• २३ चैत २०८१, शनिबार

जरो खोज्दै दैलेख र अछाम

blog

धनञ्जय गोत्री रिजाल बन्धुहरूले दैलेखमा राखेको पूजा र बन्धुमिलन कार्यक्रममा सहभागी हुन निम्तो आएपछि मनमा एकखालको कौतूहल, उत्साह र अनेकथरी जिज्ञासा उम्लन थाले । आफ्नै पुर्खाको इतिहास खोजी गरिरहेको र त्यो खोज्न जुम्ला, दैलेख पुग्नैपर्ने परिस्थितिले मलाई त्यो निम्तो छाड्ने सुविधा थिएन । केही सोच्दै नसोची त्यता जाने मनस्थिति एकाएक बन्यो । काठमाडौँबाट सुर्खेतसम्म जहाजमा र त्यहाँबाट जिप लिएर दैलेख र अछामको यात्रा तय भयो ।

दुई वर्षअघिको घटना हो, अछाम जिल्लाको विनायकसम्म पुगेर पनि गाडीमा समस्या आएपछि त्यहाँको भ्रमण गर्न सकिएको थिएन । यस पटक नेपाल सरकारका पूर्वसचिव युवराज भुसालको नेतृत्वमा धनञ्जय गोत्रीय समाजका अन्य पदाधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा प्रेमबहादुर कुँवर, पिएचडी स्कलर यादव हुमागाईं र इतिहास अध्येता तथा लेखक पुण्य रिजालसहितको टोली काठमाडौँबाट बाहिरियौँ । 

यस पटकको भ्रमाणमा संस्कृतका ज्ञाता पण्डित तिलक रिजाल (हुमागाईं) हामीसँगै जाने हुनुभयो । उहाँ पनि यात्रामा सहभागी हुने जानकारीले हामी निकै उत्साहित थियौँ । पूर्वीय दर्शनका ज्ञाता व्यक्तित्व रिजालको ज्ञान र विद्वताका कारण यात्रा अवधिभर शास्त्रास्त्रमै केन्द्रित भइयो । उहाँसँग यात्रामा बितेका चार/पाँच दिन हाम्रा लागि निकै फलदायी बन्यो ।

पहिलो दिन दैलेख श्रीस्थान क्षेत्र हुँदै रिजुगाउँ पुग्यौँ । त्यस दिन देशभरका रिजाल बन्धुहरू भेला भएर विन्दवासिनी मन्दिरमा त्रिशूल स्थापना र विशेष पूजा तथा बन्धुमिलन कार्यव्रmममा सहभागी भयौँ । सो दिन ज्ञानमणि नेपालले सञ्चालन गर्नुभएको नारेश्वर उद्यमशील माध्यमिक विद्यालयको छात्रावासमा बस्ने अवसर मिल्यो । उहाँले दैलेखको दुल्लुमा अत्यन्तै सुन्दर विद्यालय सञ्चालन गर्नुभएको रहेछ । सहरबाट केही टाढा ‘सिप सिक्दै र पढ्दै’ भन्ने अवधारणा अनुसार कृषि, सिलाइ, घरेलु उद्यमलगायत व्यावहारिक ज्ञान दिने उद्देश्यले उद्यमशील विद्यालय सञ्चालन गरिएको रहेछ । दुई/तीन सय रोपनीमा फैलिएको सो विद्यालयले छात्रावासमा बस्ने विद्यार्थीलाई खान पुग्ने तरकारी, धानखेती, गाईपालनलगायतका उत्पादन तथा सिपमूलक कामबाट आत्मनिर्भर बनाउने प्रयास भइरहेको रहेछ । उहाँले हामीबिच सहयोगको अनुरोध भनौँ या समस्या राख्नुभयो, “अङ्ग्रेजी पढाउने गतिलो शिक्षक यता पाइन्न । शिक्षक नहुँदा समस्या भएको छ । लौन कोही स्वयम्सेवक शिक्षक पाए निकै मद्दत हुने थियो ।”

दुल्लु बसाइपछि दोस्रो दिनको यात्रा अछामको तोसी धमालीबाट सुरु ग-यौँ । 

आफ्नै प्रश्नले डो-याएपछि 

दैलेख र अछामको यात्रा एउटा उत्तरको खोजीमा केन्द्रित थियो । दसबर्से नेपाल सरकारको जागिर र त्यसपछिको सव्रिmय पत्रकारिताको पनि तीन दशक पूरा हुन लाग्यो । पत्रकारितामा लागेपछि दुनियाँका धेरै कुरा जानियो । ज्ञान, विज्ञान, अर्थशास्त्र, पत्रकारिता, समाजशास्त्र, अध्यात्मलगायत समाजका धेरै विषयमा थोरबहुत जानकारी भयो । यसबिचमा अरूलाई हजारौँ प्रश्न गरियो तर अचानक एक दिन मेरो मनमा एउटा प्रश्न आयो– म को हुँ ? मेरो पुर्खाको इतिहास के हो ? यस्तै प्रश्नसँगै मनमा एउटा अनुमान थियो– हामी पक्कै पनि कुनै उन्नत सभ्यताका सन्तति हौँ । हाम्रा पुर्खाको पक्कै पनि गौरवशाली संस्कृति र इतिहास हुनु पर्छ । कालान्तरमा अनेक उतारचढावका कारण केही पुस्ताले खोतीपाती, पशुपालन र सामान्य जजमानी वा जीवन निर्वाहमा मात्र आफूलाई सीमित गरेका होलान् । यही प्रश्नको उत्तर खोज्न ‘मेरो थर हुमागाईं कसरी हुन गयो ? हाम्रो धनञ्जय गोत्र परिवारभित्र को–को छन् ? यो परम्परा कसरी सुरु भयो ? हामीले मानिआएका देवीदेवता र पूजाआजाको इतिहास के छ ?’ भन्ने विषयमा खोजी सुरु गरेँ । आफूभन्दा पाकासँग सोध्न थालेँ । धेरैको जवाफ थियो, “हाम्रा पुर्खा नितु पाध्यायले काभ्रेपलाञ्चोक जिल्लाको काभ्रेभञ्ज्याङमा थुप्रै गाई पालेर गाईको घिउबाट दैनिक नित्य हवन गर्ने गरेको र कुनै मल्ल राजा सोही बाटो सिन्धुली हुँदै पूर्वी तराईतिर ओहोरदोहोर गर्दा उहाँको कामबाट प्रभावित भएर हुमागाईं उपाधि दिएको भन्ने सुनियो ।” 


यसै किंवदन्तीलाई आधार मानेर खोज्दै जाँदा काभ्रेभञ्ज्याङमा रहेको नित्योदय महादेवको मन्दिरछेउमै १८१६ सक संवत् अथवा १९५१ विव्रmम संवत् वैशाख शुक्ल पक्ष बुधबार हस्त नक्षत्रका दिन राखिएको शिलालेख फेलाप-यो । संस्कृत भाषामा लेखिएको शिलालेखको लिपियान्तर र अनुवाद राष्ट्रिय अभिलेखालयले आधिकारिक रूपमा दस्तुर लिई गरिदिएको हो– 

....भक्तपुरका धार्मिक राजा जगतज्योतिको राज्यमा नित्योदय नामका ब्राह्मण थिए । ती राजाले अत्यन्त मनोरम भूमि नित्योदयलाई प्रदान गरे । त्यस भूमिमा ब्राह्मणपुत्रहरूको इच्छाले । कान्छा दामोदरका छोरा मार्कण्डेय, मार्कण्यका छोरा पद्मावती, उनका छोरा चन्द्रमन्युका पालामा तलाउ 

(आहाल) निर्माण गरेर आफ्नो भूमिलाई अमृतमय बनाए.... 

यस्तै लेखिएको पाइयो । यसबाट सो भूमि भक्तपुरका राजा जगतज्योति मल्लले दिएको स्पष्ट भयो तर हुमागाईं थर वा गाई पालेको, हवन गरेको कुरा पुष्टि भएन । 

तीन न तेह्रको प्रसङ्ग

खसान क्षेत्रबाट ब्राह्मणहरू कसरी उपत्यका प्रवेश गरे भन्ने विषयमा एउटा रोचक किंवदन्ती प्रचलनमा छ । अहिले पनि कसैलाई काम नलाग्ने भन्नुपर्दा ‘तँ तीन र तेह्रको भइस्’ भन्ने प्रचलन छ । एक पटक उपत्यकाका मल्ल राजाहरूलाई धर्मशास्त्रमा पोख्त पण्डितहरूको खाँचो भएछ । उनीहरूले दरबारमा पूजापाठ, विधिविधान गर्न जान्ने ब्राह्मण खोजी गर्दै दैलेख, अछाम क्षेत्रका ब्राह्णलाई झिकाएछन् । यसक्रममा पहिलो पटक एउटा समूह आएछ, त्यसमा शास्त्रास्त्र गर्न लगाएर छनोट गर्दा तीन जना ब्राह्मण छानिएछन् । उनीहरूलाई उपत्यकाका तीन वटै दरबारमा राजगुरुको जिम्मेवारी दिइएछ । पछि रैतीहरूका लागि पनि ब्राह्मणको खाँचो भए छ र फेरि अर्को पटक ब्राह्मण झिकाइएछ । त्यो समूहमा आएकामध्ये १३ जनालाई छनोट गरेर रैतीको सेवामा खटाइएछ । तर यस विषयमा आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।

काभ्रे हुँदै दैलेखको हुमेगाउँ

खोजकै क्रममा हुमागाईंको उत्पत्ति दैलेख जिल्लाको तत्कालीन रावतकोट गाउँ विकास समितिमा रहेको हुमेगाउँबाट भएको भन्ने जानकारी पाएँ । दैलेखको हुमेगाउँका बासिन्दा पण्डित तिलक रिजालसँग सम्पर्क गरेँ । उहाँले ‘तत्कालीन राउतकोट गाउँ विकास समितिमा हुमेगाउँ रहेको र त्यहाँका हुमागाईंहरू अधिकांशले रिजाल लेख्ने गरेको’ बताउनुभयो । 

यो आधारमा यही खोजलाई निरन्तरता दिन हुमागाईं समाज नेपाल नामक संस्थै गठन गरी दर्ता गरियो । अन्य बन्धुसँगै आफ्नो पुर्खाको उत्पत्तिसम्बन्धी खोजलाई अभियानकै रूपमा अघि बढाइयो । यसै क्रममा दुई वर्षअघि यादव हुमागाईं र मिठाराम हुमागाईंसहितको टोलीले दैलेखको हुमेगाउँको अध्ययन भ्रमण गरेका थियौँ । दैलेख जिल्लाको रावतकोटस्थित हुमेगाउँ, श्रीज्वाला क्षेत्र, पञ्चदेवल, पादुकास्थानलगायत दैलेख दुल्लु, पञ्चकोशी क्षेत्रका थुप्रै सांस्कृतिक, पुरातात्त्विक महत्त्वका क्षेत्रको स्थलगत अवलोकनको अवसर जुरेको थियो । 

सो क्रममा दैलेखमा श्री ५ रणबहादुर शाहबाट विसं १८५२ साल भाद्र कृष्णपक्ष त्रयोदशी तिथि शुक्रबारका दिन नेपाल एकीकरणका क्रममा यसअघि जुम्ला वा खस राज्य अन्तर्गत रहेका दैलख तथा दुल्लु क्षेत्र गोरखा राज्य अन्तर्गत आएपछि यसअघि तत्कालीन राजा जितारी मल्लले विसं १३३५ मा दिएको लालमोहरलाई खिची रणबहादुर शाहले नवीकरण गरेको नयाँ लालमोहर फेलाप-यो । सो लालमोहरलाई पुण्य रिजालले आफ्नो पुस्तक धनञ्जय सन्ततिबाटमा लिपियान्तर गर्नुभएको छ । सो लालमोहरमा लेखिएको छ–


...आगे दुल्लुका ब्रह्मण जगन्नाथ आचार्य, माहादेव पाध्या रनुखानु भाउदास पाध्या रिजाल, पशुपाध्या, डाँगरगाउँ चिरु पाध्याय हुमागाईं, दहथानका मनुपाध्या नेपाल, सुपारी पाध्या नेपाल, सिमगाउँ चन्दु्र पाध्याय नेपाल, सिरु पाध्याय पोखरेल, इन्द्रमणी पाध्याय पोखरेल, सदुपाध्याय लम्साल, बढा दाहाल, गंगु पाध्याय रिमाल, पाथर्नाउल्या बयालकोटको भदु्रपाध्याय भट्टराई, गोलुपाध्यय कोइराला, मनिकण्ठ पाध्याय भूत्र्याल जैसी, बाडो शिवदास जैसी वास्ताकोटी, बलिपाध्याय सापकोटा, खराल यति पंचकोशी भित्र तिमी ब्रम्हणहरूका पूर्खालाई अघिका जितारी मल्ल मलै बम राजाले शिलापत्र ताम्रपत्र लेखि.................... साक्षी राखी बिर्ता वितलव गरी दियाको अघिका राजा राजाले नह-याको (..) का किल्ला भित्र आजसम्म चलन चली आएको जग्गाका अमालीलाई परापूर्वदेखि मानी आयाका रीतले मान्य गर आफ्ना खातिर जामासित बीर्ता वितलब जानी भोग्य गर हाम्रो सोझो चिताइ आर्शिवाद दिन्या गर इतिसंवत १८५२ साल अधिक भद्रवदि १३ रोज छ मुकाम कान्तिपुर शुभम...। 

मार्फत अभिमान सिंह रुजु त्रिभुवन खवास


उक्त लालमोहर हेर्दा थुप्रै बाह्मण थरको उत्पत्ति सोही क्षेत्रबाट भएको पुष्टि हुन आउँछ । यही भ्रमणका सिलसिलमा स्थानीय बुद्धिजीवी हरिसिंह थापा, गोरखापत्रका दैलेख समाचारदाता विशाल सुनार, पत्रकार नेत्र शाहीलगायतसँग करिब तीन घण्टा इतिहास खोजकै विविध विषयमा छलफल गरिएको थियो । सो छलफलमा खस राज्यका राजधानीआसपासका क्षेत्रबाट बाहुन, क्षेत्री समुदायका अधिकांश थरको उत्पत्ति भएको जानकारी पाइएको थियो । 

राजस्थानदेखि तोसी धमाली 

धनञ्जय गोत्रीका पुर्खा फैलनेक्रममा सुरुमा भारतको राजस्थानको चित्तौडगढबाट नयाँ दिल्ली र उत्तराखण्ड हुँदै तोसी धमालीमा आएको स्थानीय धमलाहरूको भनाइ पाइयो । हाल तोसी धमालीमा करिब तीन सय घर धमलाको बसोवास रहेको पाइन्छ । सो ठाउँको नाम धमाली रहनुको पनि रोचक प्रसङ्ग स्थानीयबिच किंवदन्तीका रूपमा रहेको छ । धनञ्जय गोत्रीय बाह्मण रामेश्वर उपाध्याय तन्त्रविद्यामा पोख्त थिए । हालको तोसी धमाली क्षेत्र कुनै बेला सुक्खा र निर्जन भूमि थियो । तर रामेश्वर उपाध्यायले तन्त्रसाधनका बलमा त्यहाँ दुई वटा धाराको उत्पत्ति गराए र बासोवासयोग्य बनाए । अहिले पनि सो स्थानमा मुनधारा र मुग्राधारा रहेका छन् । शास्त्र र तान्त्रिक ज्ञानमा पोख्त र स्थानीय धामीहरूलाई पनि नियन्त्रणमा राख्न सक्ने उहाँको क्षमतालाई कदर गर्दै स्थानीय पोख्या राजाले धमाला उपाधि दिइएको र उहाँलाई राजगुरुका रूपमा दरबारमा स्थान दिइएको विश्वास छ । पछि तिनै धमलाहरूले खस राजालाई रिजाई दैलेखको रनुखानुमा बिर्ता पाएको र सोही बिर्तामा बस्नेलाई रिजाल भन्न थालिएको विश्वास छ । रिजालमध्येका एक भाइले पञ्चकोशीको श्रीस्थान ज्वाला क्षेत्रमा होम र पाठ गर्ने काम गर्ने जिम्मा पाएको र होमारो वा होम गर्ने ब्राह्मण बस्ने गाउँलाई हुमेगाउँ भन्ने गरेको लालमोहर तथा स्थानीयको भनाइबाट पुष्टि हुन्छ । अहिले पनि श्रीस्थानको ज्वालामा हुमेगाउँका ब्राह्मणले नै पाठकीका रूपमा दैनिक होम पूजा पाठ गर्दै आएका छन् । उनीहरूले जितारी मल्लको पालादेखि अहिलेसम्म पनि आफ्नो जग्गाको तिरोभारो केही तिर्नु पर्दैन । रिजाल, गुरागार्इं, धमला, बस्याल, भुसाल, मरासिनीलगायतका धनञ्जय गोत्रीबाहेकका कोइराला, नेपाल, भट्टराईलगायत थुप्रै थरको उद्गम स्थल मानिएका विभिन्न गाउँ दैलेखमा छन् । यी समग्र थरको उद्गम दैलेख, अछाम, जुम्लालगायत तत्कालीन खस साम्राज्यको राजधानी रहेको कर्णालीआसपासका क्षेत्रमै भएको पाइन्छ । लोकतन्त्रको स्थापनासँगै नेपाली समाज पुनर्जागरणको चरणमा छ । आफ्नो इतिहास, कला, संस्कृति र पुख्र्यौली जराको खोजीमा छन् । जसको परिणामस्वरूप हरेक थर वा जातले आफ्नो वंशावली तयारी गरिरहेका छन् । यस्ता वंशावलीलाई सरकारले आधिकारिक दस्तावेजका रूपमा मान्यता दिने निर्णय गरेको छ ।

खस सभ्यता पतन र आप्रवासन 

जुम्लालगायत प्राचीन खस साम्राज्य अन्तर्गतका क्षेत्र कुनै समय निकै उन्नत सभ्यता थियो भन्ने कुरा त्यहाँका देवल, ढुङ्गेधारा, नाउलो वा कुवा, कीर्तिस्तम्भलगायत संरचनाको भग्नावशेषबाट सहजै अनुमान गर्न सकिन्छ । आजभन्दा १२/१३ सय वर्षअघि प्रस्थर कलाले भरिपूर्ण देवल, ढुङ्गेधारा, नाउलो (कुवा) कीर्तिस्तम्भ जस्ता वैभवशाली सम्पदाका अवशेष दैलेख, अछाम, जुम्लाको सिञ्जालगायत क्षेत्रका गाउँगाउँमा छन् । त्यहाँका देवलमा बौद्ध परम्परासँग सम्बन्धित चव्रmलगायत कतिपय कलाकीर्ति हुनुले खस शासकमा बौद्ध र हिन्दु धर्म दुवैको प्रभाव रहेको अनुमान गर्न सकिन्छ । पण्डित तिलक रिजालका अनुसार कुनै सयम खस साम्राज्य तिब्बतको कैलाश मानसरोवर र खरी क्षेत्रदेखि भारतको बङ्गाल र उत्तराखण्डसम्म फैलिएको थियो । तत्कालीन खस साम्राज्यमा विकसित कला, संस्कृतिको अन्तरसम्बन्ध काठमाडौँ उपत्यकाका कला, संस्कृतिदेखि भारतको राजस्थान, कान्यकुब्ज, उत्तराखण्डलगायत क्षेत्रमा पनि जोडिएको छ । तर समग्र खस सम्राज्यमा विकसित सम्पदा अहिले पूरै नासिने अवस्थामा रहेको पाइन्छ । दैलेखको दुल्लुस्थित पुरातात्त्विक प्राचीन दरबार क्षेत्रमा अहिले साहित्यिक पार्क बनेको र दर्जनौँ सहित्यकारका मूर्ति राखिएका छन् । दैलेख जिल्लाका पादुका नदीकिनारमा रहेको पादुका क्षेत्रका सम्पदाका अवशेष यत्रतत्र छन् । २०२८ सालमा आएको भीषण बाढीले पादुका क्षेत्रका सम्पदाको भग्नावशेष बगाएकाले अहिले पनि खोलाकिनारमा कुँदिएका ढुङ्गाका भग्नावशेष छरिएर रहेको पाइन्छ । 

संस्थागत प्रयास जरुरी 

नेपालको इतिहासको एउटा कालखण्डको उन्नत सभ्यता र नेपालमा बसोवास गर्ने विभिन्न जात वा समुदायको उद्गम स्थलका रूपमा रहेको प्राचीन खस सभ्यताको अध्ययन अनुसन्धान आवश्यक छ । त्यहाँका भौतिक सम्पदाका पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वका भग्नावशेषको संरक्षण र जीर्णोद्धारका लागि सरकारले खस साम्राज्यकालीन कला, संस्कृति अध्ययन तथा संरक्षण प्रतिष्ठान वा अन्य साधन स्रोत, विज्ञ जनशक्तिसहितको शक्तिशाली निकाय गठन गरी तत्कालै काम थाल्नु जरुरी देखिन्छ । दैलेखमा जारी पेट्रेलियम अन्वेषण आयोजना सफलताउन्मुख छ । यसले नेपालको इन्धन आपूर्तिको क्षेत्रमा एउटा फड्को मार्ने नै छ । मध्यपहाडी राजमार्गले दैलेख–अछामलाई जोडिसकेको छ । जुम्लामा सडक यातायातको सहजता र मेडिकल कलेज स्थापना जस्ता विकासले यी क्षेत्र सहरोन्मुख अवस्थामा छन् । अहिले यहाँका सम्पदा संरक्षण नगर्ने हो भने यहाँको प्राचीन सभ्यताका अहिले कायम भग्नावशेष पनि कुनै दिन कथा र किंवदन्तीमा मात्र सीमित हुन सक्ने सम्भावना छ । त्यसैले इतिहास, संस्कृति, सम्पदालाई बेलैमा जोगाउन लाग्ने कि ?

Author

राम हुमागाईं