गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधानबाहिर कोही पनि जान नसक्ने बताउनुभएको छ । शनिबार पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिद्वारा ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले यतिबेला देशको संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति लागेका बताउनुभयो । पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको उहाँको धारणा छ ।
राजावादीले संसद् भवन र पेट्रोल भण्डारण स्थल तथा अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लगाउने खालका आतङ्कपूर्ण गतिविधि गरेका पोखरेलले बताउनुभयो । यो आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको धारणा पोखरेलले सुनाउनुभयो । “काठमाडौँमा प्रदर्शनका नाममा जुन हर्कत भए, ती आपराधिक, संविधानविरोधी र जनविरोधी क्रियाकलापका रूपमा भएका छन्,” उहाँले भन्नुभयो ।
सभाका नाममा आतङ्क मच्चाउन भिडलाई निर्देशित गर्ने काम राजावादीले गरेको उहाँले बताउनुभयो । यो घटनामा पूर्वराजा ज्ञानेन्द्र उम्कन नसक्ने उहाँको धारणा छ । नवराज सुवेदी र दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर आन्दोलनको नाइके बनाउने पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गतेको घटनाको सबै जिम्मा लिनुपर्ने उहाँको धारणा छ । “१५ गतेका दिन नेपालको लोकतान्त्रिक आन्दोलनका लागि कालो दिन हो, यो घटनामा संलग्नलाई दण्डसजाय हुनु पर्दछ,” उहाँले भन्नुभयो ।
पोखरेलले समाजमा असल कुरा स्थापनाका लागि असललाई असल र खराबलाई खराब भन्न सक्नुपर्ने बताउनुभयो । पञ्चायतको समयमा नेपाली जनताले पेटभरि खान नपाएको स्मरण गराउँदै उहाँले अहिले पनि त्यो व्यवस्था ठिक र अहिलेको व्यवस्था गलत भन्ने भ्रम फिँजाउँदा पनि त्यसलाई चिर्न नसक्नु विडम्बनाको कुरा भएको बताउनुभयो । पञ्चायतमा ४९ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उहाँले स्मरण गराउनुभयो । “अहिले विश्व बैङ्कको रिपोर्ट अनुसार दक्षिण एसियामा सबैभन्दा बढी खानलाउन पुग्ने जनसङ्ख्या नेपालको हो, परिवर्तन यत्ति धेरै भएको छ, खालि केही भएन भनेको छ, अनेक हल्ला गरेको छ,” उहाँले भन्नुभयो ।
सचेत नेपालीले सत्यतथ्यका आधारमा बहस गर्नुपर्ने उहाँको धारणा छ । ५२ वर्षको औसत आयु बढेर ७२ वर्ष पुगेको, बाल र मातृ मृत्युदर अति न्यून भएको, साक्षरताको स्थितिमा यसबिचमा व्यापक सुधार भएको, असमानताको खाडल पुरिँदै गएको, आर्थिक वृद्धिदर बढेको, विकासका कामले छलाङ मारेकोलगायतका उदाहरण प्रस्तुत गर्दै उहाँले केही भएन भन्नेलाई यी तथ्यमा टेकेर जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउनेहरू अपराधी भएको बताउनुभयो ।