• २५ चैत २०८१, सोमबार

भोटबाट सुरु भएको ग्याल्पो ल्होसार

blog

बौद्ध धर्मावलम्बीले मनाउने प्रमुख सांस्कृतिक चाडलाई ग्याल्पो ल्होसार भनिन्छ । यो चाड हरेक वर्ष फागुन शुक्ल प्रतिपदादेखि मनाइन्छ । ल्हो भनेको ‘वर्ष’ अथवा ‘संवत्’ र ‘सार’ भनेको ‘नयाँ’ हो । ल्होसारको अर्थ नयाँ वर्ष हो । ग्याल्पो ल्होसार भोटका नवौँ ग्याल्पो (राजा) उदे गुङ्ग्यालका पालादेखि वसन्त चाडका रूपमा मनाउन सुरु गरिएको भन्ने लोकोक्ति रहेको छ ।

यो वर्ष २१५२ औँ ग्याल्पो ल्होसार देश विदेशमा भव्यतापूर्वक मनाइँदै छ । ग्याल्पो ल्होसारलाई १२ वटा पशुपन्छीका नामबाट छुटाउने गरिन्छ । त्यसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र वराह पर्दछन् । 

शेर्पा सञ्चार समूहका महासचिव तथा पत्रकार डोल्मा शेर्पाले दिनुभएको जानकारी अनुसार यो वर्ष ड्रागन वर्ष (डुक ल्हो) पूरा भई सर्प वर्ष (डुल ल्हो/उड स्नेक) सुरु हुने छ । हिमाली आदिवासी शेर्पा, भोटेलगायतले फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाउँदछन् । ग्याल्पो ल्होसारका दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको छ । २०८१ सालमा ग्याल्पो ल्होसार फागुन १६ गते परेको छ । शेर्पा समुदायमा नयाँ साल आउनुअघि घर, आँगन सरसफाइ गर्दछन् । घरपरिवार जुटेर शान्तिको पूजा गर्दछन् । विशेष प्रकारको खानेकुरा बनाउँदछन् । जसमा नौ प्रकारका गेडागुडी मिसाएर बनाइएको परिकार गुथुकलाई लिइन्छ । गुथुक मकै, भटमास, केराउ, चना, मुला, चामल, आटा आदि मिसाएर बनाइएको परिकार हो । खानेकुरा पहिला भगवान्लाई चढाउँदछन् । 

नयाँ वर्षका पहिलो दिन सबेरै उठेर पानी पँधेँरामा गई हातमुख धुन्छन् । त्यहीँको पानी धाराको पूजा गर्दछन् । धाराबाट चोखो पानी लिएर भगवान्लाई चढाउँछन् । धुपबत्ती बाल्दछन् । पूजापाठ गर्दछन् । अशुद्धलाई शुद्ध होस् भनेर कामना गर्दछन् । 

आँगनदेखि हिमाली पहाड, डाँडा, खोलानाला, नदीमा गई घरपरिवारको दीर्घायु सुस्वास्थ्यको कामना गर्दछन् । विश्व समुदायको सुखशान्तिको कामना गर्दै लुङ्दार (ध्वजा) टाङ्ने गर्दछन् । लामाबाट अभिषेक गराएर लुङ्दार टाङ्ने प्रचलन छ । हिमाली जातिका महिला र पुरुषले पहिरिने आफ्नै किसिमका न्यानो पहिरन हुन्छन् । नयाँ वर्षका दिन विशेष गरी नयाँ पहिरन पहिरिने गर्दछन् । घरका ठुलाबडाबाट आशीर्वाद लिन्छन् । विभिन्न परिकार खाएर रमाउँदछन् । गाउँदेखि सहर पसेकाहरू, विदेशमा रहेकाहरू सबैले ल्होसारको शुभकामना आदानप्रदान गर्दछन् । सामूहिक रूपमा भेटघाट गरेर वनभोज मनाउने गर्दछन् । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार शेर्पा जातिको जनसङ्ख्या एक लाख ३० हजार ६३७ रहेको छ । त्यसमध्ये एक लाख १७ हजार ८९६ जनाले शेर्पा मातृभाषा बोल्दछन् । सूचीकृत आदिवासी जनजाति शेर्पा जातिको सर्वोच्च संस्था नेपाल शेर्पा सङ्घ रहेको छ । 

 मुना  

Author

गणेश राई