• २५ चैत २०८१, सोमबार

बिम्स्टेकको ऐतिहासिक उपलब्धि

blog

विश्वमा क्षेत्रीय सहयोगको संस्कृति तथा प्रवर्धन पछिल्लो युगको सबैभन्दा सफल कूटनीतिक अभ्यास हुँदै गएको छ । दुई महायुद्धको चपेटापछि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापनासँगै विश्व शान्तिको दियो बल्यो । विश्व संस्था संयुक्त राष्ट्रसङ्घले मानव सभ्यतालाई अकारण युद्धको भयाभयबाट बाहिर ल्याउने प्रयाससँगै शान्ति र सहयोगका निम्ति क्षेत्री संस्थागत पहलसमेत अगाडि बढ्न थाले । युरोप, अमेरिका, अफ्रिका र एसियामा अनेक क्षेत्रीय सहयोगका संस्थागत प्रयास सफल हुँदै गए । त्यसै क्रममा दक्षिण तथा दक्षिण–पूर्वी एसियाली मुलुकबिच सहयोग आदानप्रदान र व्यापार प्रवर्धन गर्ने उद्देश्यले सन् १९९७ मा दक्षिण एसिया र दक्षिण पूर्वी एसिया जोड्ने महत्वपूर्ण सहयोग मञ्च स्थापना भयो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय सहयोगको महत्वपूर्ण मञ्चका रूपमा अगाडि बढ्न थाल्यो । सुरुमा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्डले स्थापना गरेको बिम्स्टेकमा म्यान्मार, नेपाल र भुटान थपिएसँगै यसको आयाम फराकिलो भएको छ । दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई जोड्ने बिम्स्टेकको छैटौँ संस्करणको शिखर सम्मेलन शुक्रबार (चैत २२, २०८१) मा बैङ्ककमा सम्पन्न भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो ऐतिहासिक सम्मेलनमा नेपालको दूरदृष्टिकोण प्रस्तुत गर्नुभयो । शिखरसम्मेलन अघि प्रधानमन्त्री ओलीले थाइल्यान्डको भ्रमण गरी पारिस्परिक सम्बन्धलाई घनिष्ठ बनाउनु भयो । बिम्स्टेक मुलुकका शीर्ष नेतृत्वसँग प्रधानमन्त्रीको भेटवार्ताले नेपालको बाह्य सम्बन्धको आयामलाई फराकिलो पारेको छ ।

नेपाल र थाइल्यान्डबिच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले यसअघि थाइल्यान्डको भ्रमण सम्भव भएको रहेनछ । प्रधानमन्त्रीको तहमा भएको यो पहिलो भ्रमण अति उपयोगी भयो । शिखर सम्मेलनमा सम्बोधन, बैङ्कक घोषणापत्र, शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ता विशिष्ट महत्वका देखिएका छन् । शिखर सम्मेलनले निष्कर्ष ‘बैङ्कक भिजन २०३०’ सार्वजनिक गरेको छ । बैङ्कक भिजन मुख्य गरी दिगो विकास लक्ष्यसित आबद्ध छ । यसले क्षेत्रीय विकास आयामलाई फराकिलो पार्ने छ । क्षेत्रीय व्यापार विस्तार, कनेक्टिभिटी तथा मानव सुरक्षालाई बैङ्क भिजनले उच्च प्राथमिकतामा राखिएको छ । त्यसै गरी समुद्री सम्पर्क र व्यापार अभिवृद्धिलाई महत्व दिएको छ । शिखर सम्मेलनको पूर्वसन्धामा म्यानमार र थाइल्यान्डमा भूकम्पबाट ठुलो जनधनको क्षति भयो । राहतमा सबै देशबाट सहयोगको प्रतिबद्धता बिम्स्टेकमा व्यक्त भयो । बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्रको अभाव थियो । सो संयन्त्रको स्थापनालाई पनि सम्मेलनले स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने स्पष्ट पार्नुभयो । उहाँले समृद्धि, लचिलो र खुलापन जस्ता बिम्स्टेक सम्मेलनका आधार प्रस्ट्याउनुभयो । दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षाको सविस्तार क्रममा नेपालको दृष्टिकोण समग्रमा मानवीय विकास आयामसित आबद्ध देखिएको छ ।

शिखर सम्मेलनका क्रममा बिम्स्टेक मुलुकका शीर्ष नेतृत्वसितको भेटवार्ता उच्च कूटनीतिक महत्वको छ । यसले सम्बन्ध विस्तारका नवीन आयाम देखाएको छ । सोही क्रममा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभयो । भेटवार्ता सार्थक र सकारात्मक भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको सो भेटवार्ताबारे सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो । हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो । यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।’’ दुवै नेताबिच यसअघि गत असोजमा न्युयोर्कमा भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कको भेटवार्तालाई बैङ्ककले निरन्तरता दिएको छ । बैङ्कक भेटवार्तालाई भारतले पनि उच्च महत्व दिएको देखिएको छ । सो भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘‘बैङ्ककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ ।’’ निष्कर्षमा बिम्स्टेकको शिखर सम्मेलन नेपालका निम्ति बहुआयामिक तवरले नै ऐतिहासिक देखिएको छ । नेपालको देशीय लक्ष्यसित आबद्ध हुने बिम्स्टेक घोषणापत्र सहयोगका विस्तारको नयाँ आयाम हुने छ । पर्यटन प्रवर्धन, शिक्षालगायतका क्षेत्रमा थाइल्यान्डसित अझै नेपालको घनिष्टता बढ्ने छ । बैङ्ककको यो ऐतिहासिक उपलब्धिलाई नेपालले संस्थागत कार्यरूप दिन भने कमीकमजोरी गर्नु हुन्न ।