• २० चैत २०८१, बुधबार

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यकः सांसद गिरी

blog

नेपाली कांग्रेसका सांसद दीपक गिरी मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत १९ गते । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै सांसद गिरीले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाका लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताउनुभयो । उहाँले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उहाँको आरोप छ । 

उहाँले भन्नुभयो, ‘‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन । संसारभरी एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ति अभिलेख र रायहरू हेरियोस् न । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’’ उहाँले नेपाल हिन्दु राष्ट्र बन्न आवश्यक रहेको बताउनुभयो ।