विद्यार्थी भनेको ज्ञानको खोजी गर्ने पात्र हो । उनीहरूको स्वभाव, शैली, र कार्यकलापले विद्यालयलाई रोचक बनाउँछ । यी विभिन्न किसिमका विद्यार्थी विद्यालयको सुन्दरता र विविधताको प्रमाण हुन् ।
विद्यालय भनेको शिक्षाको मन्दिर हो । यहाँ शिक्षक ज्ञानका स्रोत बनेर बस्छन् । विद्यार्थी ती स्रोतबाट जीवनका पाठ सिक्छन् । केही विद्यार्थी सामान्य हुन्छन् । केही विद्यार्थी अचम्म लाग्दा पनि हुन्छन् । कोही विद्यार्थी नैतिकवान् हुन्छ । कोही मेहनती हुन्छ । कोही पढ्नै नपरे हुन्थ्यो भन्ने खालका पनि हुन्छन् । विद्यालयमा धेरै खाले विद्यार्थी हुन्छन् । विद्यालयमा कस्ता विद्यार्थी हुन्छन् चर्चा गरौँ ।
गुनासोवादी विद्यार्थी
यस्ता विद्यार्थीको जीवनमा सधैँ गुनासो मात्र हुन्छ । ‘होम वर्क धेरै भयो, शिक्षकले बुझ्नु भएन, परीक्षा कठिन भयो, आज टाउको दुखेको छ, साथीले कलम लग्यो, कपडा नसुकेकोले पोसाक लाउन पाइन, हिजो साथीको काकाको छोराको साथीको दाजुको जन्मदिन मनाउन गएकोले पढ्न पाइन्...’ जस्ता कुरामा तिनीहरूको दिन बित्छ । विद्यालयले न्यानो खाजा बाँड्यो भने तात्तातो चाहिने र तात्तातो बाँड्यो भने चिसो माग्ने खालका पनि विद्यार्थी हुन्छन् । गुनासो गर्न यिनीहरू यति सिपालु हुन्छन् कि राष्ट्रिय गुनासो प्रतियोगिता भएमा पहिलो पुरस्कार यिनीहरूले नै पाउँछन् ।
घोकन्ते विद्यार्थी
घोकन्ते विद्यार्थी विद्यालयका चल्तीका रोबोट हुन् । पाठ्यपुस्तकको प्रत्येक लाइन घोक्न यिनीहरू कत्ति पछि पर्दैनन् । प्रश्न सोध्दा उत्तर दिने शैली यति कण्ठस्थ हुन्छ कि त्यो सुनेपछि शिक्षकले कम्प्युटरमा गुगल सर्च गरे जस्तो लाग्छ । यिनीहरूलाई रङ्गीन जीवनभन्दा पनि पाठ्यपुस्तकको कालोपन मन पर्छ । कहिलेकाहीँ यिनीहरू त अक्षरसँग पनि कुराकानी गर्दछन् । किताबका चित्रमा भएका रुख चढ्न खोज्छन् ।
चलाख विद्यार्थी
यिनीहरू भने विद्यालयका रणनीतिकार हुन् । कक्षाकोठामा शिक्षकको आँखामा धुलो हाल्न सक्ने कला यिनीहरूसँग हुन्छ । अर्थात् गृहकार्य गरे जस्तो देखाउने तर केही नगर्ने हुन्छन् यिनीहरू । पुस्तकको ढाकबाट उत्तर लेख्ने र शिक्षकलाई भ्रममा पार्ने जस्ता सिप यिनीहरूका हातमा हुन्छ । परीक्षामा ‘सिट एड्जस्टमेन्ट’ को कला देखाउनसमेत यिनीहरू माहिर हुन्छन् । शिक्षकको नामको न्वारन गर्नेदेखि शौचालयको साहित्यमा यिनीहरूको मुख्य भूमिका हुन्छ । प्रत्येक विद्यालयमा यिनीहरूको जनसङ्ख्या १० प्रतिशतको हाराहारीमा हुन्छ ।
निदालु विद्यार्थी
यी विद्यार्थीका लागि विद्यालय भनेको ज्ञानभन्दा पनि निद्राको मन्दिर हो । विद्यालयको पहिलो घन्टी बज्नासाथ यिनीहरूको आँखामा निद्रा सुरु हुन्छ । शिक्षकको मधुर प्रवचन तिनीहरूका लागि आमाले सुनाउनुभएको कथा हुन्छ । यस्ता विद्यार्थीलाई कक्षाकोठामा निदाउन दिने हो भने सामान्यतया सुत्ने ओछ्यानको आवश्यकता पर्दैन ।
बहानाबाज विद्यार्थी
विद्यालय जीवनमा यस प्रकारका विद्यार्थी जति पनि पाइन्छन् । गृहकार्य नगरेको बहाना, विद्यालय नगएको बहाना, झगडामा मुछिँदा अरूलाई दोष लगाउने बहाना, हिजो घरमा पार्टी भएको बहाना, पाहुनाले हल्ला गरेको बहाना आदि बनाउने यिनीहरूको विशेषता नै हो । यिनीहरूलाई प्रोजेक्ट यति दिनमा बुझाउ भनेर भन्नु पानीको तेलमा बत्ती बाल्नु जस्तै हो । समयमा कहिल्यै काम पूरा गर्दैनन् । यी विद्यार्थी बढी हल्ला गर्छन् ।
उद्यमी विद्यार्थी
यी विद्यार्थी विद्यालयका गौरव हुन् । यिनीहरू सधैँ सिर्जनशील योजना ल्याउँछन् । कहिले नयाँ कार्यक्रमको नेतृत्व गर्ने, कहिले परियोजना तयार गर्ने, कहिले कक्षामा विज्ञानको अदभुत प्रयोग देखाउने हुन्छन् । यिनीहरूको प्रतिभा देख्दा विद्यालयको प्रधानाध्यापकले पनि गर्व गर्छन् । बिहानी प्रार्थना सभामा यिनीहरू अगाडिको पङ्क्तिमा उभिएर ताली खाने गर्दछन् ।
निष्कर्ष
विद्यार्थी भनेको ज्ञानको खोजी गर्ने पात्र हो । उनीहरूको स्वभाव, शैली र कार्यकलापले विद्यालयलाई रोचक बनाउँछ । यी विभिन्न किसिमका विद्यार्थी विद्यालयको सुन्दरता र विविधताको प्रमाण हुन् । आखिर विद्यालय भनेको जीवनको एउटा अदभुत रङ्गमञ्च हो । यहाँ विद्यार्थीले आआफ्नो भूमिका निर्वाह गर्छन् । जस्तो सुकै बानी भए पनि ती विद्यार्थी विद्यालयका सम्पत्ति हुन् । सबै खाले विद्यार्थीका कारण विद्यालय रमाइलो हुन्छ । विद्यार्थी जीवन रमाइलो हुन्छ ।