविचको लडाइँको मारमा परेका गुराँसेवासी नेपाली सेनाले गरको स्वास्थ्य शिविरबाट खुसी भएका छन् । 

छत्रेश्वरी गाउँपालिका–१ गुराँसे निवासी कमला ओलीे पहिले सेना आए डर लाग्थ्यो, अहिले अस्पतालजस्तै लाग्छ । घरमै आएर यस्तो सेवा दिनु भनेको हामीजस्ता दुर्गमवासीका लागि ठुलो कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै आएर स्वास्थ्य शिविरबाट सेवा पायौं ।”

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गुराँसे निवासी चित्रबहादुर केसीले जनताको स्वाथ्यलाई ध्यान दिएर नेपाली सेनाले शिविर राख्नु सकारात्मक भएको बताउनुभयो । 

शिविरको अवलोकन आउनुभएका १९ नम्बर बाहिनी अड्डा, तुलसीपुर दाङका बाहिनीपति सहायक रथी पदमबहादुर बुढा मगरले सेनाको सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा गर्ने उद्देश्यले यो शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गुराँसे अब डरको सन्दर्भमा होइन, सेवा र सहकार्यको सकारात्मक दृष्टान्तका रूपमा चिनिन थालेको छ ।”

द्वन्द्वको समयमा गुराँसेमा विद्रोही र सरकारी पक्षबिच तीनपल्ट भिडन्त भएको थियो । २०५५ मङ्सिर ९ गते झिम्पेमा रहेको टेलिफोनको रिपिटर टावरमा माओवादीले आक्रमण गरेपछि तत्कालीन शाही नेपाली सेना र प्रहरीले गुराँसेमा क्याम्प खडा गरी दुई सातासम्म ‘सर्च’ अभियान चलाएको थियो ।