• २३ चैत २०८१, शनिबार

वनमुसाको बिचल्ली (कथा)

blog

“बाबा, बाबा ! ऊ त्यहाँ पर रातो रातो के बलिरहेको छ, हेर्नुस् त ।” निकै परको जङ्गलमा लगातार बलिरहेको आगोको मुस्लोतिर देखाउँदै वनमुसोको जेठो छोराले सोधे ।

साँझको समय थियो । खानपिन सकेर दुलोतिर पस्ने पस्ने बेलामा वनमुसाले आफ्ना जेठो छोराले भनेकै ठाउँतिर आँखा तन्काए । जङ्गलै उज्यालो हुने गरी आगोको मुस्लो फैलिँदै फैलिँदै गइरहेको उनले देखे । उनीहरू बस्दै आइरहेको दुलोभन्दा धेरै परको जङ्गलमा आगो सल्किएको भए पनि त्यो दृश्य निकै प्रस्टसँगले देखिन्थ्यो । 

खिन्न मन पार्दै वनमुसाले भने, “फेरि जङ्गलमा कसैले डढेलो सल्काए जस्तो छ ।”

उनको कुरा सुनेपछि दुलोभित्र छिरेका उनका श्रीमती र छोराछोरी पनि बाहिर निस्किए र डढेलो सल्किएको ठाउँतिर लगातार हेरिरहे ।

“त्यो डढेलो यतातिर त आउँदैन होला नि ?” श्रीमतीले सोधिन् ।

“धेरै टाढा छ, पक्कै पनि आउँदैन होला यतातिर” वनमुसाले आश्वस्त पार्दै भने, “फेरि त्यो जङ्गल त सुनकोशीपारि पर्छ । यतातिर कसरी फैलिएला र त्यो डढेलो ? पक्कै पनि नआउँला ।”

“हामी बसेको ठाउँतिर डढेलो फैलियो भने त...?” स्वास्नी चाहिँ डराइन् ।

“नआउँला यतातिर” वनमुसाले सबैलाई सुत्न अह्राए र सबै जना दुलोभित्र छिरे ।

विजयछाप गाउँभन्दा ठिक पारि थियो भस्मेको जङ्गल । त्यही जङ्गलमा वनमुसाको दुलो थियो । त्यो जङ्गलमा वनमुसाको सपरिवार बस्दै आएको पनि थुप्रै वर्ष भइसकेको थियो । जङ्गलमा बस्दा सप्रिएका मिठा मिठा कन्दमूल पाइने भएको हुँदा पनि उनीहरूले त्यो जङ्गललाई छाड्न चाहिरहेका थिएनन् । त्यस ठाउँ छाडेर अन्यत्र जाँदा करिब 

१२ वटा जति आफ्ना सन्तान भोकभोकै मर्ने भएको हुँदा पनि वनमुसाले त्यही जङ्गलमै बस्ने निधो गरेको थियो । 

हुन त त्यस जङ्गलमा उनको परिवार मात्र बस्दैनथे । अरू वनमुसा पनि आफ्ना परिवारसहित बस्दथे । त्यस जङ्गलको हावापानी राम्रो हुनुका साथै कन्दमूल पनि प्रशस्तै पाइने र ठाउँ पनि अत्यन्तै पारिलो भएको हुँदा वनमुसा औधी रमाउँदै बसेका थिए । त्यो ठाउँ निकै रमणीय थियो । बिहान उठ्ने बित्तिकै उत्तरतिर गौरीशङ्कर हिमशृङ्खला मुस्कुराइरहेको देखिन्थ्यो भने दक्षिणतिर चुरेका ससाना थुम्का र त्यसभन्दा अझ तल तराईका विशाल फाँटसमेत देखिन्थे । त्यति रमणीय ठाउँ र प्रशस्तै खान्की पाइने ठाउँ छाडेर अन्यत्रै जान को चाहन्थे र ?

भोलिपल्ट उज्यालो भयो । दुलोबाट निस्किएर वनमुसाहरू आआफ्नो आहाराको खोजीमा यताउता दगुर्न थाले । बिहानभरि सबै यताउति दगुरेर बिहानका लागि आहारा खोजी दुलोतिर फर्किए ।

“ऊ त्यो पल्लो डाँडामा त आज दिउँसै आगो बलेको देखियो नि !” वनमुसाको स्वास्नीले आगो बलिरहेको जङ्गलतिर घाँटी तन्काउँदै भनिन् ।

स्वास्नीको कुरा सुनेपछि वनमुसोको कान ठाडा–ठाडा भए । हो, पल्लो जङ्गलमा डढेलो सल्किँदै थियो र पातपतिङ्गरका साथै ससाना बुट्यानसमेत बल्दै गरेको प्रस्टै देखिन्थ्यो ।

“त्यो डढेलो यतातिर आयो भने त सखापै हुन्छ हाम्रो त” स्वास्नीले आत्तिँदै भनिन् ।

स्वास्नीको कुरा सुनेर वनमुसा पनि डरायो । हुन पनि त्यो डढेलो उनीहरू बसेको ठाउँतिर आए भने त उनीहरूको उठीवासै हुन्थ्यो । त्यस्तो राम्रो ठाउँ, धेरै वर्षदेखि बस्दै आएको ठाउँ डढेलोले भस्म तुल्यायो भने के गर्ने ? वनमुसा चिन्तित देखिए, “हो, त्यो डढेलो यतातिर आए भने त हाम्रो बिचल्ली नै हुन्छ । के उपाय अपनाउने होला ?”

डढेलो फैलिँदै गइरहेको थियो । अझ हावाको बढ्दो प्रवाहले डढेलो छिटो छिटो फैलिँदै थियो । यताउता, चारै दिशातिर । हुँदाहुँदै डढेलो त उनीहरू बसेकै जङ्गलतिर फैलिँदै फैलिँदै आइरहेको थियो ।

“कसको काम होला यो ? कसको बुद्धि बिग्रिएर यति राम्रो जङ्गलमा डढेलो लगायो होला ?” स्वास्नीचाहिँ भुतभुताउन थालिन् ।

“अब हामी यो ठाउँबाट नभागी नहुने भो” वनमुसाले दुलोभित्रका सामान आफ्ना छोराछोरीलाई अह्राएर ओसार्न लगाए र अरू छिमेकीलाई पनि डढेलो आफ्नै बस्तीतिर बसेको फैलिँदै आएको हुँदा छिटोभन्दा छिटो वासस्थान छाड्नका लागि सूचनासमेत दिए ।

डढेलो उनीहरूको वासस्थान नजिक नजिक आइरहेको थियो । वनमुसा आआफ्ना सामान बोकेर त्यो ठाउँबाट अरू ठाउँतिर सर्न हतारिए । वनमुसाको सिङ्गो बस्तीभरि रुवाबासी चल्यो । हेर्दाहेर्दै वनमुसा बस्दै आएको ठाउँलाई क्षणभरमै डढेलोले सखाप तुल्यायो ।

“अब कहाँ जाने ?” वनमुसाको जेठो छोराले सोध्यो । “अब यो जङ्गल पनि सुरक्षित भएन । मान्छेहरूले डढेलो लगाएर वनका बहुमूल्य वनस्पति, जडीबुटी र कीटपतङ्ग सखाप पार्न लाज मान्न छाडे । अब हामी पनि मान्छे बस्ने ठाउँतिरै गएर बस्नु पर्छ । कम्तीमा मानिसका बस्तीमा डढेलो त लाग्दैन” वनमुसाले भने ।

माथिको देउराली पाखामा सबै वनमुसा जम्मा भए । मान्छेका बस्तीतिर उनीहरू प्रवेश गरे । हिँड्दै गर्दा वनमुसाको मुलीले घोषणा गरे, “म अब डढेलोले पु¥याउने क्षतिबारे सबैलाई जानकारी गराउने छु । डढेलोले हामी जस्ता वनजङ्गलमा आश्रित ससाना जीवदेखि वनस्पतिसमेत नास हुन्छन् । हाम्रा जस्तै कतिपयको बस्ने ठाउँसमेत उठ्छ । तसर्थ म अबदेखि डढेलो नलगाउनका लागि सबैलाई आह्वान गर्नका लागि अभियान नै चलाउने छु ।” वनमुसाको मुलीले अठोट गरे । अरू वनमुसाले उनको अठोटमा दह्रो समर्थन जनाए । उनीहरू आफ्नो अभियानका निम्ति एकजुट भएर निस्किए ।  


मुना  

Author

विवश वस्ती