• २१ चैत २०८१, बिहिबार

कालिका मन्दिरमा चैत्राष्टमीको चहलपहल

blog

कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्न गएका भक्तजनहरू । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

बागलुङ, चैत २० गते । यस वर्षका अन्तिम चाँड चैत्राष्टमी सुरु भएसँगै बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । 

चैतेदशैं समेत भनिने नवरात्र पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैं जति भव्य रुपमा मनाइए पनि चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रूपमा रहेको बागलुङ कालिकामा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आउने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । मन्दिरको दर्शन गर्न जानेहरू विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

खड्काले चैत्राष्टमीमा मन्दिरमा भक्तजनहरूको भिड लाग्ने भएकोले व्यवस्थापन चुस्त पारिएको बताउनुभयो । "चैत्राष्टमीमा मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ," अध्यक्ष खड्काले भन्नुभयो, "अघिपछि १ वटा ढोकाबाट मात्र पूजाअर्चना गर्ने गरिए पनि चैत्राष्टमीमा तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ । भक्तजनलाई सहज रूपमा पूजा गर्नका लागि मन्दिरमा दुई, तीन वटा लाइन बनाउने गरेका छौं ।"

मन्दिरमा भक्तजनहरूको सुरक्षा र व्यवस्थापनका लागि मन्दिरका कर्मचारी सहित जिल्ला प्रहरी कार्यालयका प्रहरीहरू, रेडक्रस सोसाइटी र विभिन्न सङ्घसंस्थाका स्वयंसेवकहरू खटाइएको अध्यक्ष खड्काको भनाइ छ ।

मन्दिरमा दर्शन गर्न गएकी भक्तजन शोभा के.सी.ले कालिकाको दर्शन गरेमा आटेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकोले दर्शनका लागि आएको बताउनुभयो । उहाँले चैत्राष्टीमा कालिका मन्दिरमा पूजा गरेमा आटेताकेको मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको बताउनुभयो। 

मन्दिरमा दर्शन गर्न गएकी गीताकुमारी उप्रेतीले सानैबाट हिन्दु संस्कृतिमा हुर्केकोले धर्मप्रति लगाब रहेको र सद्भाव र सहकार्य गर्न मन्दिरको दर्शनले सहयोग पु¥याउने बताउनुभयो । उहाँले मान्छेहरू शान्ति र प्रगति एक अर्काका परिपुरक रहेकोले आत्माको शान्तिका लागि मन्दिर आउने गरेको बताउनुभयो । 

मन्दिरमा चैत्राष्टीमा नवरात्रभर बिहान ४ बजेदेखि नै भक्तजनहरू मन्दिरमा दर्शनका लागि पुग्ने गरेका छन् । मन्दिरमा काठमाडौँ, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि बसेर्नी भक्तजन आउने गरेका छन् । पछिल्लो समय चैत्राष्टमीको बेला १०, १५ प्रतिशत भारतीय भक्तजनहरू पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो । अध्यक्ष खड्काले चैत्राष्टमीको अवसरमा मन्दिरमा ५ लाख भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको बताउनुभयो ।

महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिरमा देशभरीका दर्शनार्थीहरू र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । 

मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिए पछि छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

कालिका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरि नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मङ्गलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीमा भक्तजनहरूको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताउनुभयो । 

माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरूको भिड कम हुने गरेको अध्यक्ष खड्काको भनाइ छ । 

यस्तै बुधबारदेखि कालिका मन्दिर परिसरमा परम्परागत रूपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला सञ्चालन भएको छ । गुठीले यस वर्ष मेलाको अवसरमा धार्मिक सम्मेलन समेत सुरु गरेको छ । सम्मेलनको पहिलो दिन कालिगण्डकी स्थान, कालिका भगवती मन्दिरमा पूजाआजा, गुठीको इतिहासका बारेमा बहस तथा छलफल गरिएको छ ।

चैत २० गतेदेखि सुरु भएको मेला २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष खड्काले बताउनुभयो । मेलाको अवसरमा लोकदोहोरी गीत प्रतियोगिता, कालिका कप पुरुष तथा महिला भलिबल प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ ।

पर्यटन प्रवर्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ । 

चैते दसैँकाे अवसर पारेर गाउगाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको पनि व्यवस्था गरेको छ । चैत्राष्टमीको अवसरमा मन्दिरको दर्शन गर्न मात्र नभई ग्रामीण किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामानहरुको बिक्री र खरिद गर्न बजार झर्ने गर्दछन् । 

मेला सुरु हुनु साताअघि नै यहाँ ग्रामीण क्षेत्रबाट साना व्यवसायीहरू आइसकेका छन् । चैते दशैंलाई वर्षभरि आवश्यक पर्ने सामग्री खरिद गर्ने स्थलको रूपमा पनि लिने गरिएको छ । बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघाजस्ता गाउँबाट किसानले वर्षभरि निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री मेलामा ल्याउने गरेका छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलामा बिक्रीका लागि ल्याइएको छ ।