• २५ चैत २०८१, सोमबार

चौध किलोमिटर पार गर्न दस घण्टा

blog

दाउन्ने सडकखण्ड ।

बोमलाल गिरी

नवलपुर, चैत २४ गते । पछिल्लो समय नारायणघाट–बुटवल सडकखण्डको कामले तीव्रता पाएको छ । सडक आयोजनाका अनुसार पूर्वी खण्डको ६४ किलोमिटरमध्ये ५० किलोमिटर एकतर्फी कालोपत्रे पनि भएको छ तर दाउन्ने खण्डमा भने सडक विस्तारको काम सुरु गरेसँगै यात्रा निकै कष्टकर बन्न पुगेको छ ।

दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढङ्गले भन्दा पनि आफू अनुकूल काम गर्न सजिलो हुने गरी काम गर्दा यात्रुलाई सास्ती हुने गरेको हो । दाउन्नेको १४ किलोमिटर सडक पार गर्न सामान्य अवस्थामा दुईदेखि चार घण्टा लाग्ने गरेको र पछिल्ला केही दिनयता प्रायः १४ किलोमिटर पार गर्न आठदेखि १० घण्टा लाग्ने गरेको यात्रुले बताएका छन् ।

ठाउँ/ठाउँमा ठुलठुला खाल्टाखुल्टी, दुई फिटसम्मको धुलाम्मे सडक, कलभर्ट निर्माणका लागि काम भएका अधिकांश ठाउँमा एकतर्फी यातायात सञ्चालन आदिले गर्दा दाउन्नेको यात्रा कष्टपूर्ण बनेको हो । जसले गर्दा यात्रुलाई दाउन्ने पार गर्न निकै सास्ती हुने गरेको छ । बुटवलबाट मोटरसाइकलमा नारायणघाट जाँदै गर्नुभएका सन्दीप थापाले आठ घण्टामा कावासोती आइपुगेको बताउनुभयो । दुई दिनअघि कावासोतीबाट बुटवल जानुभएका रामप्रसाद श्रेष्ठले आफू जाँदा नौ र आउँदा नौ घण्टा गरेर १८ घण्टा बाटोमा जाम परेको बताउनुभयो ।

धुलो धुँवाले बाटो देख्नै गाह्रो हुने गरेको छ भने धुलोले निकै सास्ती भएको स्थानीयले बताएका छन् । सडक पूर्ण रूपमा जाम हुने र एकतर्फी रूपमा खुल्ने क्रम नियमित जस्तो भएकोले अहिले दाउन्नेमा २४ घण्टा नै ट्राफिक खटाउन परेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक बन्जाराले बताउनुभयो । प्रहरी निरीक्षक बन्जराले भन्नुभयो, “निर्माणका कारण चार/पाँच ठाउँमा एकतर्फी सञ्चालन भइरहेको छ । त्यसमाथि गाडी बिग्रियो भने त दाउन्ने पार गर्नै सकस हुने गरेको छ ।”

सडक विस्तारका क्रममा रहेको यस सडकखण्डमा पहाड काट्ने, कलभर्ट निर्माण जस्ता कामले हरेक दिन सवारी जाम हुने गरेको छ । साँघुरो सडकमा एउटा सवारी बिग्रिँदा पनि जाम हुने समस्याले यात्रुले सास्ती पाएका छन् ।

सरकारले दिएको दोस्रो समयसीमा अनुसार यही चैतभित्र दाउन्नेसहित सबै ११४ किलोमिटर बाटो एकतर्फी कालोपत्रे गर्नुपर्ने छ । यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमी सडकमध्ये ७० किमी छ लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेनको सडक हुने छ भने बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।