खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा रहेको छ । सुदूरपश्चिमको प्रमुख प्राकृतिक सम्पदाका रूपमा यस राष्ट्रिय निकुञ्जलाई २०४२ सालमा स्थापना गरिएको थियो । २२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जको मध्यवर्ती क्षेत्र २१६ वर्गकिलोमिटर छ । निकुञ्जको नाम खप्तड बाबाको नामबाट राखिएको हो । खप्तड बाबा यस क्षेत्रमा बस्नु हुन्थ्यो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस राष्ट्रिय निकुञ्जमा सल्ला, खसुर र निगालाको जङ्गलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छ । खप्तडमा ३८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छ ।
यस निकुञ्जमा कालो भालु, चितुवा, बँदेल, मृग, हरिण, रतुवा मृग, कस्तुरी मृग, घोरल, जङ्गली कुकुर, जङ्गली बिरालो, रातो बाँदर, लङ्गुर बाँदरलगायतका स्तनधारी जनावर पाइन्छ । त्यस्तै डाँफे, मुनाललगायत तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पनि पाइन्छ ।
यो निकुञ्ज धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । त्रिवेणी, खप्तड दह, सहस्र लिङ्ग जस्ता स्थान हिन्दु धर्मावलम्बीका पवित्र तीर्थस्थल हुन् । यी स्थानमा गङ्गा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौँ तीर्थयात्रीले मेला भर्ने गर्दछन् । सरकारले खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरेको छ । सुदूरपश्चिम विकास आयोगका अनुसार सुदूरपश्चिमको एक मात्र निकुञ्ज खप्तडभित्र बाबा कुटी, घोडा दाउन पाटन, खप्तड दह, डाँफेकोट, गणेश पाटन, नागढुङ्गा, छित्रेपानीलगायतका क्षेत्र छन् । खप्तड डोटीको सदरमुकाम सिलगढीबाट उत्तर दिशामा २५ किलोमिटर टाढा पर्दछ । सिलगढीबाट गाडीमा एक घण्टा र पैदल आठ घण्टा हिँडेर पुग्न सकिन्छ । बझाङ सदरमुकाम चैनपुरबाट तमैल बजार–बालुखेती–छाङना–लोहखडा हुँदै करिब सात घण्टाको पैदलयात्रापछि पनि खप्तड क्षेत्र पुग्न सकिन्छ ।
सामान्यतया यस निकुञ्जमा मौसम चिसो रहन्छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिएको निकुञ्जमा २२ ठुला पाटन र ५२ झोता (रुखका थुम्का) रहेका छन् । भक्तजन त्रिवेणीधाममा स्नान गर्ने गर्दछन् । मन्दिरमा पूजा गर्ने, सहस्र लिङ्गमा पूजा गर्ने, देउडा खेल्ने, रमाइलो गर्ने आदि गर्दछन् । जनैपूर्णिमामा दहमा स्नान गर्ने, देवीदेवताको पूजाआराधना गर्ने, देउडा खेल्ने, राजा महाराजाको पालाको तरबार र ढाला लिएर विशेष पहिरन लगाई हुड्के नाच नाचिने गरिन्छ ।
यस निकुञ्ज क्षेत्रमा चैतदेखि असार मसान्तसम्म भ्रमण गर्ने गरिन्छ । मेलाको समयमा डडेलधुरा, बाजुरा, डोटी, कैलाली, अछाम, बझाङ, दार्चुलाका साथै काठमाडौँलगायतका स्थानबाट पनि मानिस खप्तड पुग्ने गर्दछन् ।
मनोकामना पूरा हुने, भगवान् रामले दर्शन गरेको क्षेत्र, खप्तड बाबाले ५० वर्ष ध्यान गरेको क्षेत्र, केदार ढुङ्गा, सीता पाइला, खप्तड दह, नागढुङ्गा, सहस्र लिङ्ग केदार धारालगायत यस निकुञ्जका खास विशेषतामा पर्दछन् । त्यस्तै हिमपात, मनमोहक प्राकृतिक दृश्य, हरियो कार्पेट बिछ्याएको जस्तो देखिने पाटन, महìवपूर्ण जडीबुटी पाँचऔँले, सञ्जीवनी, चिराइतोको खानी रहेको छ । साथै प्राकृतिक दृष्टिकोणले निकै सुन्दर भौगोलिक क्षेत्र यो निकुञ्जको गहना हो ।