विस्तारित आयाममा कलम चलाउने कथाकार शिवप्रसाद जैशी खतिवडाको कथासङ्ग्रह ‘घटको रैबार’ बजारमा आएको छ । भुँडीपुराण प्रकाशनमार्फत बजारमा आएको यस कथासङ्ग्रहमा ‘अड्तो’, ‘भुटीकुटी’, ‘घट’, ‘दीक्षा’, ‘नचिनेको घर’, ‘नपसेको घर’, ‘पेसी’, ‘सुर्ता’, ‘तितीक्षा’, ‘सम्धी फर्केनन्’, ‘डोर’, ‘जङ्गे’, ‘माइठर्नी’, ‘काउले’, ‘मणि’, ‘सन्तबहादुरको जागिर’,
‘उलालट्टो’, ‘सपनाको सिकार’, ‘निद हराएको रात’, ‘खुसी’, ‘गमारे’ र ‘रैबार’ गरी सुदूरपश्चिमको समाजकेन्द्रित २२ वटा कथा छन् । सुदूरपश्चिमको पहाडी भूभागका भुक्तभोगी जानकार भएकाले पनि होला, यस सङ्ग्रहका हरेक कथामा सुदूरपश्चिमको धरातल र त्यहाँको समाजको सुगन्ध छर्नुभएको छ कथाकार खतिवडाले । कथा पढ्ने जोकोही कथाका पात्रसँगै सुदूरपश्चिमका भेगहरूमा आफैँ पुगेर ती पात्रसँग साक्षात्कार गरिरहेको आभास गर्न पुग्छन् ।
सङ्ग्रहको पहिलो कथा ‘अड्तो’ सुदूरपश्चिममा बोलिने स्थानीय भाषामै लेखिएको छ । यसमा एक आमाले छोरालाई निष्ठावान् भएर बाँच्न र मरणोपरान्त बिनादाग रहन अर्ती उपदेश समावेश छ । कथा सबैले बुझ्ने भाषामा भएको भए यसको सार सुदूरपश्चिममा मात्रै सीमित रहने थिएन कि भन्ने लाग्छ ।
दोस्रो कथा ‘भुटीभुटी’ बालमनोविज्ञानमा आधारित रहेर संवाद शैलीमा लेखिएको छ । यसमा समाजका मानिस अन्तर्वि्रmया गर्ने व्रmममा कसरी बोलाउँछन् भन्नेदेखि मानिसको थर, पेसा समाजको छुवाछुतलगायतका अति कठिन संरचना बालमस्तिष्कको नजरियाबाट छिचोल्न खोजिएको छ । कथामा लेखिएको छ, “रामेले सोच्यो– यो तल्लो जात र मल्लो जात भनेको के होला ? कसैको पानी खान हुन्न भनेको के होला ? आमालाई सोध्न पनि कति सोध्नु ? नसोध्नु, कसरी जान्नु ? आमा जिन्दगी जान्नु पर्छ भन्नुहुन्छ । मैले कहिले जिन्दगी जानिसक्ने होला ? छिटो छिटो जान्न पाए हुन्थ्यो, कति समय पो लाग्ने हो ?”
‘घट’ शीर्षकको कथा संवाद शैलीमा लेखिएको छ । यस कथामा तथाकथित उपल्लो जात र तल्लो पानी नचल्ने जातबिचको प्रेमसम्बन्धलाई हेर्ने सुदूर समाजको दृष्टि हुबहु उतारिएको छ । कथाकारले प्रेम गरेबापत जातपातको विभेदमा जकडिएको समाजले कसरी प्रेमको प्रतिफल निमोठेर फाल्छ र त्यै तथाकथित ठुलो जात चोखिन पाउँछ भनेर समाजको अन्धविश्वास देखाउन खोज्नुभएको छ । ‘अड्तो’, ‘भुटीभुटी’ र ‘घट’ कथा अरू कथाभन्दा सुदूरपश्चिमको भूगोल, भाषा, संस्कृति र समाज उधिन्ने कथा बनेका छन् ।
‘दीक्षा’ कथामा प्रेम दर्साउने बाहिरबाट आएको पात्रलाई यही समाजकै पात्रले यसरी पनि पाठ सिकाउन सक्छन् भन्ने उदाहरण पेस गर्नुभएको छ कथाकारले । ‘नचिनेको घर’ शीर्षकको कथामा सधँै मिलिरहेका गाउँले मनहरू राजनीतिक कारणले फाट्न उक्साएको परिचित्र सिर्जना गरिएको छ, जसमा एक भागमा पढ्नका लागि सहर छिरेको निरीह लाग्ने छात्रको कथा समेटिएको छ ।
शीर्षकबाटै अन्दाज गर्न सकिने ‘पेसी’ कथाले न्यायका लागि अन्तिम आस राखेर न्यायालय धाउने नागरिक सम्बन्धित निकायबाट कति प्रताडित छन् भन्ने विषय प्रस्फुटन गराएको छ । “म जन्मनुभन्दा छ वर्षअगाडि बाजेका पालामा यो मुद्दा दर्ता भएको रहेछ । आज म ६० वर्षको पुगेँ । आज मेरो जन्मदिन । एक वर्षले बुढो भइयो । मुद्दा भने ६६ वर्ष लागेछ । ...न्यायका लागि छोरालाई सुम्पन मन त छ । छोराले मान्ला कि नमान्ला ।” कथाको यो अंशले पुस्तौँपुस्ता न्याय नपाएको तितो यथार्थ सङ्क्षेपीकरण गर्छ ।
‘सुर्ता’ कथाले प्रशासनिक क्षेत्रको अकर्मण्यतालाई विषयवस्तु बनाएको छ । ‘सम्धी फर्केनन्’ शीर्षकको कथामा समाजको एकातर्फ र अर्कातर्फको भूखण्डमा प्रचलित संस्कार एवं संस्कृतिका कारण सम्बन्ध जोडिन्छ तर त्यो भावनात्मक रूपमा दीर्घकालीन हुन नसकेको यथार्थ पस्किएको छ ।
‘डोर’ शीर्षकको अर्को कथामा बर्सौंअघि सामन्तकालीन समाजमा हुने प्रहरी प्रशासनको त्रास र रवाफको फेहरिस्त छ; जसलाई वर्तमान परिवेशसँग तुलना गर्दै अहिलेको समाजलाई अराजकताउन्मुख देखाइएको छ ।
‘जङ्गे’ कथा गणतान्त्रिक नेपालका प्रशासनिक निकायमा सरकारसँगै फेरिने हाकिम र तिनीहरूको स्वार्थ पूरा गर्न हाकिम र कर्मचारीसँग हुने नाजायज सम्बन्धको वरपर लेखिएको छ । कथामा एउटा प्रसङ्गमा उल्लेख छ, “हाकिम अर्थात् जङ्गे । तरुनीप्रिय... समावेशी उमेर, जात, धर्म, पेसा, तह, ओहदा हेर्दैनन् । ...मन्त्री, प्रधानमन्त्रीसँगको सम्बन्धको व्यापार राम्रै चलाए । मेरो अस्थायी करारको एक महिना बाँकी हुँदा मेरानजिक आउन थाले... ।” ‘माइठर्नी’ अशिक्षा, रूढिवादी र अल्पज्ञानमा रुमल्लिएको नेपाली समाजको मनोदशा र शिक्षा प्रणालीमा सम्बन्धित कथा हो । सामाजिक कुप्रथासँगै राजनीतिक कुरूपता सजिलोसँग पात्रमार्फत पस्कन सक्नु कथाकारको सशक्त पक्ष हो ।
मणि समाजका धूर्त र फटाहाले सोझासाझालाई ठगिरहेको कथा हो भने सन्तबहादुरको जागिर देशभित्रै बसेर काम गर्न चाहने युवालाई विदेश पठाउन बाध्य पर्ने दलालको हर्कत र तिनीहरूको शक्तिमा बुनिएको कथा हो ।
निर्दोष व्यक्तिलाई अपराधी साबित गरेर जागिर छुटाउने प्रसङ्गमा ‘उलालट्टो’ कथा रचिएको छ भने देशभित्रै उद्यम गरेर रमाउने सपना तुहाएर बिदेसिन बाध्य बनाइएको पात्रको नियति सपनाको सिकार कथामा छ ।
त्यसै गरी नियात्रा हो कि झैँ लाग्ने कथा हो, ‘निद हराएको रात’ । यसमा कथाकारले नेपाल समृद्ध भएको परिकल्पना रमाइलो पारामा गर्नुभएको छ । पूर्वदेखि पश्चिमसम्म नेपाल निकै समृद्ध भइसकेको कथा कल्पनामा बुन्दै गर्दा कथाकारको यो कथा केही लामो भएको महसुस हुन्छ तर कथा पढ्ने जोकोही कुनै दिन नेपाल यस्तो पनि होला है भन्ने कल्पनामा आफैँ भुल्न पुगेको पत्तै हुन्न । यस कथामा कथाकारको बेजोडको यथार्थजडित कल्पनाशक्ति वास्तवमै अद्वितीय छ ।
त्यसै गरी कथासङ्ग्रहका अन्य कथामा खुसीले खुसी प्राप्तिको दार्शनिकता वर्णन गर्छ भने ‘गमारे’ शीर्षकको कथामा विज्ञानको चामत्कारिकता देखाउन खोजिएको छ । कथाको अन्तिम कथा ‘रैबार’ मा आफ्नो माटो नबिर्सन र आफ्नो ठाउँ, परिवेश संरक्षण गर्न आह्वान गरिएको छ ।
कथासङ्ग्रहको भूमिका लेखक नरनाथ लुइँटेलका अनुसार सङ्ग्रहका कथामा कुनै न कुनै रूपले अनेकन दृश्य आएका छन् । राजनीतिले बिथोलेको विकासको विद्रुप तस्बिर, आममानिसमा पिर्सोलिएका आकङ्क्षा, दैनिक जीवनमा आइपर्ने अर्थशास्त्रका पहलुहरू र संस्कृतिका अनेक झिल्का ।
“मानिसले उसको जीवनचव्रmमा जे जति उपलब्धि हासिल गरे पनि अन्त्यमा उसलाई यो सुन्दर संसारको यात्राका लागि योगदान गर्ने मातापिता, उसको पृथ्वीमा आगमनको पहिलो बास र पहिलो परिवेश सम्झिन्छ,” कथासङ्ग्रह कसरी जन्म्यो त भन्ने प्रसङ्गमा कथाकार खतिवडा भन्नुहुन्छ, “यी र यस्तै अनुभूतिका आधारमा ‘आमाको पहिलो अर्तिदेखि अन्त्यमा मातृमाटोको सन्देशसम्म जम्मा २२ थान के हुन् कुन्नि जन्मे । मेरा घटले यिनलाई कथा मानेका छन् ।” पुस्तक पढ्दै गर्दा यतिचाहिँ भन्न सकिन्छ, ‘घटको रैबार’ कथासङ्ग्रह कथाकार शिवप्रसाद जैशी खतिवडाको सुदूरपश्चिमको समाजको समग्र पाटो चिरफार गरिएको सुन्दर सङ्ग्रह हो । आमाको पहिलो अर्ति दिने कथादेखि मातृभूमिको सन्देश दिने कथा सबै पठनीय छन् भने समग्र ‘घटको रैबार’ कथासङ्ग्रह प्रशंसनीय र सङ्ग्रहनीय छ । सर्वाधिकार कथाकारमा रहेको २४१ पृष्ठको कथासङ्ग्रह ‘घटको रैबार’ को मूल्य पाँच सय रुपियाँ रहेको छ ।