• २१ चैत २०८१, बिहिबार

भक्तपुरको खानपिन

blog

नीरजको मामाघर भक्तपुरमा हो । यतिबेला भक्तपुर महोत्सवको आयोजना भइरहेको छ । यो कुरा नीरजले स्कुलका साथीहरूबाट थाहा पाए । स्कुलबाट घर गएपछि नीरजले आमालाई भने, “आमा, हामी शनिबार मामाघर जाऔँ न ।” आमाले अनौठो मानेर सोध्नुभयो, “तिमीलाई अचानक किन मामाघर जान मन लाग्यो बाबु ?”

“त्यहाँ महोत्सव चलिरहेको छ । रमाइलो हुन्छ रे । सांस्कृतिक कार्यक्रम हेर्न पाइन्छ रे । मिठो मिठो नेवारी परिकार पनि खान पाइन्छ रे ।” “ल ल हुन्छ” भनेर आमाले टाउको हल्लाउनुभयो ।

शनिबार आमाका साथमा नीरज भक्तपुर महोत्सव गए । ठाउँ ठाउँमा स्वागतद्वार बनाइएका थिए । नेवारी संस्कृति झल्किने वस्तु सजाइएका थिए । लायकु, क्वाठण्डौ, दत्तात्रय र टौमढीमा नेवारी सांस्कृतिक कार्यक्रम भइरहेको थियो । लायकुमै नगरा बजाएको नीरजले देखे । तबसत्तः, पचपन्न झ्याल चोक र वाचु त्वःमा पौभा र तस्बिर प्रदर्शनी भइरहेको थियो । लायकु, टौमढी, दत्तात्रय र तःपुखुमा परम्परागत नेवारी पोसाक प्रदर्शनी भइरहेको उनले देखे । हरेक टोलमा रमाइला कार्यक्रम देखेर नीरज खुसीले चिच्याए, “आहा ! कस्तो रमाइलो ।”

महोत्सवमा घुम्दाघुम्दै नीरजलाई भोक लाग्यो । उनले आमालाई भने, “आमा, भोक लाग्यो । खाना जाउन । त्यहाँ कति धेरै थरीका खानेकुरा छन् ।”

आमाले खानेकुरा पाइने ठाउँमा लैजानुभयो । धेरै थरीका परिकार देखेर के खाने होला भनेर नीरज अलमल परे । वः अर्थात् बारा, चटामरी, ग्वारामरी, योमरी, ल्वँचामरी, लाखामरी, छ्वयलाबजी, समयबजी, तखाः अर्थात् थलथले आदि के के हो के के । अझ दहीको राजा जुजु धौ पनि थियो । 

जुजु धौले गर्दा भक्तपुर संसारभर प्रख्यात छ । ढाका र करुवाका लागि पाल्पा, चिया र अलैँचीको लागि इलाम, मुलाका लागि चित्लाङ, तोरीका लागि चितवन, खुकुरीका लागि भोजपुर, सुन्तलाका लागि गोरखा, जुनारका लागि सिन्धुली प्रख्यात भए जस्तै दहीका लागि भक्तपुर प्रख्यात छ । यहाँको टिगनी भन्ने ठाउँ पनि चिउराका लागि प्रख्यात छ ।

छोराले सधैँ जङ्कफुड खाएर आमा हैरान हुनुहुन्थ्यो । आज भने विशुद्ध नेवारी परिकारको स्वाद चखाउने विचार गर्नुभयो । “अब यहाँ भएका सबै परिकार खाने है बाबु ?” आमाले छोराको मन चोर्दै भन्नुभयो ।

“यत्ति धेरै परिकार ?” नीरजले छक्क पर्दै भने ।

“थोरै थोरै खाने हो” आमाले एउटा वः हातमा लिएर भन्नुभयो ।विभिन्न थरीका परिकारको स्वाद चाख्न पाएर नीरज दङ्ग परे । उनलाई जङ्कफुड, मःम, पिजा र बर्गरभन्दा नेवारी परिकार अझै मिठो लाग्यो । 

अन्तिममा नीरजलाई जुजु धौ देखाउँदै आमाले भन्नुभयो, “अब यो खाने है ?”

नीरजले सधैँ प्लास्टिकको बट्टामा राखिएको दही मात्रै देखेका थिए । कतारोमा बनाएको दही देखेकै थिएनन् । अनि उनले अचम्म मानेर सोधे, “आमा, यो दही हो ?”

“हो । यसलाई जुजु धौ भनिन्छ” आमाले भन्नुभयो । जुजु धौको अर्थ दहीको राजा हो । यसलाई राजाले खाने दही पनि भनिन्छ । नेवारी भाषामा जुजु भनेको राजा र धौ भनेको दही हो । भक्तपुरका मल्ल राजाहरूले यो दही खान्थे । राजाले खाने दही भएकोले यसलाई जुजु धौ अर्थात् राजा दही भनिएको हो । आमाले जुजु धौका बारेमा आफूले जानेको कुरा भन्नुभयो । 

उनी दङ्ग पर्दै भने, “आमा, मैले यति मिठो दही कहिल्यै खाएको थिइनँ ।” आमा मुसुमुसु हाँस्नुभयो ।

यति मिठो दही कसरी बन्छ होला ? नीरजको मनमा फेरि खुलदुली भयो । आमाले उसलाई दही बनाउने ठाउँमै लिएर जानुभयो । केही मान्छे दही बनाउँदै रहेछन् । 

दही बनाउने ठाउँमा भुस बिछ्याएर ठुलो कराइमा दुध उमालेको उनले देखे । दुधलाई चार भागबाट तीन भाग बाँकी रहने गरी उमाले । उम्लिएको दुधलाई कतारोमा आधा आधा हाले । दुध सेलाएपछि बाँकी आधा भागमा पुनः दुध हाले । त्यसमा अलिकति जोरन पनि हाले । त्यसपछि कतारोलाई अर्को कतारोले छोपे । त्यसमाथि बाक्लो बोराले छोपिदिए । अब करिब चार/पाँच घण्टामा दही तयार हुने रहेछ । 

घर पुगेर नीरजले भने, “आमा, अबदेखि म जङ्कफुड कहिल्यै खान्न । बरु नेवारी परिकार खान्छु ।”  

    मुना  

Author

रत्न प्रजापति