• २३ चैत २०८१, शनिबार

जानुपर्ने ठाउँ छाब्दीवाराही

blog

नेपालमा रहेका घुम्नुपर्ने ठाउँमध्ये छाब्दीवाराही पनि एक हो। यो ठाउँ तनहुँको व्यास नगरपालिकाको–१४ मा पर्दछ । यस धार्मिक तीर्थको प्रमुख आकर्षणका रूपमा छाब्दी कुण्डमा रहेको मत्स्यकन्याको मूर्ति, नदीमा पाइने अनेकौँ माछा एवं वरपरको प्राकृतिक सौन्दर्यलाई नै लिइन्छ । यहाँको छाब्दी कुण्डको बिचमा मत्स्यकन्याको उभिएको सुन्दर एवं आकर्षक सुनको जलप लगाएको प्रतिमा रहेको छ । कुण्डमा सुनको टीका भएको माछाका रूपमा जलदेवीको बास रहेको जनविश्वास रहेको छ । यो मन्दिरलाई सत्यदेवीका नामबाट पनि पुज्ने गरिएको छ । मगर भाषामा वाराही भन्नाले देवीलाई बुझिन्छ । यी देवीको दैवीशक्ति प्रचुर मात्रामा भएकोले धेरै सम्प्रदायका मानिसले पनि यी वाराहीको पूजाअर्चना गर्न आउँछन् । यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी, नयाँ वर्ष तथा शनिबारका दिनमा पूजाआजा गर्न ठुलो मेला नै लाग्ने गर्दछ तर औँसी, एकादशी र साउन महिनाभरि यी देवीको मन्दिर बन्द रहन्छ । त्यस समयमा देवी गुफा बस्न जाने छिन् भन्ने किंवदन्ती रहेको छ । माछाको पूजा गरिने नेपालको यो एक मात्र मन्दिर हो । 

मन्दिरनजिकैको कुण्ड र मन्दिरबाहिर खोलामा पनि थुपै्र माछा देख्न पाइने यस तीर्थमा उपवास बसेर पूजा गरेमा आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । मनोकाङ्क्षा पूरा गर्न, सुस्वास्थ्यको कामना गर्नेहरू यस मन्दिरमा पुग्दछन् । मन्दिर परिसरमा रहेको कुण्ड तथा खोलामा माछा मार्न नहुने जनविश्वास भएकोले कसैले पनि माछा मार्दैनन् ।  

वाराही देवीको उत्पत्ति सम्बन्धमा यस क्षेत्रमा एउटा कथन प्रचलित छ । कथन अनुसार सुरुमा स्थानीय जरसिं आलेले छाब्दी देवीलाई प्रत्यक्ष भेटेका थिए । गोठाला जाँदा हालको छाब्दी खोला र कुण्डमा माछा मार्दै आएका आलेलाई एकदिन साँझपख गोठको छेउमा आगो तापिरहेको अवस्थामा कलकलाउँदी एक बालिकाको भेषमा देवीले केही खानेकुरा र बास मागिन् । त्यसपछि गोठाला आलेले बिहानको बासी भात मात्र बाँकी रहेका र अरू खानेकुरा केही नभएकोले बरु गाईको दुध खाएर बास बस्न आग्रह गरिन् । साँझ झमक्क पर्दै गएकाले सानो मान्छे कहीँकतै नजान र आफ्नै गोठमा बास बस्न आलेले आग्रह गरेका थिए । केही समयपछि म कुण्डमा बस्छु, मेरो पूजा गर्नु भनेर दुई कदम पछाडि फर्केर ती बालिका विलिन भएपछि आले झसङ्ग हुँदै निद्राबाट ब्युँझे जस्तो भएका थिए रे । भोलिपल्ट बिहानै उक्त कुण्डमा गएर हेर्दा सुन रङको माछा ढुङ्गामा बेरिएर रहेको अवस्थामा देखेपछि ससाना ढुङ्गा पनि पल्टाएर खोज्ने क्रममा ढुङ्गा पल्टाउनसमेत नसकेपछि देवीको शक्ति रहेछ भनी त्यस बखतदेखि पूजाअर्चना गर्न थालिएको पाइन्छ । सोही बेलादेखि छाब्दीवाराही मन्दिरमा मगर जातिका व्यक्ति पुजारी रहने प्रचलन भएको हो ।  

दमौलीको गणेशमान चोक हुँदै सात किलोमिटर यात्रा गरेपछि छाब्दीवाराही मन्दिर पुग्न सकिन्छ । सवारीसाधन मन्दिरभन्दा केही वर नै रोकिन्छ र त्यहाँबाट गाडीबाट ओर्लेर बजार हुँदै छाब्दीवाराही मन्दिरमा पुग्न सकिन्छ । 

छाब्दीवाराही मन्दिर विकास कोष तनहुँले पर्यटकीय सुधार गरी यसलाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गरेको छ । मन्दिर परिसरमा करिब १६ लाख रुपियाँको लगानीमा छाब्दी देवीको आधा देवी र आधा मत्स्यगन्धाको पूर्ण कदको मूर्ति निर्माण गरिएको छ ।   

मुना  

Author

देवेन्द्र अर्याल ‘आँसु’