• २० चैत २०८१, बुधबार

६ महिनादेखि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन

blog

तनहुँ कारागारको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १९ गते । तनहुँ कारागार ६ महिना अघि देखि स्वास्थ्यकर्मीविहीन भएको छ । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । 

स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि अर्को व्यवस्था नहुँदा उपचार गर्न सकस भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कारागारमा दिर्घ रोगीहरू धेरै भएकोले निकै सास्ती भएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सहायक बोहोरा थप अध्ययन समेत गर्नेगरी असोज १ गते शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा उपचारमा समस्या भएको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो,‘ कारागारका कैदीबन्दी बिरामी हुँदा प्रादेशिक अस्पताल दमौली  तथा निजी स्वास्थ्य क्लिनिकमा लैजानु पर्दा सास्ती भएको छ ।’ 

अधिकारीका अनुसार कारागारको 'ए' र 'ब' बल्कमा गरी ४३ जना बिरामी छन् । 'ए' बल्कमा उच्च रक्तचापका सात, हेपाटाइटिस ‘सी’ एक, निमोनियाको एक, नशा सम्बन्धि एक, मानसिक स्वास्थ्य सम्बन्धि एक, एचआइभी एड्स सम्बन्धि एक गरी १४ जना बिरामी छन् । त्यस्तै बि बल्कमा उच्च रक्तचापका १६, मानसिक सम्बन्धि चार, मधुमेहका चार, मुटु सम्बन्धि दुई, एचआइभी एड्स एक, छाहारे एक र थाइराइडको एक गरी २९ जना छन् ।

कारागारको आफ्नो सवारीसाधन नभएको र उपचारका लागि सवारी साधन खोजेर लैजानु पर्ने हुँदा उपचारको साथसाथै सुरक्षाको समस्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विरेन्द्रबहादुर शाहीले बताउनुभयो । 

कारागारको गाडी नहुँदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आउँदा झनै समस्या हुने प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो । २४ महिला र पुरुष गरी तीन सय १५ कैदीबन्दी रहेको निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

महिला कारागारमा आमासँग दुई बालिका पनि आश्रित रहेको उहाँले जानकारी दिनुभयो ।  सवारी साधन नहुँदा अप्ठ्यारो  परेपछि एक सवारी साधन उपलब्ध गराउने कारागार विभागबाट खबर प्राप्त भएको अधिकारीले बताउनुभयो ।

यसैबिच कारागारका बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई झैल्दै आएको पानी अभावको समस्या समाधान भएको छ ।  पानीको आपूर्ति बढाउन कारागार विभागले विनियोजन गरेको २० लाख रुपियाँबाट नयाँ इनार खनेर पानी आपूर्ति भएपछि समाधान भएको कारागारले जनाएको छ ।

कारागारमा दैनिक ४० हजार लिटर पानीको आवश्यक पर्नेमा  दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेकोले समस्या भएकोमा नयाँ इनार सञ्चालन गरेपछि माग अनुसार आपूर्ति भएकोले समाधान भएको  कारागार प्रशासनले जनाएको छ । 

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा पानीको समस्या सरसफाइ व्यवस्थापन सास्ती भएकोमा नयाँ इनार बनेपछि समस्या टरेको कारागारका निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो, “दैनिक आवश्यकता अनुसार ४० हजार लिटर कम पानी आपूर्ति भएकोले समस्या झेल्नु परेको छैन ।’’

मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी हुँदा समस्या परेको थियो । 

मादी र सेतीनदीको किनारबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चार वटा धारा जडान गरिएको छ ।