हामीलाई चाहिएका सामान पसलबाट किन्ने गरिन्छ । ती सामान कसरी बन्छन् वा पसलमा कसरी किन्न पाइन्छ भन्नेबारेमा थाहा पाउनुभएको छ ? विभिन्न किसिमका सामान वा वस्तु उत्पादन गर्ने कारखाना हुन्छन् । तिनलाई उद्योग पनि भनिन्छ । उद्योगले विभिन्न किसिमका कच्चा पदार्थ जम्मा गर्छ । अनि त्यसलाई प्रशोधन गरी उत्पादनका रूपमा तयार पारेर बजारमा बिक्रीका लागि पठाउने गर्दछ ।
बिस्कुटको उदाहरण हेरौँ । किसानले उत्पादन गरेको गहुँलाई पिठो वा मैदा बनाउने कारखानाले किन्छ । त्यसबाट पिठो वा मैदा बनाइन्छ । चिनी बनाउने कारखानाले किसानले उत्पादन गरेका उखु किन्छ । त्यसलाई पेलेर चिनी बनाइन्छ । बिस्कुटमा प्रयोग गरिने पिठो र चिनी छुट्टै कारखानाले उत्पादन गरेका हुन्छन् । पिठो उत्पादन गर्ने कारखानाका लागि गहुँ कच्चा पदार्थ थियो । चिनी उत्पादन गर्ने कारखानाका लागि उखु कच्चा पदार्थ थियो । बिस्कुट उत्पादन गर्ने कारखानाका लागि पिठो र चिनी दुवै कच्चा पदार्थ हो । कच्चा पदार्थलाई मिलाएर वस्तु वा सामान उत्पादन गरिन्छ । त्यसपछि वस्तु वा सामान तयार हुन्छ । तयार गरिएका सामग्रीलाई पसलमा पु¥याइन्छ र पसलबाट मानिसका घर घरमा पुग्छ । जसले वस्तु वा सामान प्रयोग गर्छ उसलाई उपभोक्ता भनिन्छ । हामी बिस्कुटका उपभोक्ता हौँ । किसानदेखि उत्पादकसम्मको चक्रलाई औद्योगिक चक्र भनिन्छ । कुनै पनि वस्तु बनाउनका लागि निम्न चरण पार गर्नु पर्छ ।
कच्चा पदार्थ सङ्कलनः सबैभन्दा पहिले वस्तु बनाउन आवश्यक पर्ने कच्चा पदार्थ जस्तैः काठ, कपास, धातु, प्लास्टिक आदि सङ्कलन गरिन्छ ।
प्रशोधन : सङ्कलित कच्चा पदार्थलाई विभिन्न प्रक्रियाबाट प्रशोधन गरिन्छ । जस्तैः काठलाई काटेर, कपासबाट धागो बनाएर ।
उत्पादन : प्रशोधित कच्चा पदार्थलाई विभिन्न मेसिनको प्रयोग गरी विभिन्न प्रकारका वस्तुमा परिणत गरिन्छ । जस्तैः पिठो र चिनीबाट बिस्कुट तयार पारिन्छ ।
प्याकिङ : तयार भएका वस्तुलाई सुरक्षित राख्नका लागि प्याक गरिन्छ ।
वितरण : प्याक गरिएका वस्तुलाई बजारमा पु¥याउनका लागि विभिन्न माध्यमबाट वितरण गरिन्छ ।
घरमा प्रयोग गरिने इँटा, सिमेन्ट, फलामे छड अथवा जस्तापाता सबै वस्तु उद्योगमा उत्पादन भएका हुन् । चामल, दाल, तेल सामान्य प्रशोधनबाट तयार पारिन्छ । किसानसँग मिलले चामल किन्छ र त्यसलाई मिलमा कुटेर चामल र भुस अलग पारिन्छ । सामान्य प्याकेजिङ गरेर चामललाई बिक्रीका लागि पसल पु¥याइन्छ । यस्ता खालका उद्योगलाई प्राथमिक उद्योग भनिन्छ । यसमा प्रशोधनका धेरै प्रक्रिया हुँदैनन् । कच्चा पदार्थबाट सामान्य प्रक्रिया पूरा गरेरै उपभोगका लागि वस्तु तयार हुन्छ ।
उद्योगको प्रकृतिका आधारमा अथवा लगानीको आधारमा लघु, घरेलु, साना, मझौला र ठुला उद्योग वर्गीकरण गर्ने गरिन्छ । लघु, घरेलु र साना उद्योग भनेको निकै साना उद्योग हुन् । यस्ता उद्योग अधिकांश लगानीकर्ताको आफ्नै घरमा सञ्चालन गरिएका हुन्छन् । नेपालमा एकदेखि १० जनासम्म काम गर्ने यस्ता साना खाले उद्योग करिब पाँच लाख छन् ।
ठुला कम्पनीका रूपमा मझौला तथा ठुला उद्योग सञ्चालन भएका हुन्छन् । यस्ता उद्योगले निकै धेरै परिमाणमा वस्तु उत्पादन गर्छन् र यस्ता उद्योगमा लगानी पनि बढी लाग्छ । यस्ता उद्योगमा धेरै जनाले रोजगारी पनि पाएका हुन्छन् । हामीले प्रयोग गर्ने सबै वस्तु नेपालभित्रै उत्पादन हुँदैन । धेरै खालका सामान अथवा वस्तु विदेशबाट आयात गरिन्छ । नेपालमा उत्पादन हुने कतिपय वस्तु विदेशमा निर्यात पनि गर्ने गरिएको छ ।